जुकाहरु | घनश्याम अस्तित्व

  
  प्रकाशित मितिः बुधबार, पुस ३०, २०७१       | 165 Views   ||

Ghanshyam Astitoअझै
बिगबिगी छ यहाँ– जुकाहरूको

असार साउनको झरीभरि थाक्दै नथाकेर
पसिनाले माटो मोल्दै साठी मुरेको फाँट जोत्ने
रामे कामीको घरमा उसै गरेर आवज–जावत गर्छन्
अनिकालका साँझ र बिहानहरू

एकमुठी चामलको आसमा
सिलाइरहेछ गाउँभरका लत्ता कपडाहरू– दमाइ
पु¥याइरहेछ राजकुलोको बैठक बस्ने खबर घरघरमा– कट्वाल
र, ठटाइरहेछ आरनमा अष्टमी मनाउने भाँडाहरू– एक कामी

साहुको ऋणै ऋण र गरिबीले डामिएको
धनप्रसादले बल्ल तल्ल हुर्काइरहेछ
एकैनासका तीन भाइ छोराहरू– दिल्ली पठाउन

प्रवेशिका उत्तीर्णपछि क्याम्पस हिड्ने ठिटो
पसिरहेछ मुग्लानतिर– बाबुबाजेका पालाको ऋण तिर्न

प्रत्येक बिहान साँझ गइरहन्छे
सुन्तली चौधरी रने साहुको घरमा– तेल लगाउन

चार चार महिनाको ब्याज नतिरे
बर्षदिनमै साँवा दोब्बर हुने शर्तमा पनि
सयकडा पाँच काढेर उड्न बिवश छन्
त्रिभुवन विमानस्थलबाट–
युवानारायणहरु खाडी मुलुकतिर

पैसाको झोला भिराएर
पठाउन सकेको छैन श्यामेले बोर्डिङ स्कूल
सरकारी स्कूल जान नमान्ने आफ्ना नानी बाबुहरू

‘यो देश कुन हो ?’
चिन्न सकिरहेका छैनन्
भोकसँगै हुर्किरहेका– सडक बालबालिकाहरू

बिकास र निकास पुग्न सकेनन्– गाउँ–गाउँमा

फैलिरहेछन् बनमारा झारझैं
यो देशको आँगनमा– चिचिकोभहरू

तातिएकै हो सहरमा– समानताको बहस
छेंडिएकै हो दश बर्ष युद्ध– जुकाहरूको विरुद्धमा
चलेकै हो जुका उन्मुलनको– लोकतान्त्रिक खोप अभियान
तर पनि
अझै बिगबिगी छ यहाँ– जुकाहरूको ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *