दाङ । संरक्षण नुहँदा कुसुण्डा जातिको भाषा र संस्कृति लोप हँुदै जान थालेको छ । बेग्लै भाषा र संस्कृति बोकेको यो जातिका युवाहरुले भाषा र संस्कृति जोगाउन नसक्दा आफ्नो परम्परा नासिन लागेकोमा कुसुन्डा जातिका अगुवाहरु चिन्तित बन्न थालेका छन् ।
जंगललाई नै मुख्य कर्म थलो मान्ने यो समुदायलाई वन राजाको रुपमा समेत चिन्ने गरिन्छ । जंगलमा फिरन्ते जीवन बिताउँदै गिठा, तरुल र भ्याकुरका साथै चराचुरुङ्गी मारेर जीवनगुजारा गर्ने कुसुण्डा समुदाय २०३६ सालदेखि भने गाउँमा बस्दै आएका छन् ।
समाजसँग अन्तरघुलन भएसँगै आफ्नो भाषा, परम्परा र संस्कृति लोप हुन थालेकोप्रति कुसुन्डाहरु नै चिन्तित बनेका छन् । जंगलमा बसाई सुरक्षित नभएपछि २०३६ सालमा गाउँ छिरेदेखि नै आफूहरुलाई समाजले हेप्न थालेको र आफ्ना परम्परागत भाषा, संस्कृति पनि लोप हुँदै गइराखेको नेपाल कुसुण्डा विकास समितिका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुण्डा बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ– ‘सामाजिक रुपमा हामीहरुलाई हेप्न थालेपछि हाम्रा मौलिक भाषा र संस्कृतिलाई प्रयोग गर्न नदिई लोप हुने अवस्थामा पु¥याइयो ।’ जंगलमा बस्दा आयश्रोतको बाटो नभेट्टाएर गाउँ पसेका आफूहरु आजसम्म पनि अलपत्र अवस्थामै रहेको धनबहादुरको भनाई छ । २०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा २ सय ७३ जनाको संख्यामा रहेका कुसुण्डाहरुमध्ये करिब करिब सबैले आफ्नो सबै भाषा, संस्कृति, भेषभुषा बिर्सिसकेका छन् । उसो त देउखुरीको चैलाहीमा बस्दै आएकी ज्ञानीमाया कुसुन्डामात्रै कुसुन्डा भाषा जानेकी व्यक्ति मानिन्छ ।
परम्परागत भाषा र संस्कृति संरक्षण गर्ने उद्देश्यले २०६६ सालमा कुसुण्डा विकास समिति गठन गरी संस्थागत रुपमा अगाडि बढेको संस्थाका अध्यक्ष धनबहादुर बताउनु हुन्छ । आफूलाई समाजबाट नै अपहेलित भएपछि कतिपय कुसुन्डा समुदायका युवा, युवतीले आफ्नो थर लुकाएर अन्य समुदायको थर लेख्न थालेको उहाँले बताउनु भयो । लोपोन्मुख समुदायलाई सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि भने बिस्तारै कुसुन्डा समुदायका मान्छेहरु खुल्न थालेको उहाँले जानकारी दिनुभयो ।
सरकारले दिने मासिक एक हजार र दैनिक ज्याला मजदुरी गरेर कुसुन्डा समुदायका मानिसहरुले दैनिक जीवन गुजारा गर्दै आएका छन् । सरकारले नै लोपोन्मुख समुदायको सूचीमा कुसुण्डा जातिलाई सूचीकृत गरेको बताउँदै धनबहादुरले समितिका तर्फबाट कुसुन्डाहरु कुन–कुन ठाउँमा छन् भन्ने खोजी पनि गरिरहेको बताउनुभयो । दाङमा एक सयको संख्यामा रहेका कुसुन्डाको तथ्याङ्क अन्य जिल्लामा भने सङ्कलन कार्य भरहेको धनबहादुरले जानकारी दिनुभयो ।
वनराजाको रुपमा परिचित कुसुन्डाहरु कुनै बेला जंगलमै फिरन्ते जीवन बिताए पनि एकै ठाउँमा बस्न थालेपछि उनीहरुको एकीन डाटा लिन गाह्रो भएको सरोकारवाला क्षेत्रहरु बताउँछन् । तैपनि दाङ, बर्दिया, कैलाली, रोल्पा, प्यूठान, रुकुम, सुनसरी, मोरङ, काठमाण्डौ, सुर्खेत, कपिलवस्तु, अर्घाखाँची, तनहुँ, गोरखा, कपिलवस्तु, मकवानपुर, इलाम, सिन्धुली, झापा, डडेलधुरा, दैलेख लगायतका जिल्लामा कुसुन्डा समुदायको बसोबास रहेको कुसुन्डा विकास समितिका अध्यक्ष धनबहादुर दावी गर्नुहुन्छ ।