महिलालाई नआएको लोकतन्त्र

  
  प्रकाशित मितिः बुधबार, पुस ३०, २०७१       | 142 Views   ||

Pramod_Dhital_writter– प्रमोद धिताल

घर शान्ति नै विश्व शान्तिको आधार महिला हिंशाविरुद्ध शून्य सहिष्णुता कायम गरौं’ भन्ने मूल नाराका साथ यतिखेर २४ औं लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भैरहेको छ । महिला हिंसाको विरुद्धमा यो अभियान विश्वभर प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चलाइन्छ । नेपालमा पनि यो अभियान विभिन्न अधिकारवादी महिला संघ संस्थाहरु, राजनीतिक पार्टी निकटका महिला संगठनहरुको सक्रियतामा सञ्चालन गरिदै आएको छ ।

हरेक समय, हरेक स्थानमा हुने कार्यक्रमहरुमा व्यक्त हुने चासो र चिन्ताका विषयहरुमा सन्दर्भ फरक भए पनि मुलभूत विषयवस्तुहरु एकैनासका हुने गर्छन् । जस्तो कि महिला उत्पीडन सामन्ती पितृसत्तात्मक समाजको उपज, शिक्षा–चेतनाको अभाव, प्रभावकारी कानूनको कार्यान्वयन नहुनु, महिलाहरु आफै सचेत भएर अगाडि बढ्नुपर्ने, राज्य संवेदनशील हुनुपर्ने आदि । यसो विचार गरि हेर्दा देशका सुगम ठाउँहरुमा सम्पन्न हुने यस्ता कार्यक्रमहरु महिला हिंसाका घाउहरु चह¥याइरहेका खास ठाउँहरुमा पुग्न सकिरहेका पनि हुँदैनन् । अनि केही सरोकारवाला संस्था र पुगिसरी आएका जागिरे शिक्षित महिलाहरुसम्म सीमित कर्मकाण्डझैं लाग्छन् यी अभियानहरु । नेपालको सन्दर्भमा भइरहेका दृश्य तथा अदृश्य महिला हिंसाका घटनाहरुलाई आँकलन गर्ने हो भने अहिले पनि कहालीलाग्दो अवस्था छ । जसले गर्दा १६ दिनमात्र हैन कि वर्षदिनभरी नै महिला हिंसाको विरुद्धमा अभियान चलाउनुपर्ने आवश्यकता छ । किनभने नेपाली समाजमा महिला हिंसा कहाँ र कतिखेर हुन्छ भनेर सोध्नुको कुनै तुक छैन । बरु महिला हिंसा कहाँ र कतिखेर छैन भनेर सोध्नु उपयुक्त हुन्छ । यो यसर्थ पनि जायज छ कि हिंसाका बहुआयामिक रुपहरु छन् । शारीरिक हिंसा त देखिने सहज रुप हो । अन्य धेरै प्रकारका हिंसाहरु जसले महिलाहरु जैविक रुपमा बाँचेर पनि मनोवैज्ञानिक तथा स्वाभिमानको तहमा जिउँदै मृत्युलाई काखी च्यापेर बाँचिरहेको अनुभूति स्वयं उनीहरुले मात्र गरिरहेका छन् ।

भन्नलाई देशमा गणतन्त्र आएको छ, तर गणतन्त्रको सुनौलो बिहानीमा पनि दाइजो नल्याएको आरोपमा श्रीमतीहरु ज्यूँदै जलाइएका छन् । सासू–ससुराको निम्ति नाति र श्रीमान्को लागि छोरा नपाइदिएको आरोपमा तमाम प्रकारका मानसिक एवं शारीरिक यातनाहरुको शिकार भएका छन् । वैज्ञानिक भनिएको युगमा पनि नेपाली समाजमा बोक्सीको आरोपमा महिलाहरुलाई प्रताडित गर्ने कामले निरन्तरता पाइरहेछ । अंश, वंश या पहिचान र गर्भमाथिको अधिकारका कुराहरु गरिदै आए तापनि अंशमाथिको अधिकारको कुरा एकाध दयालु बाबु आमा एवं केही पुरुषार्थी अभिभावकहरुले देखाउने पुरुषार्थ दयामा सीमित भएको छ । पहिचानको कुराले सफलता प्राप्त गरेको छ तर गर्भजस्तो संवेदनशील विषयमाथिको अधिकारबाट धेरै महिलाहरु अहिले पनि बञ्चित छन् । जो यो अवस्थाबाट गुज्रिरहेका छन् उनीहरुको निम्ति विवाह संस्था खुशी र नयाँ जीवनको बहार हैन बरु अभिसाप सावित भएको छ ।

हामी केही राजनीतिक रुपमा सचेतहरु, नेपाली समाजको भाग्य–भविष्यको ठेक्का लिएर अहोरात्र ‘तल्लीन’(?) राजनीतिक नेताहरु कति सजिलै भनिदिन्छौं देशमा गणतन्त्र आयो अब यसलाई संस्थागत गर्नुपर्छ । पहिलो कुरा त गणतन्त्र कहाँ–कहाँ आयो ? कहाँ आएन यसको लेखाजोखा गर्नै बाँकी छ । बिडम्बना ! यसको लेखाजोखा पनि तिनै जोकरहरुले गर्दैछन्– जसका ग्रन्थीहरुबाट अहिले पनि जिम्दारी संस्कृतिको तिखो गन्ध आउँछ । जो अहिले पनि नेपाली समाजको अग्रगामी चेतनाको खिलाफमा छन् । वास्तविक अर्थमा भन्ने हो भने महिलाहरुको लोकतन्त्र आउन अझैं पनि बाँकी छ । किनभने कानूनी रुपमा उनीहरुको पक्षमा केही फैसलाहरु भए तापनि ती पूर्णतः कार्यान्वयनको स्तरमा पुगेका छैनन् । अहिले पनि समाजमा कानूनभन्दा उनीहरुको स्वाभिमानलाई गिराउने सामाजिक मनोवैज्ञानिक अदृश्य कानूनका दफाहरु शक्तिशाली छन् । यसको अर्थ यही हुन्छ कि महिलाहरुले आफ्नो लोकतन्त्र ल्याउने लडाई जारी राख्नुको विकल्प छैन ।

समस्या जहाँ छ जे छ, त्योभन्दा खतरनाक समस्या त्योसँग खेलवाड गर्नुमा हुँदोरहेछ । त्यही भैरहेछ महिला मुक्ति आन्दोलनसँग पनि । जस्तो कि नेपालका महिला अधिकार र स्वतन्त्रताका कुरा गर्ने महिला संघ–संगठनहरु कुनै न कुनै पार्टी, तिनको दृष्टिकोण, प्रशिक्षण, संस्कार, व्यवहार अनि आचारणसँग जोडिएका छन् । त्यहाँसम्म पनि ठीक छ । विडम्बनाको कुरा के भएको छ भने उनीहरुको पार्टीसँगको सम्बन्ध के हुने ? कुन हदसम्म उनीहरु पार्टी–सर्कुलरको निर्देशनमा चल्ने ? अनि उनीहरुको आफ्नै स्वत्व हुने कि नहुने ? भए के–के कुरामा हुने ? यसमा ठूलो अन्योल छ । पार्टी सत्ताको मोलमोलाई अनि यथास्थितिमा रमाउने अनि महिलाहरु पनि कर्मकाण्डी शैलीमा हुने महिला अधिकारसम्बन्धी कार्यक्रमहरुमा हाम्रो मुक्ति भएन भन्दै गुनासो सुनाउने ! के यो नियतिले महिलाहरुको लोकतन्त्र सुनिश्चित हुनसक्छ ? जुन पार्टीहरुसँग आफ्नै गन्तव्यको कुनै ठेगान छैन उनीहरुसँग महिला मुक्ति आन्दोलनको कार्यदिशासँग के सरोकार ? उनीहरुका लागि त भातृ संगठनको नाममा विभिन्न समुदायका मानिसहरुलाई आफ्नो भजन गाउन लगाउँदै सत्ताको भाटमा परिणत गर्नु छ । के यो संस्कृतिको विरुद्ध विद्रोह पनि महिला मुक्ति आन्दोलनको प्रस्थानविन्दु हुनसक्दैन ?

त्यसैगरी समाजमा विद्यमान ठूलो महिला समुदाय (चाहे त्यो शिक्षित हुँदै गरेको किन नहोस्) उसलाई आफूले प्राप्त गर्ने अधिकतम योग्यता भनेको कुनै पठित अनि रोजगार पुरुषसँग विवाहको निम्ति उम्मेदवार बन्नुलाई ठान्छ । के यो नारी दासताको परिष्कृत रुप होइन ? अनि आफैभित्र विद्यमान यो युगीन दासताको विरुद्धको आत्मसंघर्ष महिला मुक्तिको प्राथमिक कार्यभार होइन ? यसको लागि सांस्कृतिक अभियान कसले चलाउने ? कुन साइतमा चलाउने ? कुनै एनजिओ–आइएनजिओहरुको डोनेसनमा सुविधासम्पन्न होटेलहरुमा हुने कार्यक्रमले समाजको भूईँ तहमा नरकको जीवन बाँचिरहेका महिलाहरु जसलाई आफ्नै बारेमा सोच्न र सुन्न पनि गृहस्थी नामको जेल बाधक बनेको छ, उनीहरुको दिमागमा मुक्तिको विजारोपण गर्ने क्षमता राख्न सक्छन् ? त्यसैले महिला हिंसा विरुद्धका यस्ता अभियानहरु सञ्चालन गरिदा सोच्नुपर्ने विषयहरु यी पनि हुन् जस्तो लाग्छ ।

यतिखेरको आवश्यकता भनेको रुपमति होइन रुपमतीलाई चुनौति दिने पात्रहरुको हो । जसले सहनशीलताको आदर्शमाथि आगो सल्काउने आँट गरुन् । सहनशीलताको आदर्शले महिलाहरुलाई यो हदसम्म अबला बनायो भने त्यसमाथि सशक्त धावा बोलेर आफूलाई एउटा सबल र सक्षम मानवमा बदल्नु यतिखेरको महिलाको जीवनको सार्थकता हो । परम्परागत समाजले जुन कुराहरुलाई छाडा र अराजकताको संज्ञा दियो ती कुराहरुलाई आदर्श बनाएर अगाडि बढ्नु एउटी क्रान्तिकारी महिलाको यतिखेरको दायित्व हो । पुरुष सत्तावादी सामन्ती समाजले बारेका बारबन्देजहरुलाई जति भत्काउन सक्यो ऊ त्यति नै मुक्त र स्वतन्त्र हुनसक्छे । महिला मुक्ति आन्दोलनको एउटा सशक्त प्रतिरोधी तथा नेतृत्वदायी सत्ता खडा हुन नसक्नु यतिखेरको महत्वपूर्ण चुनौति हो । अभियानात्मक र कार्यक्रममुखी संघ संस्थाहरुले महिला मुक्ति आन्दोलनको मूल अगुवाई गर्न सक्दैनन् । त्यसको लागि आन्दोलनमुखी प्रतिरोधी महिला संगठनहरुकै अगुवाई जरुरी छ । त्यो कसरी सम्भव हुन्छ ? यसतर्फको चासो, चिन्ता अनि सार्थक परिणामुखी बहस महिला आन्दोलनमा समर्पितहरुले नै उठान गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *