ऋण प्रवाह सहज र सरल बनाए कृषिमा लगानी बढ्नेछ

  
  प्रकाशित मितिः सोमवार, पुस २१, २०७१       | 169 Views   ||

Hari_prasad_pande– हरिप्रसाद पाण्डेय (प्रमुख) घरेलु तथा साना उद्योग कार्यालय, दाङ

घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख हरिप्रसाद पाण्डेय ऋण प्रवाह सहज बनाउन सकेको खण्डमा मात्र कृषि क्षेत्रमा लगानी बढ्न सक्ने बताउनुहुन्छ । वैज्ञानिक कृषि प्रणाली अवलम्बन गरेर विदेशीने युवालाई कृषिमा आकर्षित गर्नुपर्ने उहाँको भनाई छ । दाङमा घरेलु तथा साना उद्योग कार्यालयको अवस्था, समस्या, सम्भावनालगायतका विषयमा केन्द्रित भएर पाण्डेयसँग गरिएको कुराकानी । : सम्पादक

दाङमा घरेलु तथा साना उद्योग कार्यालयको अवस्था कस्तो छ ?

दाङमा घरेलु तथा साना उद्योग कार्यालयको स्थापना २०३९ सालमा स्थापना भएको हो । हामीले विशेष गरेर तीन क्षेत्रमा काम गर्छौं । औद्योगिक प्रशासन, औद्योगिक प्रशासन र वाणिज्य प्रशासनको काम गरिरहेका छौं । उद्योग प्रशासनअन्तर्गत उद्योगको दर्ता, नवीकरण र खारेजीको काम हुन्छ ।

अहिलेसम्म २ हजार ७ सय ७ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । औद्योगिक प्रवद्र्धनअन्तर्गत उद्यमी सिर्जना र सीपमूलक तालिम प्रदान गरिन्छ । अहिलेसम्म हामीले त्यस्तो तालिम ५ हजार ६ सय ४३ जनालाई विभिन्न ५० प्रकारका तालिम दिइसकेका छौं । यसमध्ये ३ हजार ६ सय ५९ जना महिला र १ हजार ९ सय ८४ जना पुरुष हुनुहुन्छ । हामीले वाणिज्य प्रशासनअन्तर्गत व्यापार दर्ता, नवीकरण र खारेजीको काम गर्छौं । हामीले २ करोड रुपैयाँ पूँजीसम्मको व्यापारको दर्ता गर्न सक्छौं । त्यो भन्दा ठूलो पूँजी लगानी भएकाहरु हाम्रो क्षेत्राधिकारभित्र पर्दैन ।

त्यसैगरी उपभोक्ता संरक्षण ऐन २०५४ तथा उपभोक्ता संरक्षण नियमावली २०५६ ले घरेलु तथा साना उद्योग कार्यालयका प्रमुखलाई निरीक्षण अधिकृत तोकेको छ । त्यसअनुरुप नियमित अनुगमनको काम भइरहेको छ । यसले यहाँका व्यवसायको नियमित अनुगमन र निरीक्षण भएको छ । साथै हामीले उपभोक्तालाई सचेत गराइरहेका छौं । अहिलेको अवस्थामा उपभोक्ता सचेत हुनु भनेको व्यवसायीहरुलाई पनि सहयोग गर्नु हो । व्यवसायी र उपभोक्ता भनेको एक अर्काका परिपुरक हुन् । यसलाई समन्वय गरेर अघि बढ्नुपर्छ ।

दाङमा कस्ता उद्योगहरुको आकर्षण बढेको छ ?

हामीले बोल्ने भनेको तथ्याङ्कको आधारमा हो । अहिलेसम्म सबैभन्दा बढी सेवामुलक उद्योग दर्ता भएका छन् । अहिलेसम्म जिल्लामा १ हजार २ सय ६० वटा सेवामुलक उद्योग दर्ता भएका छन् । कृषिमा ३ सय १२, पर्यटनमुलक १ सय १७ वटा र उत्पादनमुलक ७ सय ७७ वटा र निर्माण क्षेत्रका २ सय ४१ वटा उद्योग दर्ता भएका छन् । पछिल्लो समय कृषि तथा पर्यटन क्षेत्रमा आकर्षण देखिएको छ । विगतको तुलनामा दाङमा घरेलु तथा साना उद्योगतर्फ आकर्षण बढेको छ ।

सेवामुलक उद्योगमा आकर्षण हुनुको कारण के होला ?

हामीले कुनै पनि लगानीकर्तालाई यही क्षेत्रमा लगानी गर्नुहोस् भनेर भन्न सक्दैनौं । हामीले गर्ने भनेको प्रक्रिया पूरा गरेर नियमसंगत तरिकाले आएका उद्योगहरुलाई दर्ता गर्ने हो । सामान्य ढंगले बुझ्दा पनि अन्य प्रकृतिका तुलनामा जोखिम कम हुने भएकाले सेवामुलक उद्योगमा लगानी बढी भएको हुन सक्छ । सेवामुलक उद्योगमा कम लगानी गरेर छिटो प्रतिफल प्राप्त गर्न सकिन्छ । अहिले पनि हामीले पूर्वाधार क्षेत्रमा धेरै विकास गर्न सकेका छैनौं । पर्याप्त पूर्वाधार नभएकाले पनि उत्पादन, पर्यटन तथा कृषि क्षेत्रमा अपेक्षाकृत लगानी हुन नसकेको हो । पूर्वाधार क्षेत्रमा लगानी बढाउने हो भने यी उद्योगहरुमा समेत लगानी बढ्ने देखिन्छ ।

कृषिमा लगानी बढाउन के गर्नुपर्ला ?

मुलुकको आर्थिक विकासका लागि हामीले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ । कृषिमा धेरै लगानी बढाउन आवश्यक छ । कृषिमा आत्मनिर्भर हुँदै हामीले उत्पादनलाई छिमेकी मुलुकका निर्यात गर्न सकेको खण्डमा मुलुकको आर्थिक विकास तीव्र गतिमा हुनेछ । सबैभन्दा पहिले त कृषिमा लगानी बढाउनको लागि हामीले वैज्ञानिक खेती प्रणालीको विकास नगर्दासम्म कृषि क्षेत्रमा अपेक्षाकृत लगानी बढ्न सक्दैन । उन्नत खालको बीउबिजन, औजार र मलको विकास गर्नुपर्छ ।

दाङको हकमा सिचाइको समस्या छ । हिउँदे तथा वर्षे सिजनमा गर्न सकिने उत्पादनको लागि पर्याप्त सिचाइको आवश्यक पर्छ । सिचाइमा लगानी गर्न सकेको खण्डमा धेरैले कृषिबाट फाइदा लिन सक्छन् । वैदेशिक कमाइबाट आश्रित परिवारलाई हामीले कृषिमा आकर्षित गर्न सक्छौं । ठूलो क्षेत्रमा कृषि व्यवसाय गर्नको लागि ठूलो लगानी आवश्यक पर्छ । ऋण प्रवाहलाई सहज र सरल बनाएमा कृषिमा लगानी बढ्नेछ । अर्धदक्ष जनशक्ति अहिले विदेशीनु परिरहेको छ । उनीहरुलाई कृषिमा आकर्षित गर्नको लागि सीपमूलक तालिम प्रदान गर्नुपर्छ । विदेशीनेहरुलाई रोक्नको लागि हामीले सबैभन्दा पहिले कृषिमा उनीहरुलाई आकर्षित गर्नुपर्छ । यसका लागि कृषिलाई आधुनिकीकरण गर्दै लैजानु अहिलेको आवश्यकता हो । कृषकलाई सहुलियत तथा अनुदानमा मल तथा बीउ प्रदान गर्नुपर्छ । कृषि क्षेत्रमा लगानी बढ्दा स्वयम् कृषकलाई मात्र होइन समग्र मुलुकलाई प्रत्यक्ष फाइदा पुग्छ । यसले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

पछिल्लो समय दाङमा ठूला लगानीका उद्योगहरु खुलिरहेका छन् । यसरी लगानीकर्ताहरु दाङमा किन आर्कषित भएका होलान् ?

हुन त घरेलु तथा साना उद्योगले ठूला तथा मझौला उद्योगहरुलाई हेर्दैन । दाङमा पछिल्लो समय ठूला लगानीका सिमेण्ट उद्योगहरु खुलेका छन् । यसका मुख्य कारण भनेको जिल्लाको उत्तरी क्षेत्रमा पर्ने पहाडी गाविस सैघा, स्यूजा, काभे्र, लोहारपानी, हाँसीपुरलगायतका क्षेत्रमा प्रशस्त चुनढुङ्गा छ । पर्याप्त कच्चापदार्थकै कारण उनीहरु दाङमा आकर्षित भएका हुन् ।

दाङको भौगोलिक अवस्था, हावा, पानी र सहज ढुवानी व्यवस्थाका कारण लगानीकर्ताहरुको आकर्षण बढेको हो । नेपालमा पश्चिमको तुलनामा पूर्वमा धेरै उद्योगधन्दा खुलेका छन् । उद्योगधन्दाको बजारीकरणका लागि पनि सहज भएकाले यहाँ लगानीकर्ता आकर्षित भएका हुन् । दाङमा अन्य उद्योगको पनि प्रशस्त सम्भावना छ । उत्पादनमुलक उद्योगका साथै पर्यटनमुलक उद्योगमा पनि लगानी गर्न सकिन्छ । यहाँ थुप्रै पर्यटकीय क्षेत्रहरु छन् । यसको उचित प्रचार, प्रसार र प्रवद्र्धन गर्न सकेमा पर्यटनमुलक उद्योगमा लगानी बढ्नेछ ।

यहाँका उद्योगधन्दाका समस्याहरु के हुन् ?

यहाँका उद्योगधन्दाको प्रमुख समस्या भनेकै लोडसेडिङ हो । लोडसेडिङले उद्योगधन्दामा निकै असर पुगेको छ । लो भोल्टेजका कारण पनि समस्या परेको छ । कर्जा प्रवाह, बजार वितरणको समस्या छ ।

अर्को कुरा अहिलेसम्म पनि धेरै मान्छेहरुमा व्यावसायिक चिन्तनको विकास हुन सकेको छैन । सबैभन्दा पहिले व्यावसायिक चिन्तनको विकास गर्नुपर्छ । साथै अहिले पनि धेरै व्यवसायी साथीहरुले लेखा प्रणाली व्यवस्थित गर्न सक्नुभएको छैन । लेखा प्रणाली व्यवस्थित पनि महत्वपूर्ण कुरा हो । हामीले लेखा प्रणालीसम्बन्धी तालिम दिन आवश्यक छ । साथै उपभोक्ताहरुमा पनि हक अधिकारप्रति सचेतना छैन । उपभोक्ताहरु सचेत नहुँदासम्म व्यवसायीलाई पनि काम गर्न समस्या पर्छ ।

व्यावसायिक प्रवद्र्धनका लागि तपाईहरुले के गर्नुभएको छ ?

हामीले उद्यम विकासका लागि विभिन्न पचास प्रकारका तालिम दिइरहेका छौं । अहिले विशेष गरेर सिलाई कटाई, होजियारी, खाद्य प्रशोधन, मैनबत्ती बनाउने, उद्यमशील विकास तालिम, माहुरी पालन, च्याउ खेती, अल्लो धागो प्रशोधनलगायतका तालिम दिइरहेका छौं ।

तालिममा सहभागीको छनोट कसरी गर्नुहुन्छ ?

हामीले पाँचवटा निर्वाचन क्षेत्रमा भिन्नभिन्नै अन्तक्र्रिया गरेर तालिमको विषय छनोट गर्दछौं । त्यसपछि खुला विज्ञापन गरे खुला प्रतिस्पर्धाबाट सहभागीको छनोट गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *