सरकारको नीतिका कारण लगानी बढ्न सकेन

  
  प्रकाशित मितिः बुधबार, पुस ३०, २०७१       | 179 Views   ||

Bhupal Giri– भुपाल गिरी (कार्यकारी प्रमुख)
नमस्ते बित्तीय संस्था लि. घोराही, दाङ

नमस्ते बित्तीय संस्थाको कारोबारको स्थिति कस्तो छ ?

नमस्ते वित्तीय संस्थाले २०६४ असारदेखि बैङ्किङ कारोबार शुरु गरेको हो । ४५ जना संस्थापकको ५१ लाख रुपैयाँ संकलन गरेर संस्था शुरु गरिएको हो । चुक्ता पूँजी २ करोड रुपैयाँ संकलन गर्ने हाम्रो लक्ष्य थियो । हामीले शुरुमा राप्तीका दाङ, रोल्पा र सल्यानलाई कार्यक्षेत्र बनाएर स्थापना गरेका हौं । यही बजेटबाट संस्था स्थापना, सञ्चालन खर्च र कार्यालय व्यवस्थापन गरिएको हो । हामीले शुरुदेखि ८ जनालाई प्रत्यक्ष रोजगारी दिएका थियौं ।

आगामी पुस १९ गते संस्थाले आठौं साधारणसभा गर्दैछ । अहिले चुक्ता पूँजी ३ करोड १२ लाख ५० हजार पुगेको छ । त्यसमध्ये संस्थापकको ६० प्रतिशत र जनताको ४० प्रतिशत रहेको छ । संस्थाको सञ्चित कोष १ करोड २५ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०६९÷०७० मा हामीले २५ प्रतिशत शेयर थप र १० प्रतिशत रकम वितरण ग¥यौं । आर्थिक वर्ष २०७०/०७१ को १० प्रतिशत मुनाफा वितरण गर्ने बोर्डबाट निर्णय भएको छ । यसलाई राष्ट्र बैङ्कले समेत स्वीकृति दिइसकेको छ ।

मोफसलमा रहेर काम गर्न कत्तिको अप्ठ्यारो रहेछ ?

नेपालमा अहिले क, ख, ग र घ वर्गका बैंकहरु छन् । हामी ग वर्गमा रहेर काम गर्छौं । स्थापनाकालमा हामीले तीन जिल्ला कार्यक्षेत्र बनाए पनि अहिले हामी दाङ जिल्लामा मात्र सीमित भएका छौं । हामीले काम गर्ने भनेको मध्यम वर्गीय र निम्नमध्यम वर्गीय मान्छेहरुसँग रहेर हो । हामीले ठूलो पूँजीको कारोबार गर्नै सक्दैनौं ।

हामीसँग साना कृषक तथा साना व्यवसायीहरु रहनुहुन्छ । सानो पूँजी भएकाले ठूला बैङ्कको तुलनामा हामीलाई जोखिम पनि कम छ । अहिले पनि ग्रामीण क्षेत्रका विपन्न किसानहरु ठूला बैङ्कमा गएर निर्धक्कसँग कुरा गर्न सक्दैनन् । ठूला बैङ्कको कार्यशैली र आम तल्लो तहका विपन्न वर्गको कार्यशैली मिल्दैनन् । उनीहरु ठूला बैङ्कको कार्यालयसम्म पुग्न हिच्किचाउँछन् । तर, हाम्रो जस्तो सानो बैङ्कमा किसानहरु सहजै आउन र आफ्ना कुराहरु राख्न सक्छन् ।

नमस्ते वित्तीय संस्थाजस्ता साना बैङ्किङ कारोबार गर्ने संस्थाहरुले आम जनतालाई बैङ्कको पहुँचसम्म पु¥याएका छन् । हाम्रो उद्देश्य नै ग्रामीण क्षेत्रका किसानहरुसँग काम गर्ने भएकाले काम गर्न सजिलै भएको छ ।

शुरुमा तीन जिल्ला कार्यक्षेत्र बनाउनुभएको थियो । अहिले किन दाङमा मात्रै सीमित हुनुभयो ?

हामीले कार्य क्षेत्र तीन जिल्ला बनाए पनि काम भने दाङमा मात्रै गर्दै आएका थियौं । राष्ट्र बैङ्कको नीतिका कारण हाम्रो कार्यक्षेत्र खुम्चिएको हो । शुरुमा तीन जिल्लामा काम गर्न २ करोड रुपैयाँ मात्र भए पुग्दथ्यो । तर, अहिले राष्ट्र बैङ्कले नीतिगत रुपमै २० करोड रुपैयाँ पु¥याउनुपर्ने नीति अवलम्वन गरेपछि हाम्रो कार्यक्षेत्र संकुचित भएको हो । संस्थाले तत्काल २० करोड रुपैयाँ पु¥याउन सक्ने अवस्था नै भएन । त्यसैले हामीले अन्य दुई जिल्लालाई कटौती गरेर दाङमा संकुचित भएका हौं । दाङमा पनि घोराहीमा केन्द्रीय र शाखा कार्यालय रहेको छ । अन्य स्थानमा हाम्रो शाखा छैन ।

तपाईहरुको कुन क्षेत्रमा लगानी बढी छ ?

विशेष गरे बैदैशिक रोजगारीमा जानेहरु हामीकहाँ ऋणका लागि आउने गर्छन् । त्यसैगरी ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा जग्गा तथा घडेरी र आवास निर्माण गर्नेहरुले ऋण लगिरहेका छन् । साना किसानहरुले पनि ऋण लगिरहेका छन् । विशेष गरेर तरकारी खेती, माछापालन, कुखुरा र बाख्रा पालनमा पनि ऋण प्रभाव भइरहेको छ । सामाजिक संस्कारहरु विवाह, जन्म, मृत्युजस्ता अत्यावश्यकीय कामका लागि पनि ऋण प्रवाह भइरहेको छ ।

व्याजदरको अवस्था कस्तो छ ?

हामीले कर्जामा १४ देखि साढे १६ प्रतिशतसम्म व्याज दिइरहेका छौं भने बचतमा ६ देखि १२ प्रतिशत सम्म व्याज दिइरहेका छौं । साधारण बचतमा ६ प्रतिशत र मुद्धती तथा अक्षयकोषमा १२ प्रतिशत व्याज उपलब्ध गराइरहेका छौं । आवास, उद्योग र कृषिमा १६ प्रतिशत व्याजदर रहेको छ । सामाजिक कर्जामा १६.५० प्रतिशत व्याज लिइरहेका छौं ।

तपाईहरुले सबैभन्दा बढी घर जग्गाजस्तो अनुत्पादक क्षेत्रमा लगानी गर्नुभएको देखिन्छ । किन यस्तो क्षेत्रमा लगानी गर्नुभएको हो ?

कुनै पनि बैङ्कले आफ्नो लगानी कत्तिको सुरक्षित हुन्छ र नियमित व्याज प्राप्त हुन्छ कि हुँदैन भनेर हेर्ने हो । कुन क्षेत्रमा लगानी बढाउने भन्ने विषय हामीले निर्धारण गर्ने होइन । मागको आधारमा हामीले कर्जा प्रवाह गर्छौं । तपाईले भन्नु भएजस्तै सबैजसो बैङ्कहरुले घर जग्गा जस्तो अनुत्पादक क्षेत्रमा लगानी गरेको साँचो हो । आवास नभई नहुने कुरा हो । सबै मान्छेहरु आफ्नो घरमा बस्न चाहन्छन् । त्यसैले मागको आधारमा लगानी बढी भएको हुन सक्छ ।

तपाई लामो समयदेखि बैङ्किङ क्षेत्रमा हुनुहुन्छ । नेपालमा निम्न वर्गका मान्छेहरुको बैङ्कमा कत्तिको पहुँच देख्नुहुन्छ ?

नेपालमा क्रमशः निम्न वर्गका मान्छेहरुको बैङ्कमा पहुँच बढ्दै गएको छ । क र ख वर्गको पहुँचमा निम्न वर्ग पुग्न नसकेपछि ग र घ वर्गको बैङ्कमा सजिलैसँग पहुँच पुगेको छ । अहिले बैङ्कहरुले लगानीका नयाँ–नयाँ क्षेत्र खोजिरहेको छन् ।

राष्ट्र बैङ्कले पनि हरेक बैङ्कलाई १० प्रतिशतसम्म लगानी कृषि क्षेत्रमा गर्नुपर्ने व्यवस्था गरेको छ । तर, क र ख वर्गका बैङ्कहरुले सिधै लगानी नगरेर ग र घ वर्गका बैङ्कमार्फत् तल्लो तहमा लगानी पु¥याएका छन् । ठूला बैङ्कहरु सानो कारोबार गर्नै चाहदैनन् । उनीहरुलाई एक लाखको फाइल र १ करोडको फाइल तयार पार्न एउटै समय लाग्छ । सानो रकमबाट थोरै व्याज आउने भएकाले ठूला बैङ्कहरु सिधै साना कृषकसँग काम गर्न चाहदैनन् । तर, अब लगानीको क्षेत्र साँघुरिएको र प्रतिस्पर्धा धेरै भएकाले सबै बैङ्कहरु ग्रामीण क्षेत्रसम्म पुग्न जरुरी छ ।

बैङ्कहरुमा तरलता बढेको छ । किन होला ?

अहिले मुलुकमा लगानीको वातावरण छैन । मान्छेहरुले असुरक्षाको महसुस गरिरहेका छन् । उद्योग धन्दा फष्टाउन सकेको छैन । यसले लगानीकर्ताहरुको विश्वास कमजोर भएको छ । धेरै मान्छेहरु सुरक्षित देखिएकाले बैङ्कमा रकम जम्मा गर्छन् । जम्मा अनुसारको बैङ्कले ऋण प्रवाह गर्न सकेको छैन । यसरी बैङ्कमा पैसा थुप्रिएकाले तरलता बढेको हो । अब सरकारले लगानीको वातावारण तयार गर्नुपर्छ । उद्योग धन्दा सञ्चालनका लागि नीतिगत प्रक्रिया झन्झटिलो भएका कारण पनि लगानीकर्ताहरु निरुत्साहित भएका हुन् । विदेशी लगानीकर्ताहरु अपेक्षाकृत रुपमा आउन सकेका छैनन् ।

यस्ता विभिन्न कारणले गर्दा बैङ्कमा तरलता बढेको हो । मुलुकमा अस्थिर राजनीतिक व्यवस्था यसको मुल कारण हो । मुलुकमा संविधान निर्माण भएर शान्ति छाएको खण्डमा बैङ्कहरुमा तरलता देखिदैन । देशमा प्राविधिक जनशक्तिको अभाव छ । कच्चपदार्थको उपलब्धता पनि छैन । त्यसैगरी बजारीकरणको समस्या पनि छ । लगानीकर्ताहरु नआउँदासम्म बैङ्कको लगानी पनि बढ्दैन ।

लगानीको क्षेत्र खोज्ने जिम्मा बैङ्कको पनि त हो नि ?

बैङ्कहरु सधै लगानीको क्षेत्र खोजिरहन्छन् । बैङ्कले खोजेर मात्र भएन नि । कुल पँजीको ८० प्रतिशत रकम लगानी नगर्ने हो भने जुनसुकै बैङ्क पनि घाटामा जान्छन् ।

तपाईहरुले व्याजदर घटाएर भए पनि लगानी बढाउन सक्नुहुन्छ नि । किन चर्को व्याज असुल्नुहुन्छ त ?

बैङ्कहरुले व्याजदर घटाइरहेका छन् । व्याजदर घटाउँदैमा लगानी बढ्छ भन्ने पनि होइन । केही हदसम्म लगानी बढ्न पनि सक्छ । न्यूनतम बचत र कर्जाको व्याजदर ५ प्रतिशत हुनुुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *