साहित्य, पक्षधरता र आजको पुस्ता

  
  प्रकाशित मितिः सोमवार, पुस २१, २०७१       | 187 Views   ||

Pramod_Dhital_writter– प्रमोद धिताल

यतिखेर हामी यस्तो युगमा बाँचिरहेका छौं जुन युग साँच्चिकै जीवनका नौरंगी अनुभवहरुले भरिएको छ । या भनौं मेरो पुस्ता यस्तो पुस्ता हो जसले लय हाली हाली ‘श्रीमान गम्भीर नेपाली, प्रचण्ड प्रतापी भूपति…’ नामको सामन्ती महाराजाहरुको जयगान पनि गायो । त्यही सामन्तवादको लाशलाई काँध थाप्ने अभियानमा राजतन्त्र मूर्दावादको नारालाई पनि सबैभन्दा प्रिय गीत बनाएर गायो । अन्ततः सामन्तवादको लाश पनि यही पुस्ताले बोक्यो ।

मेरो पुस्ता यस्तो पुस्ता हो, जसले आजसम्म अरुकै निम्ति बहादुर भइयो अब आफ्नै निम्ति बन्नुपर्छ भन्दै देश र जनताको साझा सपनालाई आफ्नो निजी सपना बनाएर युद्धमा सामेल भयो । त्यसो गर्दा आफ्नो शीरलाई सगरमाथाजस्तै अग्लो भएको अनुभूति ग¥यो । तर बिडम्बनाको कुरा– त्यही पुस्ताका कैयन् प्रतिनिधि पात्रहरु आफ्नै सपनालाई बागमतीको आर्यघाटमा सेलाएर अनि देशलाई अघोषित कसाहीहरुको हातमा जिम्मा दिएर आज कोही भारतका गल्ली र अरबका खाडीहरुमा पसिना बगाउनलाई बिमानस्थलको लाइनमा उभिएको छ । कोही देशभित्रै भयानक ‘संक्रमणकाल’ भोग्दैछ । यो पुस्ता आजपर्यन्त तमाम पाखण्डहरुसँग जुधिरहन बाध्य छ । यस्तो परिवेशमा पनि एकथरिका निम्ति साहित्य स्वान्त सुखायकै आश्रमस्थल बनेको छ भने अर्कोथरिका लागि जीवन संघर्षको एउटा मोर्चा अनि हतियार ।

आज एकातिर चोरी, चाकडी, मठाधीश, हुल्लडबाज प्रवृत्तिहरु साहित्यको बजारमा दादागिरी मच्चाउन उद्दत छन् भने साहित्यलाई पनि कुरीतिका विरुद्धको एउटा हतियार बनाएर आफ्नो कर्तव्य पूरा गरिरहेको प्रवृत्ति पनि अस्तित्वमा छ । एकथरि हल्लै हल्लाको भरमा पीठोलाई चामलको भाउमा बेचिरहेका छन् ।

अर्कोथरि आफूसँग भएको चामललाई पनि चामल भन्न डराइरहेका छन् । प्रतिरोधको उपदेश दिनेहरुमै सततः आत्मसर्मण र लोलुपता देख्दा यस्तो लाग्छ कि अहिलेको बजार त्यस्तै पात्र र प्रवृत्तिहरुले गरम भएको छ ।

उनीहरु यतिखेरको अग्रगामी यात्राका अभियन्ताजस्ता, उनीहरु यतिखेरको समयका वास्तविक योद्धाजस्ता लाग्ने । तर वास्तविकता यही हो त ? एकथरि लेखकहरु सत्ताको आर्शिवादमा हुर्किएका छन्– चाहे ती सत्ता जुनसुकै खालका किन नहोऊन् ।

अर्कोथरी पार्टी र नेताको फेर पकडेर यस समयका साहित्यिक आन्दोलनका हस्तीको रुपमा आफूलाई उभ्याउन यत्नरत छन् । तर यतिखेरको राजनीतिक परिदृष्य भनेकै असली साहित्य लेखनको भयानक प्रतिपक्ष हो । यसबारेमा उनीहरुले के र कसरी सोच्छन् कुन्नि यसै भन्न गाह्रो छ ।

अनि उनीहरु उत्कृष्ट साहित्य सिर्जना गर्नतर्फभन्दा पनि लेखनलाई आगामी दिनमा प्रज्ञा नामका या यस्तै कुनै गणतन्त्र आइसक्दा पनि सनातनी पुरेत्याईंको बिडो थामिरहेका निकायहरुको ढोकासम्म पुग्ने हैसियत बनाउने कामचलाउ हतियारको रुपमा प्रयोग गर्न चाहन्छन् । यसरी नै उनीहरु राजनीतिक हैसियतलाई आफ्नो लेखनलाई उत्कृष्टताको बनावटी वैधानिकता प्राप्त गराउने हतियारका रुपमा प्रयोग गर्ने सीमाका कैदी बनेका छन् ।

