बादी महिलाहरुको चौथो राष्ट्रिय सम्मेलन

  
  प्रकाशित मितिः बुधबार, पुस ३०, २०७१       | 160 Views   ||

जनक नेपाली
दाङ । नौ बुँदे दाङ घोषणापत्र जारी गर्दै आइतबारदेखि दाङमा जारी राष्ट्रिय बादी महिला अधिकार संघर्ष समितिको चौथो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।

मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरी राष्ट्रिय बादी महिला अधिकार संघर्ष समितिले नौ बूँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा बादी समुदायमा रहेको बाध्यात्मक यौन शोषण अन्त्य भएको घोषणा र यौन शोषणमा परेका महिलाको पुनःस्थापनाका लागि सरकारले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने, सरकार र राष्ट्रिय बादी अधिकार संघर्ष समितिका बीच २०६४ मा भएको दुई बुँदे सहमति कार्यान्वयन गर्न माग गरिएको छ ।

त्यस्तै, व्यवस्थापिका संसद महिला तथा बालबालिका समितिले बादी समुदायको समस्या अध्ययन कार्यदलले गरेको सिफारिस, सुकुम्बासी बादी घर परिवारलाई कम्तिमा खाना पुग्ने गरी एक पटकका लागि जग्गा वितरण गर्नुपर्ने, दलित समुदायभित्र पनि अति उत्पीडन भोगेको समुदायलाई सरकारको नीति निर्माण तहमा ल्याउनुपर्ने, रोजगारमा समानुपातिक समाबेशी सिद्धान्तका आधारमा सम्पूर्ण क्षेत्र वर्गको प्रतिनिधित्वको सुनिश्चित गर्नुपर्ने, जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ लाई प्रभावकारी कार्यान्वयन गरिनुपर्ने, बादी समुदायका बालबालिकालाई प्राथमिक तहदेखि उच्च शिक्षासम्म निशुल्क शिक्षा प्रदान गरिनुपर्ने, प्राविधिक शिक्षामा कोटा छुट्याई बादी समुदायका युवायुवतीलाई समाबेश गर्नुपर्ने, दलित आयोगलाई संबैधानिक आयोग बनाउनुपर्ने लगायतका माग घोषणापत्रमा समाबेश गरिएको छ ।

यसैबीच सम्मेलनले अधिवेशनले रमा बादीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । समिति पदाधिकारीहरुमा उपाध्यक्ष मुक्ति बादी, सचिव सरिता बादी, सह–सचिव अमृता बादी र कोषाध्यक्ष सर्मिला बादी रहनुभएको छ ।

समितिका सदस्यहरुमा सिर्जना बादी, तीर्था बादी, पार्वती बादी, भूमि बादी, विष्णु बादी र रुपा बादी रहुनभएको छ भने सल्लाहकारमा जहरा बादीलाई मनोनयन गरिएको छ ।
घोषणापत्रको सार्वजनिक गर्दै बादी समुदाय उत्थान विकास समितिका उपाध्यक्ष पुष्प बादीले सरकारले बादी समुदायसँग गरेको प्रतिवद्धता तत्काल पूरा नगरे देशभरका बादी आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै दलित महिला एकता केन्द्रका अध्यक्ष निर्मला कुमारी गुप्ताले सरकारले देशभर यौन शोषणमा परेका महिलाहरुको पुनःस्थापनामा ध्यान नदिएको बताउँदै त्यसतर्फ राज्य सचेत हुन जरुरी रहेको बताउनुभयो । सम्मेलनमा पश्चिम नेपालका १५ जिल्लाका करिब दुई सय बादी महिलाहरु सहभागी भएका थिए ।

राष्ट्रिय बादी महिला अधिकार संर्घष समितिका अध्यक्ष रमा बादीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सह–सचिव डिल्ली मल्ल, राष्ट्रिय बादी महिला अधिकार संर्घष समितिका सचिव सरिता बादीलगायतले बोल्नुभएको थियो ।

यसैबीच राष्ट्रिय बादी महिला अधिकार संघर्ष समितिले तत्काल सरकार र बादी समुदायबीच भएको सहमति कार्यान्वयनको माग गर्दै राजधानीमा डेलिगेशन जाने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *