मैनसँग एक रात | माधव ढुंगेल

  
  प्रकाशित मितिः बुधबार, पुस ३०, २०७१       | 686 Views   ||

Madhav Dhungel-1नरम उज्यालो । मन्द सुगन्ध । मैन मसँग धेरै समय सँगै हुन्छ तर यो मबाट टाढा भएको रहेछ । सँगै भएका धेरै कुरा मबाट टाढा रहेछन्, जस्तै– पत्नीभित्रको मातृत्व, बाबुआमाको प्रताडना र सन्तानहरुको स्वायत्तता ।

मैले मैनलाई यसरी कहिल्यै हेरेको रहेनछु । मैनको मौन संवाद कहिल्यै सुनेको रहेनछु । मैन बालेर म किताबतिर फर्कन्थें वा कामतिर लाग्थें । मैन पर बसेर मलाई उज्यालो छर्दो रहेछ । काममा सहयोग गर्दो रहेछ । तर मैले त्यसलाई सधैं आफूभन्दा परै राखें । बिजुलीको चहकिलो प्रकाशको प्रतीक्षा गरें । कहिलेकाहीं आउने बिजुलीलाई माया गरें । मैले मैनलाई सधैं उपेक्षा गर्दै आएँ ।

रातको दश बज्दा मैनबत्ती मेरो साथी भएको छ । टाढा कतै कुकुरहरु भुकिरहेका छन् । भित्ते घडीको एकोहोरो ट्याक ट्याक उसले पनि सुनेको छ, मैले पनि सुनेको छु । हामी दुबै केही बोलिरहेका त छैनौं फेरि पनि मेरो बोल्ने साथी यतिबेला अर्को कोही छैन । छोटो आयुमै एउटा मैन सकिन्छ, मर्छ र म अर्को चोखो मैन त्यसैको टाउकामा टाँस्छु, थिच्छु र उभ्याउँछु । आजको एकै रातमा कति मैनहरु यसरी सल्किरहेका होलान् ? कति मैनहरु यसरी सकिइरहेका होलान् ?

मैनको उज्यालामा मान्छेहरु मात्तिएका पनि छन् । मैनकै उज्यालामा आमाहरु बच्चालाई दुध खुवाउँदै छन् । यसकै उज्यालामा कसैले औषधि बिर्कामा खन्याउँदै छ । यसैका उज्यालामा कसैले कविता लेखिरहेको होला । मैनले सबैलाई देखेको छ, मानिसहरुले गरेका कामहरु देखेको छ । मानिसका अनिद्राहरु र रातका जीवनहरु देखेको छ । धेरै मानिसले नदेखेका दृश्यहरु मैनले देखेको छ र पनि यसले कसैलाई पोल लाएको छैन । आजसम्म संसारमा कति मैनहरु बालिए होलान्, कति मैनहरु सकिए होलान्, मैनले कसैलाई बिगारेको छैन । आज मलाई किन–किन पग्लिएका मैनहरुको माया लागिरहेको छ । सकिएका मैनहरुको स्मृतिमा मन एकदम शून्य र उदास भएको छ ।

हाम्रो समाजमा एकखाले मानिसहरु केही बोल्दैनन् । निरन्तर काम गरिरहन्छन्, पसिना बगाइरहन्छन् । यिनीहरु हजारौं फुल पारेर पनि शान्त रहने गम्भीर कछुवा जस्ता छन् । अर्काथरी मानिसहरु कुखुराका पोथी जस्ता पनि छन् जो एउटा फुल पार्नेबित्तिकै धुरीमा चढेर कोर्कोराउन थाल्छन् । सबैलाई सुनाउँछन्– ऊ फुल पारेकी पोथी हो । उसले भर्खरै नयाँ अन्डा यो विशाल संसारलाई सुम्पिएकी छ । बिलकुल नयाँ र महत्वपूर्ण अन्डा जो संसारमा पहिलोचोटि पदार्पण गर्दैछ । बदलामा मान्छेले अब उसलाई मकैका पोसिला दाना खुवाउनै पर्छ ।

कुखुराका पोथीको तर्क हुन्छ– नरोइकन त बच्चाले आमाको दूध पनि पाउँदैन । भोकाएको कुरा सुनाएन भने खुवाउने झन्झट कसले गरोस् ? त्यसैले कुखुराले कराउनै पर्छ, तब मात्र कसैले चारो हाल्छ । कछुवालाई यो कुरा थाहा छैन । ऊ त पानीमुनि बाँच्न बानी परेको जीव । बाहिरको हल्ला उसले बुझेको छैन । उसलाई कसैले मकैको चारो दिएको पनि आजसम्म थाहा छैन । जति खायो, मिठो नमिठो जे खायो, उसले आफैले खोजेर खाएको छ । कसैको अपुताली खाने कानुन पानीको संसारमा नचल्दो रहेछ ।

मेरा केही साथीहरु कछुवाजस्ता छन्, केही अग्रजहरु कुखुराजस्ता छन् । कुखुराहरुले हामीलाई गीत सुनाउँछन्, उल्याउँछन्, जिस्क्याउँछन् । हामी गीतको माधुर्यमा आफ्नो समय फालिरहेका छौं तर कुखुरा होइन रहेछौं । गीत गाउनै भने सकिरहेका छैनौं । उनीहरुले खाएको चारो हेरेर हामीलाई गीत गाउने रहर पनि लाग्छ तर त्यो गर्न हामीसँग कलात्मक गला छैन । हामीसँग धुरीमा पुग्ने शक्ति छैन । भुइँबाट हामी गीत त सुन्छौं, अरुले ताली बजाएको पनि सुन्छौं तर सुनेको गीतले पेट भर्दैन । भोको पेटमा हामी ताली बजाउन पनि सङ्कोच मान्दा रहेछौं । हामीलाई के को उल्लास, के को उत्साह र हामी कुखुराको गीतमा कम्मर भाँचूँ ? हामी न त ताल अनुसार नाच्न जान्ने मयुर भयौं न त आफै गीत गाएर मकै खोज्ने कुखुराका पोथी ।

हामी कछुवा पनि हुन सकेनौं । कुखुराको संसारबारे थाहै नभएको लाटो पनि हुन सकेनौं । जे जति थाहा पाइएको छ, त्यसका आधारमा कुखुरालाई महान् भन्न सक्ने उदार पनि हुन सकेनौं । हामी त्यसैले पनि टाढा बसेर अहिलेको संसारलाई हेरिरहेछौं । बरु हामी मैन भएर बिस्तारै सकिँदै गइरहेछौं ।

बिहानदेखि बेलुकासम्म निरन्तर हामी सल्किएकै छौं । मैन रातको अँध्यारामा सल्किन्छ, हामी दिनको उज्यालामा ज्यादा बल्छौं । बिहानदेखि बेलुकासम्म निरन्तर घोटिन्छौं, कुद्छौं, परिश्रम गर्छौं र तलब थाप्छौं । एकचोटि थापेको तलबले महिना दिन बाँच्ने प्रयास गर्छौं । भर्खरै एकजना साथीले भन्थ्यो, हामी साहुको काम गरिदिन बाँचेका हौं । हामी म¥यौं भने उसको काम रोकिन्छ, उसको नाफा घट्छ, त्यसैले तलबका नाउँमा उसले हामीलाई सदासर्वदा बचाउनै खोज्छ । मर्न दिँदैन र आफ्नै लागि बाँच्न पनि दिँदैन । जागिरले हामीलाई नोकर बनाउनका लागि एक महिनासम्म अल्झाइरहन्छ । जागिरले हामीलाई खटाएर त्यत्ति नै पैसा दिन्छ जति पैसाले हाम्रो दुखिया जीवन गुजारा हुन्छ । जिन्दगीभरि जागिर खान्छौं र केही नै नकमाई निवृत्त हुन्छौं । काम छोड्यो कि त ज्यान छुट्छ, ज्यान बचाउन खोज्यो भने त्यो सबै साहुको, हाकिमको, मालिककै लागि खर्चिनुपर्छ । हामीलाई फुर्सदमा बस्ने छुट छैन, रमाइलो गर्ने छुट छैन, दुई पैसा तलब बढ्छ कि भनेर चाकरीमा रमाउनु पर्ने बाध्यता छ । कहिलेकाहीं त यस्तो लाग्छ, हामीले बिरामी हुन पनि पाउँदैनौं ।

आज मलाई उत्ताउलो हुने रहर छैन । मलाई प्रतिक्रिया दिइहाल्ने हतारो छैन । सबैका आफ्ना–आफ्ना सोचाइ छन्, बुझाइ र दौडधुपहरु छन् । म यी सबैलाई हेर्ने फुर्सद निकालिरहको छु । साथीहरुलाई म भनिरहेको छु– मलाई एकैछिन फुर्सद देऊ । मलाई एकैछिन एक्लै छोड । म कछुवा हुँ कि कुखुराको पोथी ? मलाई एकैछिन सोच्न देऊ । के का लागि यो संसारमा छु, किन म इच्छामरण रोजिरहेको छैन ? एकैछिन मलाई गम्न देऊ । मैले खोजेको जीवन के हो ? मैले रोजेको सपना के हो ? एकैछिन मलाई सम्झन देऊ । यो महानगरको घच्चाघमासानमा धेरै थोक मलाई छुटेझैं लाग्दै छ ।

मैन ! तेरो मौनता मलाई लोभलाग्दो हुँदै गएको छ । तेरो शालीनता मलाई इष्र्या लाग्दो बन्दै गएको छ । म पनि हिजो तँ जस्तै असल थिएँ मैन । आज म आफूलाई निठूरी बनेको पाउँदैछु । हिजो म पनि तँ जस्तै शान्त थिएँ, आज म आफैलाई रिसाहा बनेको पाउँदैछु । म एकछिन नरिसाइकन बस्न खोज्दैछु । मान्छेहरुको यात्रा कता जाँदैछ उनीहरुलाई टाढै बसेर हेर्न खोज्दैछु । कसको कामको के मोल रहेछ, कसैलाई नसोधी बुझ्न खोज्दैछु । आज म गफाडी छैन मैन, म धेरै–धेरै बोलेर थाकिसकें । आज म अहँ हाँस्ने छैन, मलाई मेरै हाँसो सस्तो लाग्न थालेको छ । आफ्नै सपनाहरुले गिल्ला गरेको बेला आज म अरुलाई जिस्काउने छैन । आजको दिन अहिले नौलो लाग्दैछ । बोलेका आवाजहरु हलुका लाग्दैछन्, देखेका दृश्यहरु नमिठा लाग्दैछन् । आज कसैको गफमा कुनै मिठास छैन । शब्दहरु आज निकम्मा लाग्दैछन् ।

आजको सङ्गीत शब्दबिनाको होस्, आजको साहित्य आग्रहबिनाको होस् । शब्दहरु, आग्रहहरु अहिले कमजोर लाग्दैछन् । मौनता अहिले बलियो, बलियो र अझै बलियो हुँदै गएको छ । नीरवता अहिले प्रिय, प्रिय र झनै प्रिय हुँदै गएको छ । अहिले म त्यस्ता मान्छेहरु भेट्न चाहिरहेको छु जससँग कुनै भाषा छैन र पनि जीवन छ, जससँग भन्नु र सुन्नु केही छैन खाली बुझ्नु छ । म पहाडहरु खोजिरहेछु जो अग्लिरहेका छन् तर कसैलाई धाक सुनाइरहेका छैनन् । त्यस्ता हाँसहरु, बाख्राहरु, सुँगुर र चीलहरुलाई एकैचोटि भेट्न चाहिरहेको छु जसले कसैलाई केही भन्न सक्दैनन् र फेरि पनि धेरै कुरा भन्न सक्छन् । म बोक्सीहरु, कविहरु, पूर्वराजा र आफैलाई भेट्न चाहिराखेको छु जसका आँखामा मैले धेरै बेरसम्म अडिएर गहिरो गरी हेर्न सकूँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *