पत्रकार महासंघको स्थापना दिवस उद्घाटन

  
  प्रकाशित मितिः बुधबार, पुस ३०, २०७१       | 123 Views   ||

जनउभार समाचारदाता

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको २२ औं स्थापना दिवस उद्घाटन गरिएको छ । मंगलबार बिहान घोराहीमा आयोजित प्रभातफेरीको उद्घाटन गर्दै महासंघका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले स्थापना दिवसको शुभारम्भ गर्नुभएको हो ।

सो अवसरमा प्रमुख अतिथि शर्माले संस्थाले २२ वर्षे लामो यात्रा विविध आरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको भन्दै अझै पनि पत्रकारिताको लडाइँ समतामूलक समाज, प्रेस स्वतन्त्रता र लोकतन्त्रकै लागि जारी रहेको बताउनुभयो । उहाँले विज्ञान प्रविधि र समयले नयाँ नयाँ चुनौतिहरुसँग खेल्न सिकाएको भन्दै हिजो भन्दा आज अझैं पत्रकारहरुले आफ्नो आदर्श र मूल्यमान्यतामा अडिग हुनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । प्रभातफेरीपछि कलेजका विद्यार्थी र पत्रकारहरुमाझ न्यू मिडिया र सामाजिक उत्तरदायित्व विषयक अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा घोराहीका मार्क कलेज र भिक्टोरिया कलेका विद्यार्थीहरु र पत्रकारहरुको सहभागिता रहेको थियो । सो अवसरमा महासंघ दाङ शाखाका सह–सचिव डिल्ली मल्लले सामाजिक सञ्जालको प्रयोग, त्यसबाट गर्न सकिने सकारात्मक काम र त्यसले निम्त्याएका नकारात्मक परिणामहरुका बारेमा सहभागीहरुलाई जानकारी दिनुभएको थियो । सो अवसरमा महासंघका कोषाध्यक्ष रोशनमान श्रेष्ठले सामाजिक सञ्जालमा आफ्नो सुरक्षाका बारेमा सधैं सतर्क र सजक हुनुपर्नेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्मा र दाङ शाखा सल्लाहकार सविन प्रियासनले पनि बोल्नुभएको थियो ।

यसैबीच महासंघले आज (बुधबार) कोइलाबासमै पुगेर कोइलाबास क्षेत्रका समस्या विषयक छलफल कार्यक्रम गर्दैछ भने पुस ३ गते महासंघकै सभाकक्षमा रक्तदान गर्ने कार्यक्रम तय गरेको छ भने पुस ४ गते सम्मान, पुरस्कार वितरण तथा समापन कार्यक्रम गर्ने महासंघले जनाएको छ ।

यसैबीच महासंघ दाङका अध्यक्ष सुदीप गौतमले स्थापना दिवसको अवसरमा आयोजित बाँकी कार्यक्रमहरुमा सक्रिय सहभागीता जनाइदिन सबैलाई आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *