कृषकहरु व्यावसायिक कृषितर्फ आकर्षित हुँदैछन्

  
  प्रकाशित मितिः सोमवार, पुस २१, २०७१       | 122 Views   ||

Bharatmani– भरतमणि पोख्रेल (कृषि प्रसार अधिकृत) कृषि विकास कार्यालय, दाङ

कृषि विकास कार्यालय, दाङका कृषि प्रसार अधिकृत भरतमणि पोख्रेल जिल्लामा निर्वाहमुखी कृषि प्रणालीभन्दा कृषकहरु व्यावसायिक कृषि प्रणालीमा लागिसकेको बताउनुहुन्छ । जिल्लामा खासगरी माछा, माहुरी, तरकारी, च्याउ, खाद्यान्न तथा मसुरोको बीउ उत्पादनका साथै कुखुरा, बंगुर, बाख्रापालन व्यवसाय फष्टाउँदै गएको उहाँको भनाई छ । यसै सन्दर्भमा जिल्ला कृषि विकास कार्यालयको गतिविधि, कार्यक्रमहरु, कृषि क्षेत्रको अवस्था लगायका विषयमा केन्द्रित भएर पोख्रेलसँग गरिएको संक्षिप्त कुराकानी । –सम्पादक

जिल्लाको कृषिको अवस्थाको बारेमा बताइदिनुस् न ?

कृषि क्षेत्रको विकास बिना राष्ट्रको सर्वाङ्गीण विकास प्रायः असम्भव भएकोले यस क्षेत्रको विकासद्वारा गैर कृषि क्षेत्रको समेत विकास एवम् रोजगारी र आयका अवसरहरु वृद्धि गरी ग्रामीण क्षेत्रमा व्याप्त गरिबी घटाउनुपर्ने तथ्य सर्वविदितै छ। उच्च आर्थिक वृद्धिदर हाँसिल गर्नका लागि ठोस योगदान पु¥याउन सक्ने कृषि वस्तुहरुको उत्पादकत्व वृद्धि गर्न, उपलब्ध स्रोत एवम् साधनहरुको यथोचित उपयोग हुन जरुरी छ ।

दाङ जिल्लामा कृषिको अवस्थाको सन्दर्भमा भन्नुपर्दा विगतभन्दा अहिले व्यावसायिक रुपमा जानुपर्छ भन्ने अवधारणाको विकास भएको छ । प्रायः दिनहुँजसो कृषि फर्म दर्ता गर्दैछौं, के गर्नुपर्छ प्राविधिक दृष्टिकोणले उपयुक्त हुन्छ कि हुँदैन सरसल्लाह दिनुप¥यो भन्दै कार्यालयमा आउने कृषकहरुको संख्या बढ्दो छ । जिल्लामा खासगरी माछा, माहुरी, तरकारी, च्याउ, खाद्यान्न तथा मसुरोको बीउ उत्पादनका साथै कुखुरा, बंगुर, बाख्रापालन व्यवसाय फष्टाउँदै गएको छ ।

कृषिका लागि सरकारले के कस्ता नयाँ कार्यक्रमहरु ल्याएको छ नि ?

जिल्लाले निर्धारण गरेका पकेट क्षेत्रहरुमा कृषि प्रसारका कार्यक्रमहरु सञ्चालनमा आइरहेका छन् । नयाँ कार्यक्रम भन्नाले गत वर्षदेखि अभियानमुखी मत्स्य विकास कार्यक्रम सञ्चालनमा आएको छ । त्यसैगरी अभियानमुखी मकै, भटमास कार्यक्रम, अभियानमुखी मसुरो उत्पादन कार्यक्रम, अभियानमुखी तोरी उत्पादन कार्यक्रम र यस वर्ष अभियानमुखी धान तथा तरकारी उत्पादन कार्यक्रम लागू भएको छ । साना सिंचाइ सहकारी खेतीमा आधारित सिंचाइ, सहकारी खेती स्कीम कार्यक्रम सञ्चालन भइरहेको छ । त्यसैगरी केही ठूला सिंचाइ आयोजनाको कमाण्ड क्षेत्रभित्र एकीकृत बाली तथा जल व्यवस्थापन कार्यक्रम सञ्चालन भइरहेको छ । गत वर्षदेखि कृषि बाली विमाको कार्यक्रम शुरु भएको छ । एक गाउँ एक उत्पादन (इख्इए) कार्यक्रम भने व्यावसायिक किट विकास कार्यक्रम पनि आउने क्रममा छ ।

माटोको भौतिक अवस्था बिग्रदै गइरहेकोले भकारो सुधार, गहुँत संकलन कार्यक्रमका साथै कृषिका यान्त्रिकरणका कार्यक्रमहरु पनि सञ्चालनमा आइरहेका छन् ।

कृषि क्षेत्रअन्तर्गत अहिले जिल्लामा कुन–कुन उत्पादन आत्मनिर्भर बनेको अवस्था छ ?

खाद्यान्न बालीमा हामी आत्मनिर्भर छौं । तरकारी सिजनअनुरुप जिल्ला बाहिर पनि जान्छ र जिल्ला बाहिरबाट पनि आउने गरेको छ । महमा पनि यस जिल्ला आत्मनिर्भर छ ।

जिल्लामा कुन व्यवसाय राम्रोसँग फस्टाइरहेको छ नि ?

मैले अगाडि पनि भनिसकें । खासगरी खाद्यान्न बाली, बीउ उत्पादन, माहुरी पालन व्यवसाय, मौसमी तथा बेमौसमी तरकारी उत्पादन, टमाटर, मत्स्य पालन व्यवसाय, च्याउ खेती र फलफूल खेती (केरा, अनार, आँप, कागती) व्यवसायहरु जिल्लामा फस्टाउँदै गइरहेको अवस्था छ ।

जिल्लामा कृषि क्षेत्रको व्यावसायीकरणका मुख्य चुनौतिहरु के–के हुन् ?

कृषकहरुमा निर्वाहमुखीभन्दा व्यावसायिकरुपमा जानुपर्छ भन्ने सोंच एवम् चेतनाको विकास हुन जरुरी छ । कृषि विकास कार्यालय एक्लैले केही गर्न सक्दैन । सरकारी, गैरसकारी, निजी क्षेत्र र सरोकारवालाहरुको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ ।

खासगरी कृषिको व्यवसायीकरणमा गुणस्तरयुक्त उत्पादन, बजारीकरण, सिंचाइ सुविधा नहुनु, प्राविधिक ज्ञानको कमीजस्ता चुनौतिहरु रहेका छन् । त्यस्तै, मुख्यतः यस जिल्लाका निजी क्षेत्र कृषिजन्य उद्योगतर्फ आकर्षित नहुनु, त्यसैगरी युवा जनशक्ति विदेश पलायन हुनु पनि कृषिको व्यवसायिकरणका चुनौतिहरु हुन् ।

कृषि विकास कार्यालयबाट कृषकहरुले पाउने आवश्यक सूचनाहरु नपाइराखेको गुनासो पनि सुनिन्छ, के कार्यालय र सेवाग्राहीबीचको सम्बन्ध प्रगाढ हुन नसकेको हो ?

त्यसो होइन, कृषक र कृषि विकास कार्यालयबीच प्रगाढ सम्बन्ध छ । यस जिल्लामा जिल्ला कृषि विकास कार्यालय लगायत चार वटा कृषि सेवाकेन्द्र र दुई वटा कृषि सम्पर्क स्थलमार्फत् कृषकहरुलाई सेवा दिने काम भइरहेको छ । जहाँसम्म सूचना नपाएको गुनासोकोकुरा छ, हामीले अधिकतम सूचना प्रवाह गर्ने प्रयास गरिरहेका छौं । स्थानीय पत्रपत्रिका, एफएम रेडियो, रेडियो कृषि कार्यक्रम, गाविसहरुका साथै सेवाकेन्द्रहरुमार्फत् पत्राचार गरी सूचना प्रवाह गर्ने काम भइरहेको र जिल्ला कृषि विकास कार्यालयमा सूचना माग्न आएमा दिन सकिने सूचना दिइरहेका छौं । सूचना अधिकारी स्वयम् म नै हुँ । सूचना पाइएन भनी मैले गुनासो सुनेको छैन ।

जिल्ला कृषि विकास कार्यालय मातहतमा अहिले कतिवटा शाखाहरु रहेका छन् र तिनले कसरी काम गरिरहेका छन् ?

जिल्ला कृषि विकास कार्यालयअन्तर्गत एक जना वरिष्ठ कृषि विकास अधिकृत रहन्छ भने अन्य प्राविधिक तथा प्रशासनिक गरी ९ वटा शाखाहरु छन् । जसमध्ये कृषि प्रसार शाखा, बाली विकास, बाली संरक्षण, माटो व्यवस्थापन, मत्स्य विकास, बागवानी, योजना, लेखा र प्रशासन शाखा रहेका छन् । सबै शाखाहरुले आफ्नो शाखामार्फत् गर्नुपर्ने जिम्मेवारी, नियम कानुन, विभागीय निर्देशन, कार्यविधिको परिधिभित्र रही कार्य गरिरहेका छन् । चार वटा सेवाकेन्द्र र दुइटा कृषि सम्पर्क स्थलबाट समेत आफूलाई सुम्पिएको जिम्मेवारी अनुसारका कामहरु गरिरहेका छन् ।

जिल्लामा के कति संख्यामा कृषि सहकारीहरु क्रियाशील छन् र तिनको अवस्था कस्तो छ ?

जिल्लामा विभिन्न बालीगत कृषक समूह ८ सय २७ वटा क्रियाशील छन भने कृषि सहकारीमात्र ३ सय ४९ वटा छन् । धेरैजसो कृषि प्रसार कार्यक्रमहरु कृषक समूह, सहकारीमार्फत् सञ्चालन हुँदै आइरहेका छन् । कृषि सहकारी सबैको पूर्वाधार अझै बन्न सकेको छैन । कुनै–कुनै सहकारी अत्यन्त सक्रिय छन् । बीउ उत्पादन, प्रमाणिकरण, प्याकेजिङ, ग्रेडिङ, लेवलिङसमेत गरी जिल्ला भित्र र बाहिर बीउ सप्लाइ गरिरहेका छन् भने धेरैजसो कृषि सहकारीहरु मलखाद बिक्री वितरण गरी कृषकहरुलाई सेवा पु¥याइरहेका छन् । विगत केही वर्षदेखि सहकारीको संख्या वृद्धि हुँदै गइरहेको छ ।

कृषि पेसामा आबद्ध किसानलाई कृषिमै आत्मनिर्भर बन्नका लागि के गर्नुपर्ने सल्लाह दिनुहुन्छ ?

कृषि मूल्यस्चय जीवनम् भन्ने उक्तिलाई आत्मसाथ गरी निर्वाहमुखी कृषि पद्धतिबाट व्यावसायिक कृषितर्फ उन्मुख हुन सबै कृषि पेसामा संलग्न कृषक समुदायमा हार्दिक अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *