बाढीपीडित भोकै, राहत रकम बैंकमा

  
  प्रकाशित मितिः सोमवार, पुस २१, २०७१       | 109 Views   ||

Badhi Field Dang 2जनक नेपाली

दाङ । बाढीबाट विस्थापित नागरिक बस्ने ठाउँ र खाने गाँस नपाएर छट्पटाइरहेका बेला जिल्लास्थित बाढीपीडित राहत कोषको खातामा पैसा थुप्रिरहेको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिद्वारा शुरु गरिएको आर्थिक सङ्कलन कार्यअन्तर्गत विभिन्न संघसंस्था र निकायहरुबाट नेपाल बैंकको खाता नं. २७११५०१८१ मा जम्मा भएकोे ४६ लाख ६१ हजार २ सय २० रुपैयाँको राहत रकम अहिलेसम्म जिल्ला प्रशासन कार्यालयले पीडितहरुलाई वितरण गरेको छ्रैन ।

बाढीपीडित परिवारका लागि बैंकको खातामा रकम जम्मा हुने क्रम अहिले पनि जारी छ तर वितरण नहुँदा पीडितहरुले राहत महसुस गर्न सकिरहेका छ्रैनन् ।

जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले विभिन्न निकायबाट बैंकमा जम्मा भएको रकम पीडितहरुलाई वितरण हुन नसकेको स्वीकार्दै सरकारबाट प्राप्त भएको रकम मात्र वितरण गरिएको बताउनुभयो । बैंकमा जम्मा भएको राहत रकम कहाँ र कसरी वितरण गर्ने भन्ने कुराको योजना जिल्लामा नबन्दा आफूहरु अलमलमा परेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।

यसअघि जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक दुईपटक बसे पनि बाढीपीडित राहत कोष रकम वितरणका बिषयमा कुनै निर्णय नभएको प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाई छ । ‘मैले बाढीपीडित राहत कोषको रकम पुनःस्र्थापनाअन्तर्गत घर बनाउन अथवा अन्य कुनै पुनःस्र्थापनाकै कार्यक्रमका लागि खर्च गर्ने योजना बनाएको छु, उहाँले भन्नुभयो, ‘तर यो कुरा समितिको निर्णयमा भर पर्छ ।’

बाढीपीडितका लागि सरकारबाट जिल्लालाई प्राप्त २६ लाख ४१ हजार ५ सय रुपैयाँ वितरण गरिसकेको उद्धार समितिका संयोजक भट्टराईले जानकारी दिनुभयो । आज बुधबारदेखि सरकारमार्फत् प्राप्त ३४ लाख रुपैयाँ बराबरको प्रतिव्यक्ति १० किलो चामल र पाँच सय रुपैयाँका दरले राहत वितरण गर्न लागेको भट्टराईले जानकारी दिनुभयोे ।

बाढीपीडितका नाममा विभिन्न व्यक्तिहरुले फाइदा उठाउन खोजेको भन्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले दाङका १० गाविसमा तथ्याङ्क सङ्कलन कार्य शुरु गरिएको पनि बताउनुभयो । दाङका बाढीप्रभावित क्षेत्र डुरुवा, मानपुर, गोल्टाकुरी, फुलबारी, धनौरी, हेकुली, पञ्चकुले, श्रीगाउँ र पुरन्धारा गाविसमा जिल्ला प्रशासन कार्यालयमार्फत् तीनवटा टोली बनाई पीडित परिवारको लगत सङ्कलन गर्न पठाइएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

अहिले उक्त टोली बाढीपीडितहरु भएको ठाउँमा पुगी पीडितहरुको नामथर, ठेगाना, संख्या, बालबालिका र गर्भवती महिलाको संख्यालगायत भौतिक सम्पत्ति क्षतिको विवरण संकलन गरेर ल्याएपछि तेश्रो चरणको पुनःस्र्थापनासम्बधी कार्यक्रम शुरु गरिने प्रजिअ भट्टराईले जानकारी दिनुभयो । अहिलेसम्म जिल्लामा करिब साढे चार सय बाढीपीडितलाई राहत प्रदान गरिएको विवरण आफूहरुसँग रहेको जिल्ला प्रशासन कार्यालयका लेखापाल हेमन्तराज शर्माले जानकारी दिनुभयो ।

कार्यालयमा बाढीपीडितको कूल विवरण कति हो भन्ने यकीन तथ्याङ्क नभए पनि राहत भने सबैलाई वितरण गरिएको लेखापाल आचार्यले बताउनुभयोे । तत्काललाई प्रशासन कार्यालयबाट घरबारविहीन र मृृतकका परिवारलाई मात्र राहत दिइएको भन्दै आचार्यले बाढीबाट कम क्षति भएका परिवारलाई भने राहतको कुनै कार्यक्रम नभएको बताउनुभयो । दैवीप्रकोप उद्धार समितिको तर्फबाट ११ जना मृतक र तीन जना बेपत्ताका परिवारलाई ४०÷४० हजार र घरवारविहीन भएकाको हकमा प्रतिपरिवार पाँच हजारका दरले उद्धार समितिले रकम प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *