हेरिरहेछु
प्रश्नै प्रश्नहरूको झ्यालबाट
हाजिरीजवाफ जस्तो– यो दुनियाँ
घर-आँगन छोडेर
पृथ्वीका नसाहरू जस्ता लाग्ने
हजारौं बाटाहरुका फेद समातेर
हजारौंपल्ट निस्किसकें यात्रामा
कहीं पुग्न सकेको छैन
म, कहीं पुग्न सकेको छैन ।
म जस्तै कहिल्यै नथाकेर
ओरालो बगिरहने यी नदीहरू पनि
किन कहिल्यै पुग्दैनन् गन्तव्यमा ?
कोही बेसरी मातिएझैं देखिन्छन्
कोही जुटाउँछन् साहस र शक्ति
साँच्चै, मदिरा हो कि अमृत हो प्रेम ?
मृत्युको सम्झौतापत्रमा
हस्ताक्षर गरेर जन्मिने मान्छेले
कस्तो मान्छे बन्नुपर्छ ?
र, के गर्नुपर्छ दुनियाँका लागि ?
के सम्बन्ध हुन्छ
आत्मा र शरीरको बीचमा ?
कस्तो सम्बन्ध हुनुपर्छ
दुनियाँका मान्छेहरूको बीचमा ?
र, आफैमा केही हो कि होइन जीवन ?
बाँचिरहेछु– जवाफको पर्खाइमा
र, हेरिरहेछु
प्रश्नै प्रश्नहरूको झ्यालबाट
हाजिरीजवाफ जस्तो– यो दुनियाँ ।
०००