शिक्षकको होइन, शिक्षाको हित खोज्नुपर्छ

  
  प्रकाशित मितिः सोमवार, पुस २१, २०७१       | 111 Views   ||

Pralhad_aryalप्रह्लाद अर्याल जिल्ला शिक्षा अधिकारी, दाङ

दाङका जिल्ला शिक्षा अधिकारी प्रह्लाद अर्याल विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा सबैभन्दा महत्वपूर्ण भूमिका शिक्षकको हुने बताउँछन् । घोकन्ते विद्याले हित नगर्ने भएकाले विद्यार्थीलाई उत्प्रेरणाको आवश्यकता भएको उनको भनाई छ । दाङको शैक्षिक अवस्था, गुणस्तर, विद्यालयको भौतिक पूर्वाधारको अवस्थालगायतका विषयमा केन्द्रित भएर अर्यालसँग गरिएको कुराकानी |
यहाँ जिल्ला शिक्षा अधिकारी हुनुहुन्छ, दाङको शैक्षिक अवस्था कस्तो छ ? बताइदिनुहोस् न ।

दाङ भौगोलिक दृष्टिले सुगम जिल्ला मानिए पनि शैक्षिक स्तर त्यति राम्रो छैन । शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष थुप्रै छन् । शिक्षालाई पहुँच, सामाजिक न्याय, वितरण, गुणस्तर र व्यवस्थापनमा ध्यान दिनुपर्छ । दाङमा अपेक्षाकृत रुपमा यी सबै कुराको व्यवस्थापन हुन सकेको छैन ।

वितरण र व्यवस्थापनमा सबैभन्दा बढी समस्या देखिएको छ । कुनै विद्यालयमा खचाखच विद्यार्थी भरिएका छन् भने कुनै विद्यालयमा विद्यार्थी संख्या न्यून छन् । कुनै विद्यालयमा शिक्षकहरु धेरै हुनुहुन्छ भने कुनै विद्यालयमा दरबन्दीअनुसार शिक्षक नै हुनुहुँदैन । भौगोलिक रुपमा पनि भारतीय सीमासँग जोडिएका गाविसहरुमा शैक्षिक स्तर निकै कमजोर देखिएको छ । तराईका सबैजसो जिल्लामा दक्षिणतर्फका विद्यालयहरुको राम्रो विकास भएको पाइन्छ ।

दाङमा भने भारतीय सीमासँग जोडिएका विद्यालयहरुमा दरबन्दीअनुसार शिक्षकहरु हुनुहुन्न । भौगोलिक रुपमा पनि कठिन भएकाले हामीलाई अनुगमन तथा मूल्यांकन गर्न केही असहज भएको छ ।

सुधार गर्नुपर्ने पक्ष के देख्नुहुन्छ ?

शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने थुप्रै पक्षहरु छन् । समाजमा रहेको हरेक पक्षका कमजोरीहरु हुन्छन् । ती कमजोरी हामीले सुधार गर्दै जाने हो । सबै एकैपटक सुधार हुन्छ भन्ने पनि छैन । शिक्षा क्षेत्रमा पनि क्रमशः सुधार भइरहेको छ । हाम्रो हकमा सबैभन्दा पहिले शिक्षाको मानसिकता परिवर्तन गर्नुपर्ने जरुरी छ ।

शिक्षकले आफू शिक्षक हुनुको औचित्य पुष्टि गर्न आफ्नो कार्यशैलीमा सुधार गर्न जरुरी छ । शिक्षकलाई आफ्नो पेशागत धर्ममा प्रतिबद्ध बनाउन र जिम्मेवार बनाउन हामी सबैले सहयोग गर्नुपर्छ । मैले दाङका शिक्षकहरु खराब हुनुहुन्छ भन्न खोजेको पटक्कै पनि होइन । तर, उहाँहरुको कार्यशैलीमा आमूल सुधार गर्न आवश्यक छ । शिक्षकहरु आफ्नो व्यक्तिगत इच्छा र स्वार्थभन्दा पनि समग्र शिक्षाको स्वार्थपूर्ति गर्न अभिप्रेरित हुनुपर्छ । अब हामीले शिक्षकको होइन शिक्षाको हित खोज्नुपर्छ । आफ्नो अनुकूल सरुवा गर्न खोज्नेभन्दा पनि कुन क्षेत्रमा आवश्यकता हो ती क्षेत्रमा शिक्षाको पूर्ति गरिनुपर्छ । आफूलाई कहाँ बस्दा सजिलो हुन्छ भनेर शिक्षकहरुले पटक्कै ध्यान दिनु हुँदैन । शिक्षकहरुलाई दुर्गम तथा शिक्षाको पहुँच नपुगेको ठाउँमा जान प्रेरित गर्नुपर्छ ।

तपाईले शिक्षकहरुबाट कस्तो अपेक्षा खोज्नुभएको हो ?

शिक्षकले सबैभन्दा पहिले आफ्नो आधारभूत दायित्व सम्झनुपर्छ । शिक्षकको सबैभन्दा पहिलो काम भनेको विद्यार्थीलाई पढाउनु नै हो । सबै शिक्षकहरुले सधैं विद्यार्थीको पठनपाठनमा ध्यान दिनुपर्छ । शिक्षकहरु आफैले आफ्नो मूल्यांकन गर्नुपर्छ । विद्यार्थीहरुमा पनि जान्ने र नजान्नेहरुबीच तुलना गरेर समन्वय गर्दै पढाउने शैली परिवर्तन गर्नुपर्छ । आफ्नो विद्यालयमा पनि बिषयगत रुपमा धेरै विद्यार्थी उत्र्तीण गराउन सक्ने शिक्षकहरुसँग कम उत्र्तीण गराउने शिक्षकहरुले पढाउने शैली सिक्न सक्नुहुन्छ । उहाँहरुले आफूले अध्यापन गराइरहेका विद्यार्थीहरुको माथिल्लो कक्षामा कस्तो प्रभाव पारिरहेको छ भनेर पनि मूल्यांकन गर्नुपर्छ । शिक्षकहरुको काम राजनीति गर्ने होइन । राजनीतितर्फ ध्यान जान थाल्यो भने मेरो र तेरोको कुरा हुन सक्छ । शिक्षकहरुले आफ्नो ध्यान सरुवा, बढुवा, राजनीतिभन्दा पनि पठनपाठनतर्फ केन्द्रित गर्नुपर्छ ।

शिक्षकले यो यो गर्नुपर्छ त भन्नुभयो । त्यसका लागि शिक्षा कार्यालयले कुनै प्रोत्साहनको कार्यक्रम ल्याएको छैन ?

दण्ड र पुरस्कार हरेक क्षेत्रमा आवश्यक छ । हामीले पनि राम्रो काम गर्ने शिक्षकहरुलाई प्रोत्साहन गर्दै आएका छौं । स्रोतकेन्द्र स्तरमा शिक्षकहरुलाई पुरस्कृत गर्ने काम भइरहेको छ । जिल्लास्तरमा पनि उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्ने काम भएको छ । एउटा शिक्षकले चाहेमा धेरै काम गर्न सक्छ भन्ने कुरा प्रशस्तै उदाहरण छन् । उस्तै भौतिक पूर्वाधार र दरबन्दी भएका कुनै विद्यालयले राम्रो नतिजा ल्याउँछन् भने अर्को विद्यालयको नतिजामा सुधार आउन सक्दैन । किन त्यसो भइरहेको छ भनेर सबैले बुझ्नुपर्छ । यसको प्रमुख कारण भनेको शिक्षक नै हो । त्यही भएर हामीले नारामा नै शिक्षकले चाहेमा गर्न सक्छन् भनेका छौं । एउटा शिक्षाले चाहेमा विद्यालयको गुणस्तर वृद्धि गर्न ठूलो भूमिका निर्वाह गर्न सक्छ । साथै समाजमा रहेको हरेक पक्षले विद्यालयको शैक्षिक सुधारका लागि पहल गर्नुपर्छ । विद्यार्थी भनेको भोलिका कर्णधार हुन् । उनीहरुलाई अहिलेदेखि नै हामीले गुणस्तर बनाउँदै लगियो भने भविष्यमा मुलुकले नै फाइदा लिन सक्छ ।

दाङको शिक्षा क्षेत्रको सबै भन्दा ठूलो समस्या र सबैभन्दा राम्रो पक्ष के पाउनुभयो ?

दाङको सबैभन्दा सबल पक्ष भनेको शिक्षा क्षेत्रमा धेरैको चासो देखिएको छ । हाम्रो कार्यालय र हामीले गर्ने काममा धेरैले चासो दिनुहुन्छ । यसले हामीलाई काम गर्न उत्प्रेरित गर्नुका साथै सजग बनाएको छ । शिक्षा क्षेत्रमा यहाँका सरोकारवाला पक्षको जनचासो देखिएको छ, त्यो सह्रानीय छ । हामी आगामी दिनमा पनि यस्तो चासो थप बढोस् भन्ने कामना गर्दछौं ।

यहाँको सबैभन्दा कमजोर पक्ष भएको समस्याको विकल्प नदिनु हो । शिक्षा क्षेत्रमा यो समस्या भयो भनेर धेरै आउनुहुन्छ । तर, उहाँहरुले त्यसको समाधानको उपाय के छ भनेर भन्नु हुँदैन । यसले हामीलाई अलि असजिलो बनाएको छ ।

जिल्लाको शिक्षाको समग्र सुधार गर्ने जिम्मेवारी हाम्रो मात्र होइन । यसमा सबै पक्षले ध्यान दिनुपर्छ । समस्या आइसकेपछि समस्या समाधानको उपाय पनि उहाँहरुले दिनुपर्छ । सीमित स्रोत, साधन र बजेटका कारण सबै काम शिक्षा कार्यालयले गर्न सक्दैन । यसमा उहाँहरुले हाम्रो बाध्यतालाई पनि बुझ्नुपर्छ । हामीले सुधार गर्नको लागि यहीबाट थुप्रै काम गर्न सकिन्छ । सबै सुधारका काम केन्द्रबाट मात्रै आउँछन् भन्ने पनि छैन ।

दाङका विद्यालयको भौतिक पूर्वाधारको अवस्था कस्तो छ ?

मुलुकका अन्य जिल्लाको तुलनामा दाङका विद्यालयहरुको भौतिक पूर्वाधार राम्रो छ । दाङमा २०४२ सालमा प्राथमिक शिक्षा परियोजना लागू भएको हो । कुनै पनि विद्यालयमा भौतिक पूर्वाधार अपर्याप्त छैनन् । जिल्लाको समग्र अवस्था हेर्दा शैक्षिक दरबन्दी पनि अपुग छैन । तर, त्यसको वितरण राम्रोसँग भएको छैन । यसले गर्दा कुनै विद्यालयमा आवश्यकभन्दा बढी र कुनै विद्यालयमा आवश्यक भन्दा कम शिक्षकहरु हुनुहुन्छ । दरबन्दी अनुसार सबै विद्यालयमा समुचित वितरण गर्ने हो भने दाङमा शिक्षकको अभाव छैन ।

नेपालको समग्र शिक्षा प्रणालीलाई कसरी हेर्नुभएको छ ?

अहिले पनि नेपालमा घोकन्ते पढाइ गर्ने प्रचलन छ । अब हामीले विद्यार्थीलाई जिम्मेवार र व्यावहारिक बनाउन जरुरी छ । विद्यार्थीलाई शिक्षकले पढ भन्ने मात्र होइन, उनीहरुलाई पढ्न सिक भन्ने ज्ञान दिनुपर्छ । हरेक पक्षको सैद्धान्तिक मात्र होइन व्यावहारिक पक्षलाई जोड दिनुपर्छ । विद्यार्थीमा उत्प्रेरणा सबैभन्दा महत्वपूर्ण कुरा हो । हामीले अब विद्यार्थीलाई उत्प्रेरित गर्नु कार्यक्रम ल्याउनुपर्छ । विकसित मुलुकहरुले प्रविधिमा ठूलै फड्को मारिसकेका छन् । हामीले पनि प्राविधिक जनशक्ति उत्पादनतर्फ ध्यान दिनुपर्छ । प्राविधिक जनशक्तिबिना मुलुकको विकास हुन सक्दैन । प्राविधिक शिक्षाले विद्यार्थीलाई बेरोजगार पनि बनाउँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *