मैले पढ्ने स्कुलका प्रत्येक झ्याल, आँगन
र भित्ताहरुलाई थाहा थियो
कि त्यहाँ दिनहुँजसो
गस्तीमा आउँथे
समयका अपरिभाषित बन्दुकहरु
मुस्कान अपहरण थिए कलमहरुका
वर्जित थिए शब्दहरु पन्नामा
र थिए छटपटीको सिमानामा
बाल मस्तिस्क र हृदयहरु
सधैंजसो फूल चढाउँथे शिक्षकहरु
अफिसमा झुन्ड्याइएको
अराजक पेस्तोलको तस्विरमाथि
र बारबार बिरोधको जुलुस निकाल्थे
दराजका पुराना पुस्तकहरु
गुँड बनाएपछि
स्कुलको दलिनमै मृत्युका चराहरुले
आत्महत्या गरेका हुन् मेरा कलमका मसीहरुले
र कोर्न सिकेको हुँ
जिन्दगीको क, ख रगतका छिटाहरुले
तर अचेल
फेरिएर युग नयाँ जिन्दगी आइपुगेको छ
समयको छातीमा
दुश्मन हराएर
आत्मीयता उडिरहेछ हावामा
स्वयम् आकाशले उपहार पठाएको
इन्द्रेणी हातमा बोकेर
दौडिरहेछन् आँगनभरि स्कुले नानीहरु
खै कसले हो रोपेर पनि हुर्काइसकेछ स्कुलछेऊ
प्रेमका गुराँसहरु
र त्यही गुराँसका फूल–फूलमा
तथास्तु भन्दै हाँसिरहेछन् बुद्धहरु ।
०००