पहिलोपल्ट जहाजमा | दीपक घिमिरे

  
  प्रकाशित मितिः बुधबार, पुस ३०, २०७१       | 140 Views   ||

Dipakनजिकबाट हेलिकप्टर नदेखेको म आज जहाज चढ्दैछु । त्यो पनि बोइङ रे । दुइ सय पचास जना मान्छेलाई उडाएर अर्को देशमा लग्न सक्ने क्षमताको जहाज ।

विमानस्थल पनि नदेखेको मेरो लागि सबै कुरा नयाँ नै थिए । लोकल बस चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटसम्म गएँ । त्यो भन्दा माथि एअरपोर्टसम्म सित्तैमा ट्याक्सीले लगिदिदोरहेछ तर आफुलाई त्यो थाहा भएन । गाउँघरमा हुँदा काठमाडौंका ट्याक्सीहरुले ठग्चन् भन्ने सुनेको । मनमा डर भएर हिडेरै माथितिर उक्लिएँ ।

‘भाइ आउ बस, म पु¥याइदिन्छु, पैसा लाग्दैन । चिन्ता नगर । जति पनि ट्याक्सी भेटिन्थे, सबैले अनुरोध गर्दथे । तर म भने नाइ जादिनँको संकेत मुन्टो हल्लाएर दिन्थे । पछि थाहा पाएँ, ती ट्याक्सीहरु खाली एअरपोर्टसम्म जान नपाउँदा रहेछन्, त्यसैले उता को प्यासेञ्जरबाट रुप्पे कमाउनको लागि पो यताबाट सित्तैमा लग्दा रहेछन् ।

बिल्कुलै नयाँ ठाउ मेरा लागि एयरपोर्ट । कता के गर्नुपर्छ, कताबाट भित्र छिर्ने हो केही थाहा छैन । र साथी पनि छैन । एक्लो छु, अनि एक हात सानो झोला छ । अर्को हातमा पासपोर्ट र टिकेट । जनयुद्धले ग्रस्त बनाएको देशमा पुलिस देख्नासाथ कट्टुमै पिसाब आउने जस्तो हुन्छ । अझ त्यसैमा एयरपोर्टभरि जम्मै पुलिस मात्र । पुलिसलाई के कसरी भित्र जाने भनेर सोध्ने आँट भएन । एक जना म भन्दा अलि पाको उमेरको टाइ सुटवाला तोरीलाउरेलाई आफु दुबई जान लागेको र कुन गेटबाट कसरी भित्र छिर्ने पत्तो लाउन नसकेकोले सहयोग गर्न भनें । मेरो बलियो किस्मत ! उनी पनि दुबई नै जान लागेका रहेछन् । एकै जहाजबाट हाम्रो उडान थियो दुबईका लागि ।

अब मलाई कुनै टेन्सन भएन । धेरै पटक आउजाउ गरिसकेका उनैको पछि लागें । ‘खै त लगेज’ लाइनमा बसेर भित्र छिर्दै गर्दा उनले प्रश्न गरे । म अक्क न बक्क परे । यो लगेज भन्या के रै’छ कुन्नी मलाई थाहा भएन । उनले फेरि मेरो सामान खै ? झोलाहरु खै भनेर स्पष्टसँग सोध्दा बल्ल थाहा भयो लगेज भन्या त सामानका पोका पो रहेछ । बिदेश जाँदा आउँदा ल्याउने अनि लैजाने । पिठ्यूँमा भिरेको सानो झोला देखाउँदै आफ्नो लगेज यही भएको सुनाएँ । उनी खिस्स हाँसे, केही बोलेनन् । सायद मनमनै बिचरो भने होलान् ।

सिसै सिसाको गेटबाट पुलिसलाई टिकेट र पासपोर्ट देखाउँदै भित्र छिरें । उनले जस्तो गर्छन् मैले नि त्यस्तै गर्छु । एकापट्टिबाट झोला छिराउँछन्, अर्कोपट्टिबाट निकाल्छन् । मैले पनि त्यस्तै गरें । पुलिसले मेरो झोला सजिलै लग्न दिएन । पुलिसले फेरि उताबाट हाल भन्यो । फेरि घुमेर झोला हालें । टुटुको आवाजले गर्दा पुलिसले झोला लान दिएन । झोलामा लगाएको ताला खोल्न भन्यो । खोलिदिएँ । छामछाम छुमछुम गरेर झोलाको खानतलासी गर्दा पुलिसले मेरो झोलाबाट नङ कट भेटायो । त्यो आफूसँग राखेर फेरि झोला उताबाट हाल भन्यो । त्यसैगरी हालें । यो पटक टाँटाँटुटु केही गरेन अनि झोला लगेर जान दियो तर नङकट लान दिएन ।

त्यो भन्दा अगाडि गए’सी बोइङ पास लिने ठाउँ रहेछ । अगाडि झोला चेक गर्ने ठाउँमा मलाई छाडेका ती तोरीलाउरे यही बोइङ पास लिने ठाउँमा भेटिए । यतिबेला पनि मेरो नसिब नै भन्नुपर्छ जहाजको सिट पनि सँगै प¥यो  । यताउताको प्रक्रिया पु¥याएर जहाज प्रतिक्षा गर्ने कोठामा बसियो ।

हामलाई दुबईसम्म पु¥याउने जहाज धावन मार्गमा आएर बस्यो । जानकारहरु सबैले ‘उ जहाज आयो भन्दै खुशीका दाँत देखाए । म पनि खुशी नै थिएँ– पहिलो पटक जहाज हेर्न मात्र होइन चढ्न पनि पाएकोमा । मानिसहरु परदेशीदा रुन्छन् भन्थे । गीतहरुमा पनि नेपाल, अनि आफ्नो परिवार छाडेर जानुपर्दाको पीडा देखाइएको हुन्थ्यो तर ममा पीडा होइन खुशी थियो । धन कमाउने खुशी अनि जहाज चढ्ने खुशी ।

डेढ घण्टाको बसाइपछि हाम्रो जहाजले प्यासेञ्जर भर्ने पालो आएछ क्यारे । एक जना हाकिम सा’व आएर कराए । सबै जना ठेलमठेल गरेर जहाजमा जाने ढोकाबाट बाहिरियौं । बाहिर सानदार बिदेशी बस थियो । हिडेर एक मिनेटमा पुगिने जहाजसम्म पनि हामलाई त्यही बसमा राखेर लगियो जहाजको भ¥याङसम्म ।

भ¥याङबाट जहाजमा उक्लिनको लागि सभ्य तरिकाले लाइनमा बसियो । पालैपालो गरेर जहाजमा उक्लियौं ।

मेरो पालो आयो– कहिले नदेखेको जहाजमा उक्लिएँ । जहाजको ढोकैमा सुन्दर ! अति सुन्दर दिदी मलाई नमस्कार गर्दै उभिएकी थिइन् । मलाई चिनेकी रै’छन् भनेर खिस्स हाँसे । तर ती दिदी त एयर होस्टेज पो रै’छन् । तीनको काम नै सबैलाई नमस्कार गर्दै स्वागत गर्ने । तीनलाई नमस्कार फर्काउँदै अगाडि बढें । अलिकति अगाडि अझ राम्री अर्की दिदीले पनि त्यसैगरी नमस्कार भन्दै टिकट मागिन् । बोइङ पासमा भएको सिट नम्बरकै आधारमा प्यासेञ्जरलाई बसाल्ने तिनको काम रै’छ । मेरो सिट झ्यालतिर रहेछ । मलाई मेरै सिटमा बसालिन् । तीन जनाको सिटमध्ये बीचको सिट तोरीलाउरेकै रहेछ, खुशी लाग्यो ।

धेरै बेरको प्रतिक्षापछि जहाज नेपालको आकाशमा उड्यो । जहाजसँगै मेरो मन पनि माथि–माथि उड्यो । मनमा सपनाहरु खेलाउँदै रमाइलो मान्दै आकाशमा उडिरहें ।

जहाजमा टन्न मिठो–मिठो खान पाइन्छ भन्ने त पैला नै सुनेको थिएँ । त्यसैले कतिबेला खानेकुरा ल्याएर दिन्चन भनेर कुरिरहें । जहाज उडेको एक घण्टापछि दुइ तिरबाट खानाका परिकारहरु आए । सानो ट्रलीमा राखेर सबैलाई के लिने सर/मेडम ? भन्दै ती दिदीहरु आए । अलि लजालु स्वभावको भएको हुनाले मैले के माग्ने होला भनेर सोच्दै थिएँ, ती तोरीलाउरेले नै दुइ क्यान बियर मागे । एक मेरा लागि रहेछ– कहिले बियर नखाएको मलाई पनि एक क्यान थमाए ती तोरीलाउरेले । खान्न सर भनें तर उनले मानेनन् । कर गरेरै भए पनि खुवाइछाडे बियर । अनि खाना मागे, सानो डब्बामा प्याक गरेको खाना मिठो मानेर खाइयो अनि निदाइएछ ।

‘ओइ भाइ उठ, हेर त ! आकाशबाट दुबईको शहर ! तोरीलाउरेले घच्घचाउँदै उठाए’सी आँखा मिच्दै सिसाबाट तलतिर हेरें । अहो ! कति सुन्दर रातीमा पनि । ताराजस्तो देखिने जताततै बत्ती नै बत्ती । ‘सिटी अफ लाइट’ भन्ने शहर नै दुबई हो । अनि किन नहोस् त त्यति राम्रो । दुबईको आकाश मा एक फन्को मारेर जहाज दुबई इन्टरनेसनल एयरपोर्टमा अवतरण ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *