मौरीले भित्र्यायो लाखौं रुपैयाँ

  
  प्रकाशित मितिः सोमवार, पुस २१, २०७१       | 168 Views   ||

rampur Mauriप्रतीक इच्छुक शर्मा

सल्यान । सल्यानको कालिमाटी रामपुर अहिले मौरीपालन व्यवसायका रुपमा परिचित हुन थालेको छ । मौरीपालन व्यवसायतर्फ यहाँका कृषकहरुको लगाव र आकर्षणले जिल्लामै मौरीपालनका हिसाबले यो गाविस परिचित बनेको हो ।

कम लगानीमा धेरै आम्दानी हुने भएपछि यहाँका कृषकहरु मौरीपालनतर्फ आकर्षित भएका हुन् । मौरीपालन व्यवसायबाट भएको आम्दानीले घर खर्च चलाउन सजिलो भएको कालिमाटी–३ सिमलकुनाका कुलप्रसाद भण्डारी बताउँछन् । उनी भन्छन्, ‘मौरीपालन व्यवसायबाट वार्षिक २ लाख ५० हजार आम्दानी हुन्छ ।’ कालिमाटी गाविसको झिगाने, सिमलकुना, खैरीकाँडालगायतका सामुदायिक र कबुलियती वनमा मौरीलाई आवश्यक पर्ने फूलहरु र चिउरी प्रशस्त मात्रामा पाइने भएकाले यहाँको ठाउँ मौरीपालनका लागि उपयुक्त ठाउँ मानिएको छ । त्यसैले पनि यो क्षेत्रमा मौरीपालन व्यवसाय फस्टाएको कृषकहरुको भनाइ छ ।

‘पहिले गाउँमा दैनिकी चलाउने समस्या हुन्थ्यो र घर खर्च जुटाउन कालापहाड (इन्डिया) गई घोटिनुपर्दथ्यो । तर अहिले गाउँमै मौरीपालन गर्दा घरायसी समस्या समाधान गर्नुका साथै केटाकेटी पढाउन सजिलो भएको छ ।’ कालिमाटी–३ का जयराम वलीले भने, ‘ज्ञानको अभावले पो समस्या भएको रै’छ । आम्दानी गर्न त आफ्नै गाउँमा पनि थुप्रै सम्भावना रहेछन् ।

कालिमाटी–३ का ४२ घरका मौरीपालक कृषकहरु आफ्नो गाउँमा मौरी पालन फस्टाएको देखेर दङ्ग परेका छन्  । ‘गाउँमा यसरी मौरीपालन व्यवसाय फस्टाउँछ जस्तो लागेको थिएन’, स्थानीय लोकेन्द्र ओलीले अनुभव सुनाउँदै भने, ‘सालमा मौरीपालन व्यवसायको सम्भावना छ सुरुमा सरकारी कर्मचारी गाउँमा पुग्दा विश्वास नै लागेको थिएन ।’ आफूले मौरी गोला, घार र मह पनि बिक्री गर्दै आएको ओलीले बताए । उनका अनुसार मौरी गोला र घार गरी ६ हजार मूल्यमा बिक्री हुने गरेको छ । एक वर्षमा १ सय ५० भन्दा बढी गोला र केही घार जिल्लाभित्र र बाहिर काठमाण्डौं, स्याङ्जा बिक्री भएको छ । अहिले पनि धेरै माग आएको छ ।

कृषकहरुले विगत आठ वर्षदेखि मौरीपालन गर्न थालेका हुन् । मौरीपालनको सम्भावना छ भन्ने थाहा पाएर अग्रसर हुने कृषकहरुलाई प्रारम्भिक चरणमा जिल्ला कृषि, वन कार्यालय सल्यान, लघुउद्यम विकास कार्यक्रमले तालिम र आर्थिक सहयोग उपलब्ध गराएपछि मौरीपालन गर्न कृषकहरुलाई सजिलो भएको छ । पहिले–पहिले ५०÷६० किलो प्रतिकृषक मह उत्पादन हुने गरेकोमा अहिलेसम्म वार्षिक १ सय ५० किलो मह उत्पादन गर्ने गरेका छन् । कृषकहरुले गाउँमा वार्षिकरुपमा ३१ लाख ५० हजार बराबरको रकम भित्र्याउने गरेका छन् । गाउँमा ४२ कृषकले अहिलेसम्म ६ हजार ३ सय किलो मह बिक्री गरेर रकम भित्र्याएका हुन् ।

कृषकहरुले उत्पादन गरेको मह लघुउद्यम विकास कार्यक्रमको सहयोगमा सल्यान जिल्लाका विभिन्न स्थानहरुमा स्थापना भएका सौगात गृहबाट बिक्रीवितरण गर्ने व्यवस्था मिलाइएको जिल्ला लद्युउद्यमी समूह संघका कार्यक्रम संयोजक रमेश ओलीले जानकारी दिए । उनले भने, ‘उत्पादित मह बजारसम्म पु¥याउन थारमारे, कपुरकोट र खलंगामा सौगात गृह स्थापना गरिएको छ । यी सौगात गृहमार्फत् दाङ, नेपालगञ्ज, बुटवल लगायतका बजारमा पठाउने पनि गरिन्छ ।’

कृषकहरुले घरबाटै प्रतिकेजी पाँच सय रुपैयाँमा मह बिक्री गरिरहेको स्थानीय दिपककुमार ओलीले बताए । उनले भने, ‘महको उचित मूल्य पाउँदा खुसी लागेको छ ।’ लघुउद्यम विकास कार्यक्रमलगायतले कृषकहरुलाई मह उत्पादनका लागि आवश्यक पर्ने तालिम र सामग्री (महदानी, आधारचाका, पञ्जा, मौरी छोप्ने झोला, क्वीनगेट) समेत उपलब्ध गराइएकोले सहयोग जुटाउने संस्थाहरुप्रति मौरीपालक कृषकहरु निकै खुसी भएको ओलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *