सोख फोटोग्राफी | संकल्प श्रेष्ठ

  
  प्रकाशित मितिः सोमवार, पुस २१, २०७१       | 147 Views   ||

sankalpसुजुकी गाडीको आधिकारिक बिक्रेता, राप्ती

के व्यवसाय गर्दै हुनुहुन्छ ?

हुन त हाम्रो सबै परिवार नै अटोमोबाइल व्यवसायमा संलग्न छौं । व्यक्तिगत रुपमा मेरो कुरा गर्दा म अहिले सुजुकी गाडीको राप्तीको आधिकारिक बिक्रेता हुँ ।

तपाईंको डिलरमा कस्ता–कस्ता खालका गाडीहरु पाइन्छन् नि ?

हाम्रा डिलरमा अहिले १५ मोडेलका गाडीहरु पाइन्छन् । अहिले दङाली बजारमा सुजुकीका न्यूनतम १४ लाखदेखि अधिकतम ३७ लाख मूल्यसम्मका गाडी बिक्री भइरहेका छन् । सुजुकीमा हामीले चाडपर्वको अवसरमा विभिन्न अफर राख्छौं ।

कारोबार कत्तिको भइरहेको छ, व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ ?

कारोबार धेरै थोरै कति भन्ने हुँदैन । यो भनेको सापेक्षतामा हुने कुरा हो । अहिलेसम्म सन्तुष्ट छु । आफूले गरेको काममा म सधैं सन्तुष्ट हुन्छु ।

सुजुकी गाडी नै किन किन्ने ?

सुजुकीको सकारात्मक पक्षको बारेमा जति पनि भन्न सकिन्छ । यसका थुप्रै विशेषता छन् । मुख्य त सुजुकी सबैखाले आर्थिक हैसियत भएका ग्राहकहरुलाई सहज हुन्छ । यसले सबैलाई सधैंभरी खुशी दिन्छ ।

कहिलेदेखि शुरु गर्नुभयो नि व्यवसाय ?

मेरो परिवार नै व्यवसायमा संलग्न भएकाले यति मितिदेखि व्यवसाय शुरु गरें भनेर भन्न सकिदैन । मेरो जीनमा नै व्यवसाय घुसेको छ जस्तो लाग्छ । व्यक्तिगतरुपमा मैले २०६० देखि व्यवसाय शुरु गरेको हुँ ।

व्यापार व्यवसायमा लाग्न कसले प्रेरित ग¥यो र कसरी लाग्नुभयो ?

परिवारबाट नै सिकेको हुँ । म बच्चैमा पनि व्यवसायसम्बन्धी विभिन्न काममा संलग्न हुन्थे । मलाई व्यवसायमा सबैभन्दा बढी बुबा र दाइहरुको प्रेरणाले म व्यवसायमा संलग्न भएँ । मेरो मामा धुव्रराज भारीले हाम्रो परिवारलाई नै व्यवसायमा लाग्न प्रेरित गर्नुभएको हो । अहिलेसम्म हाम्रो सबै प्रगतिको श्रेय मामालाई जान्छ ।

व्यवसायका अतिरिक्त अन्य क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ ?

म अहिले उद्योग वाणिज्य संघ, रोटरी क्लव, राप्ती अञ्चल अटोमोवाइल्स डिलर्स एशोसिएसन, त्रिभुवननगर जेसिजलगायत दर्जन बढी संघ संस्थामा आवद्ध छु ।

व्यवसाय एकातिर छोडेर संघ संस्थामा दौडधुप गर्दा व्यवसाय चौपट हुँदैन ?

व्यवसाय भनेको पैसा कमाउने मात्र होइन । समाजबिना हामी कोही चल्न सक्दैनौं । पैसा कमाएर मात्र कोही ठूलो बन्दैन । हामीले समाजसेवालाई पनि ध्यान दिनुपर्छ । समाज खुशी हुन्छ भने म पनि खुशी हुन्छु । त्यसैले संघ संस्थामा लाग्दा मलाई फाइदा नै भएको छ भनेर मैले बुझेको छु ।

व्यापारीहरु ग्राहकको अनुहार हेरेर वस्तुको मोलमोलाइ गर्न खप्पीस हुन्छन् भनिन्छ नि ?

संसारमा धेरै व्यवसाय छन् । धेरै प्रकृतिका व्यवसाय छन् । सबै व्यवसाय र व्यक्तिको स्वभाव एउटै हुन्छ भनेर हुँदैन । अटो मोवाइल क्षेत्र भनेको निश्चित नाफा पहिले नै तय गरिएको हुन्छ । देशभर जहाँ किने पनि मूल्य एउटै हुन्छ । यसमा त्यति धेरै मोलमोलाइ हुँदैन । सुजुकी गाडी नेपालकै नम्बर वान भएकाले पनि धेरै बिक्री हुन्छ । हामीले एउटा गाडीबाट धेरै नाफाभन्दा पनि धेरै गाडी बिक्री गरेर थोरै–थोरै नाफा लिनुपर्छ ।

पत्रपत्रिका कत्तिको अध्ययन गर्नुहुन्छ ?

भ्याएसम्म र फुर्सदको समयमा पत्रपत्रिका पढ्छु ।

स्थानीय मिडियाहरुले उद्योग व्यवसाय क्षेत्रलाई कत्तिको प्राथमिकता दिएको छ र अझैं उद्योग व्यवसायको प्रवद्र्धन गर्न के गर्नुपर्छ जस्तो लाग्छ ?

पछिल्लो समय पत्रपत्रिकाले उद्योग व्यवसायको प्रवद्र्धनका लागि स्थान दिइरहेका छन् । अझैं आर्थिक तथा उद्योग व्यवसायलाई बढी प्राथमिकता दिनुपर्छ भन्ने मलाई लाग्छ । अब पत्रकार साथीहरुले जिल्लाको समग्र आर्थिक विकासका लागि उद्योगी व्यवसायीको के भूमिका हुनुपर्छ भनेर रचनात्मक सुझाव दिनुपर्छ ।

युवा उद्यमीका हिसाबले व्यवसायमा प्रवेश गर्न चाहने नयाँ युवाहरुलाई के सुझाव दिनुहुन्छ ?

तपाईहरु व्यवसायमा लाग्दा धैर्यता, इमान्दारीता, लगनशीलता र सहनशीलता लिएर आउनुहोस्, अवश्य पनि सफल हुनुहुन्छ । अर्को कुरा कुनै व्यवसायमा लाग्दा त्यससम्बन्धी जानकारी तथा सीप सिक्न म सबै नयाँ उद्यमीहरुलाई आग्रह गर्दछु ।

व्यवसायमा नलागेको भए ?

फोटोग्राफर बन्थें होला । अहिले पनि मलाई फोटोग्राफीसम्बन्धी रुचि छ । फुर्सदको समयमा विभिन्न ठाउँमा गएर फोटोग्राफी पनि गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *