फेरि आँठो लाग्यो
माक्र्सको बारीमा
थुम्काथुम्की बनाउनु
त्यसमाथि स–सानो कटेरो हाल्नु
कटेरोको मालिक बन्नु
रैतीहरु जम्मा पारेर
नयाँ श्रीपेचधारीको स्वघोषणामा
सही छाप लगाउनु
नियति नै बनेको छ
माक्र्सको बारीमा ।
… …
यो एक्काइसौँ शदिमा
पर्दैन अब लिगलिगे दौडको
दशहरा प्रतिष्पर्धा गर्न
र, पर्दैन अब बिसे नगर्चीहरुसँग
सल्लाह साउती गर्न
पर्दैन अब चन्द्रागिरि र नगरकोटबाट
किर्तिपुरे दरबारको
मुल ढोका चियाउन
र, खाल्डोको नक्सा कोर्न
मात्र कोरे हुन्छ असहमतिका साँवा अक्षर
अक्षरहरुको आगो बालेर घरभित्र
जब आगोले राप होइन
धुँवा उकेल्छ कुइरीमण्डल
धुँवाको मुस्लोमा लपेटिन्छ घर
विलम्ब नगरी निस्किएर घरबाट
लगाउनुपर्छ आँठो
माक्र्सको बारीमा ।
… …
लाउँदै गर नयाँ–नयाँ आँठो
जबसम्म रहन्छ बारीमा
आँठो लगाउने किञ्चित ठाउँ
एक, दुई, तीन, दश, पचास, सय
गन्दै जाऊ आँठोहरु कतिसम्म अट्छन्
आँठो लगाइराख
तिम्रो कामै आँठो लाउने हो
यसैमा छ आनन्द र खुसी
यसैमा छ आँठोको उत्तरसौन्दर्य
न जोत्ने टन्टा÷न खन्ने दुःख
न बाली उमार्नु÷न स्याहार्ने कष्ट
बस, आँठो लगाए पुग्ने
आँठो छ र त तिमी छौ
तिमी छौ र त श्रीपेच छ
श्रीपेचमै छ सान र गौरव
सान हो श्रीपेच नयाँ आँठोको
र त उद्धत छन् मान्छेहरु आँठो लाउन
माक्र्सको बारीमा ।
५ मंसिर २०७१, काठमाडौं