असल लेख्ने अनि इमान्दार पनि एउटा दूरीबाटै संघर्ष गरिरहेका छन् । उनीहरुमै त्यो दम छ जसले आजको समयले माग गरेको लेखनलाई निरन्तरता दिनसक्छ, यदि आत्म संघर्षलाई तिलाञ्जली दिएन भने । हामीले सिक्ने अनि आश गर्ने पनि त्यसैबाट हो ।

मूलधार भनिने साहित्यको प्रदूषित विशाल पोखरीको निम्ति जतिसुकै अछूत किन नठहरियून आउने भविष्यको साहित्यिक महलका जग भनेका काठमाडौंको काँठमै बसेर कुरुपताका पर्खालहरुलाई चुनौती दिइरहेका कवि केशव सिलवाल, बिनोदबिक्रम केसी, अभय श्रेष्ठदेखि संगीतस्रोता, स्वप्नीलस्मृति अनि चितवन उपत्यकाका सरीता तिवारी, भूपिन व्याकुल, हेटौडाका निमेश निखिल, तनहुँका अनिल श्रेष्ठहरु नै हुन् ।

सत्ताधारीहरुको गोप्य खल्तीमा राखिएका लिष्टमा नामविहीन भए पनि हाम्रो आशा र आदर्श भनेका दाङमा बसेर कलम घोटिरहेका यज्ञबहादुर डाँगी, टीकाराम उदासीदेखि लिएर क्षितिज मगरहरु हुन् । भविष्यमा को कहाँ पुग्लान् भन्न सकिदैन तर वर्तमानमाथि भरोसा नगरी भविष्य बन्न असम्भव छ ।

एकथरीहरु साहित्य समाजका सबैखाले अन्तर्विरोधहरुबाट मुक्त सुदूर औं एकान्त प्रदेशको उपज हो भन्छन् तापनि साहित्यको राजनीति रोचक छ । यसलाई बुझेर अनि त्यो अनुरुप आफ्नो कित्ता कता हो त्यो प्रष्ट पारेर मात्र समयप्रति इमान्दार बन्न सक्छौं हामी अन्यथा भूमिका र पहिचानविहीन हजारौंको भीडमा हाम्रो नियति पनि त्यही हुनुलाई किन अनौठो मान्ने ?

हामीकहाँ उमेरका कुरा उठ्छन्, पुस्ताका कुरा उठ्ने गर्छन्, अनि वरिष्ठ कनिष्ठताका कुरा पनि नउठ्ने होइनन् । तर अब यी कुराहरु गरेर बनावटी उँचाइका फूर्ति हाँक्ने युग पुरानो भइसक्यो ।

बरिष्ठ र कनिष्ठ भन्ने कुरा अब उमेर, पुस्ता र कसको बायोडाटामा पद र हैसियतको लामो फेहरिस्त छ भन्ने आधारमा होइन उसको योगदानको आधारमा तय हुन्छ र हुनुपर्छ ।

न उमेरले पाको हुँदैमा सम्मानको अनिवार्य हकदार बन्न र बनाउन जरुरी छ न त उसलाई दुत्कार्न नै जरुरी छ । त्यसरी नै न नयाँ र जल्दोबल्दो पुस्ताको फूर्ति हाँक्दैमा युग हाक्ने हैसियत राख्न सम्भव छ न कसैले उपेक्षाको नाक खुम्च्याउँदैमा उमेरले कनिष्ठ तर कर्मले बरिष्ठ बनेको उपस्थितिलाई निषेध गर्न सम्भव छ ।

यो सम्मानको मापदण्ड केलाई बनाउने भन्ने प्रश्न हो । के युद्धप्रसाद मिश्रको उमेरले डाँडो काट्दैमा उनको युवापनलाई कसैले चुनौती दिन सक्यो र ? के कैयौं उमेरले जीवनको आधा समय पार नगर्दै लत्रिन पुगेका वृद्धहरुलाई कसैले चाहदैमा युवा बनाउन सक्यो र ? यो कुरा ऊर्जा, वैचारिक प्रखरता, आत्मिक एवं भौतिक रुपान्तरण अनि उत्कृष्ट सृजनासँग सम्बन्धित छ, अरुसँग होइन ।

तसर्थ साहित्यमा कुतर्क र बनावटी योगदानको ब्याज खान खोज्ने प्रवृत्तिलाई अबको पुस्ताले दुत्कार्न सक्यो भने मात्र भविष्य थप उज्यालो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *