दाङ पशुपालनमा आत्मनिर्भर बन्दैछ

  
  प्रकाशित मितिः सोमवार, पुस २१, २०७१       | 263 Views   ||

Bishnu_डा. विष्णुप्रसाद धिताल (प्रमुख) जिल्ला पशु सेवा कार्यालय, दाङ

जिल्ला पशु सेवा कार्यालय दाङका प्रमुख डा. विष्णुप्रसाद धिताल दाङ क्रमशः पशुपालनमा आत्मनिर्भर बन्दै गएको बताउनुहुन्छ । जिल्लामा पशुपालनको विकासका लागि सबैभन्दा पहिले आहारको विकासमा ध्यान दिनुपर्ने उहाँको भनाई छ । जिल्लाको पशुपालनको अवस्था, सम्भावना, समस्यालगायतका विषयमा केन्द्रित भएर धितालसँग गरिएको कुराकानीको सार । : सम्पादक

दाङमा पशुपालनको अबस्था कस्तो छ ?

पछिल्लो समय दाङमा पशुपालनको व्यवसायीकरण हुँदै गइरहेको छ । केही वर्ष पहिलेसम्म निर्वाहका लागि पशु पालन गर्नेहरुको संख्या निकै धेरै थियो । अहिले पशुपालनलाई एउटा व्यवसायकै रुपमा स्थापित गर्ने काम भइरहेको छ । यहाँका किसानहरु क्रमशः पशुबाट आयआर्जन बढाउनुका साथै राम्रो आम्दानी गर्न सफल भएका छन् । पशुपालनले स्वरोजगार तथा रोजगारीका अवसरहरु प्रदान गरेको छ । अहिले दाङ पशुपालनमा लगभग आत्मनिर्भर भइरहेको छ । खसी, बाख्रा, बंगुर र कुखुरा अहिले रोल्पा, रुकुम, सल्यान, प्यूठान, नेपालगञ्ज, काठमाडौं, पोखरा लगायतका स्थानमा बिक्रीका लागि गइरहेका छन् ।

उसो त पशु तथा कुखुरा अन्य जिल्ला र छिमेकी मुलुकबाट पनि आयात भइरहेको छ । तर, पछिल्ला वर्षहरुमा भइरहेको उत्पादन अनुपातलाई हेर्ने हो भने दाङ मासुमा आत्मनिर्भर बन्न सक्छ । अहिलेसम्म दाङमा व्यवसायिकरुपमा गाई फर्म ३२ वटा, भैंसी फर्म २२, बंगुर ३६, कुखुरा १ सय ७६, लेयर्स कुखुरा ४२, ह्याचरी २ र बाख्रा फर्म २५ वटा सञ्चालनमा आएका छन् । यो तथ्याङ्क जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको मात्र हो । अझ थुप्रै फर्महरु स्थापना भएका छन् ।

पशु सेवा कार्यालयले जिल्लामा के के सेवा उपलब्ध गराइरहेको छ ?

जिल्ला पशु सेवा कार्यालयको कार्य क्षेत्र भनेको दाङ जिल्लाका उन्चालीस गाविस र दुई नगरपालिका हो । अहिले कार्यालयका विभिन्न स्थानमा १४ वटा सेवा केन्द्रहरु छन् । पाँच वटा सेवा केन्द्र तुलसीपुर, नारायणपुर, लमही, गढवा र लालमटियामा अधिकृत प्राविधिकको दरबन्दी छ । अन्य नौ वटा केन्द्रमा पशु सेवा प्राविधिक (नासु तह) रहनुभएको छ ।

त्यस्तै प्राइभेट पारभेट १४ जना हुनुहुन्छ । उहाँहरुको सिधै हामीसँग सम्पर्क हुन्छ । कृत्रिम गर्भधारणका लागि उहाँहरुले काम गरिरहनुभएको छ । त्यसैगरी जिल्लामा ४० जना सक्रिय ग्रामीण पशु स्वाथ्य कार्यकर्ता हुनुहुन्छ । उहाँहरु र सेवा केन्द्रहरुमार्फत् जिल्ला पशु सेवा कार्यालयले आफ्नो सेवा प्रदान गरिरहेको छ । आम कृषकहरुलाई सहजरुपमा काम गर्न, आवश्यक सहयोग र सरसल्लाह दिन जिल्ला पशु सेवा कार्यालयमा पनि सधैं तत्पर अबस्थामा रहेका हुन्छौं ।

पछिल्लो समय किसानहरुका जागरुकता आएको छ । चेतना अभिवृद्धिका कारण किसानहरु क्रमशः व्यवसायिक कृषितर्फ आकर्षित भइरहेका छन् । उनीहरु सधैंजसो जिल्ला पशु सेवा कार्यालयमा कुनै न कुनै जिज्ञासा लिएर आउँछन् । यसले गर्दा हामीलाई काम गर्न पनि सहज भएको छ । पशु सेवा कार्यालयले मात्र गरेर केही हुँदैन । त्यसका लागि सबैभन्दा पहिले आम कृषकहरुको चेतनास्तर बढाउनुपर्छ । अहिले क्रमशः कृषकहरुमा चेतनास्तर बढिरहेको छ ।

तपाईंहरुले कृषकलाई कस्तो सेवा सुविधा दिनुहुन्छ ?

जिल्ला पशु सेवा कार्यालयले पशु सेवा प्रसारक कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रमहरु गरिरहेको छ । पशु आहार विकास कार्यक्रम सञ्चालन भइरहेको छ । यसअन्तर्गत घाँसको बीउ, डाले घाँस वितरणलगायतका काम भइरहेका छन् । त्यसैगरी वर्षे, हिउँदे र बहुवर्षे घाँसको बीउ तथा विरुवा वितरण भइरहेको छ । पशु प्रजनन कार्यक्रमअन्तर्गत प्राकृतिक गर्भाधारणका काम भइरहेका छन् । जसअनुसार बोका र बंगुरका पाठापाठी वितरण भइरहेको छ । कुखुरा वितरण भइरहेको छ । यसले गर्दा पशु प्रजननको विकास भइ उत्पादन बढ्छ ।

अहिले नेपालमा कृत्रिम पशु प्रजनन राष्ट्रिय अभियान शुरु भएको छ । यो कार्यक्रम दाङमा पनि लागु भएको छ । गत वर्षदेखि नौ वटा पशु प्रजनन केन्द्र र पाँच वटा कृत्रिम गर्भाधान सेवाबाट गाई भैंसीको कृत्रिम गर्भाधारण भइरहेको छ ।

स्थानीय गाई भैंसीमा कृत्रिम गर्भाधारण गरेर उत्पादन वृद्धि गर्ने हाम्रो प्रमुख लक्ष्य हो । स्थानीय पशुहरुमा कृत्रिम गर्भाधारणमार्फत् उन्नत जातको वीर्य हालेमा त्यसबाट उत्पादन हुने पशु राम्रो निस्कन्छ । साथै दूध उत्पादन क्षमता पनि बढाउँछ । यहाँ भएका सबै पशुलाई विस्थापित गरेर नयाँ पशु भित्र्याउन सकिदैन । हामीले गर्ने भनेको यस्तै वैकल्पिक उपायहरु अवलम्बन गर्ने पशुको उत्पादन क्षमता बढाउने नै हो ।

दाङमा गोठ सुधार कार्यक्रम पनि शुरु भएको छ । त्यस्तै स्वास्थ्य व्यवस्थापनअन्तर्गत पशुलाई खोप कार्यक्रम र रोग निदान कार्यक्रम सञ्चालन भइरहेको छ । पशुलाई रोग लाग्न नदिनको लागि गोठ सुधारले महत्वपूर्ण सहयोग पुग्छ । अहिले मान्छेहरु ओभानोमा बस्ने तर पशुलाई फोहोर तथा हिलोमा बसाल्ने काम भइरहेको छ । यसले गर्दा पशुको प्रजनन तथा समग्र विकासमा नोक्सान गर्छ ।

बढी दूध दिन सक्ने क्षमता भएका गाई भैंसीले थोरै दूध दिन्छन् । तर, हामीले थोरै लगानी गरेर गोठ सुधार गर्न सकेको खण्डमा दूध उत्पादन बढाउन सकिन्छ । यस्ता विषयमा जनचेतना अभिवृद्धि गर्नु अहिलेको आवश्यकता हो ।

पशु सेवा कार्यालयले विभिन्न समयमा चेतनामूलक कार्यक्रमहरु पनि गरिरहेको छ । तालिम, गोष्ठीका काम भइरहेका छन् । समय–समयमा निःशुल्क पशु स्वाथ्य शिविर, बाँझोपन निवारण शिविर, बजार व्यवस्थापन तथा प्रवद्र्धनको काम भइरहेको छ ।

हामीले यी कार्यक्रमहरु अनुदान तथा सहकार्यमा गरिरहेका छौं । मासु पसल, बधस्थल सुधार, डेरी पसल सुधारलगायतका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । यी कार्यक्रममा हामीले ४० देखि ६० प्रतिशतसम्म अनुदान दिइरहेका छौं । सम्पूर्ण लागत अनुदानमा भएको खण्डमा कृषकहरुमा अपनत्व नहुन सक्छ । त्यही भएर हामीले कृषकको पनि लागत सहभागिता खोजेका हौं । सहकार्यमा गरिएका कामहरु धेरै सफल भएका हामीहरुसँग प्रशस्त उदाहरण छन् ।

जिल्लामा पशुपालन व्यवसाय बढाउनको लागि के गर्नुपर्ला ?

विगतको तुलनामा दाङमा पशुपालन व्यवसाय बढे पनि अपेक्षाकृतरुपमा विकास हुन सकेको छैन । यसका लागि सबैभन्दा पहिले हामीले कुन पशु पाल्ने भनेर निर्धारण गर्नुपर्छ । हामीले घाँसमा आधारित पशुपालन गर्नुपर्छ । दानामा लागत खर्च बढी हुने भएकाले कृषकलाई अपेक्षाकृत फाइदा नहुन सक्छ ।

गाई भैंसी, भेडा बाख्रा सबैलाई हामीले घाँसकै माध्यमबाट आहार पु¥याउनुपर्ने हुन्छ । अब जिल्लामा घाँस उत्पादन बढाउन जरुरी छ । पोसिलो घाँस उत्पादनका लागि सबैले ध्यान दिनुपर्छ । आहाराको विकास नगर्दासम्म पशुपालन फष्टाउन सक्दैन । दानाको भरमा यी पशुपालन गर्न त्यति व्यवहारिक पनि हुँदैन ।

साथै कृषकहरुमा चेतना अभिवृद्धि गर्न जरुरी छ । पशुहरुलाई रोग लाग्न नदिने उपायको बारेमा कृषकहरुलाई जानकारी दिन जरुरी छ । साथै पशुको स्वाथ्य नियमित परिक्षण गर्नुपर्छ । पशुहरुलाई समय–समयमा खोपहरु दिनुपर्छ । मान्छेले आफ्नो स्वाथ्यमा मात्र ध्यान दिएर पुग्दैन । पशुको स्वाथ्यमा पनि त्यत्तिकै ध्यान दिनुपर्छ । अहिले पनि धेरै स्थानमा निर्वाहमुखी पशुपालन भइरहेको हुँदा त्यसलाई व्यवसायीकरण गर्न खाँचो छ ।

पशुपालनले उद्योगसरह काम गर्न सक्छ । दाङ पशुपालनका लागि निकै उपयुक्त क्षेत्र भएकाले यहाँको सम्भावना निकै राम्रो छ । मासुजन्य पदार्थ तथा दूग्धजन्य पदार्थको माग दिन प्रतिदिन बढिरहेकाले यस क्षेत्रमा लगानी गर्ने कृषकहरु घाटामा कहिल्यै जाँदैनन् । तर, पशुपालन गर्ने कृषकहरुमा धैर्यता र सहनशीलता हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *