प्रेम, प्रेरणा र प्रगतिको प्रसङ्ग

  
  प्रकाशित मितिः बुधबार, पुस ३०, २०७१       | 183 Views   ||

Jb_shah– जीतबहादुर शाह

केही दिन पहिले मैले एउटा गरीब परिवारको कथा पढ्ने अवसर पाएँ । सबैको घरआँगनमा नयाँ वर्षको उपलक्ष्यमा उत्सव र भोजभतेरको आयोजना गरेर खुशी मनाउन थालिरहेको अवस्थामा उक्त गरीब परिवारमा पत्नीले आफ्नो पति र छोरीलाई भनिछन्– ‘नयाँ वर्षको अवसर पारेर भोलि हाम्रो घरमा अलग–अलग समयमा तीन जना पाहुना आउने भएका छन् । कसलाई पहिला बोलाउने होला ?’ पतिले उत्सुक भएर सोधेछन्– हाम्रो घरमा नयाँ वर्षको अवसर पारेर आउने पाहुनाहरु को–को हुन् ? पत्नीले जवाफ दिइन– ‘धन, सफलता र प्रेम ।’ पतिले जवाफ दिएछन्– त्यसो भए सबभन्दा पहिले धनलाई बोलाउनु पर्ला । धन भयो भने हाम्रो जीवन अर्को वर्ष अलि सहज होला ।’ उनीहरुको उत्तरबाल्यावस्थाकी छोरीले भनिछन्– ‘हाम्रो घरमा सबभन्दा पहिले प्रेम बोलाउनु पर्दछ मम्मी । प्रेम भयो भने सफलता र सम्पत्ति त पछि–पछि आइहाल्छन् । बोलाउनै पर्दैन ।’ एकछिन छोरीको कुरामा घोत्लिएछन् पति–पत्नी र अन्ततः छोरीको भनाइप्रति सहमति जनाउँदै प्रेमलाई नै सर्वप्रथम आमन्त्रण गरेछन् त्यो परिवारमा  ।

उक्त गरीब परिवारमा प्रेम आएपछि त्यो घरका हरेक क्रियाकलापहरु फरक हुँदै गएछन् । सर्वप्रथम त उनीहरुले आफैले आफैलाई प्रेम गर्न थालेछन् । आफ्नो जीवनप्रति प्रेम बढ्दै गएपछि आफ्नो जीवनलाई बरबाद गर्ने कुराहरु क्रमशः छोड्दै गएछन् र जीवनलाई असल बनाउने कुराहरु क्रमशः अपनाउँदै गएछन् । तत्पश्चात परिवारका सदस्यहरुको बीचमा प्रेम त्यो पनि निस्वार्थ प्रेम बढाएछन् । यसले उनीहरुलाई कहिल्यै पनि दुःखी हुन दिएनछ । यसले उनीहरुलाई आँसु पिएर बाँच्नुपर्ने बाध्यताको अन्त गरेछ । उनीहरुले गर्ने निस्वार्थ प्रेम परिवारका सदस्यहरुमा मात्र सीमित नरहेर हरेक मानिस र प्राणीसम्म फैलिएछ । यसले उनीहरुको लोकप्रियता र चर्चा परिचर्चा बढाएछ । प्रेमको बदलामा समाजबाट पनि उनीहरुलाई सुख दुःखमा साथ दिदै प्रेम प्राप्त हुन थालेछ । थाहै नपाइ त्यो परिवार त दुनियाँलाई असल कुरा सिकाउने मार्गनिर्देशक भएछ । थाहै नपाइ त्यो परिवार त समाज सुधार गर्ने कार्यका लागि अग्रपङ्तिमा पो उभिदै गएछ ।

यो कथा पढेपछि प्रेमको महिमाको बारेमा मलाई जे कुराको जानकारी थियो त्यसमा अझै बढोत्तरी भयो । प्रेमको असीमित महत्वको बारेमा क्रमशः बोध हुँदै गयो । मलाई त लाग्दैछ कि मानिसहरुका लागि आवश्यक पर्ने आपसी सहयोग, सद्भाव, सहकार्य, सहानुभूति, दया, करुणा आदि सबैको स्रोत भनेको निस्वार्थ प्रेम रहेछ । जहाँ एउटा मानिसले अर्को मानिसलाई निस्वार्थ या भनौं बृहत स्वार्थका लागि प्रेम गर्दछ त्यस्तो अवस्थामा समाजमा विद्यमान अन्याय, अत्याचार, अनाचार, दुराचार, भ्रष्टाचार, इष्र्या, डाह, हिंसा, अपराध आदि जस्ता क्रियाकलापहरुले हाम्रो समाजमा एक रातको लागि पनि बास बस्न पाउदैनन् होला जस्तो लाग्छ ।

आज धेरै समाज सुधारकहरुले परिवर्तन अरुबाट होइन कि आफैबाट शुरु गर्नुपर्दछ भनेर सन्देश प्रवाह गरिरहेका छन् । आफैबाट सुधारको थालनी गर्नु भनेको आफैलाई प्रेम गर्नु हो । तथापि आज मानिस अरुलाई त टाढाको कुरा आफैलाई समेत निस्वार्थ प्रेम गर्न सकिरहेको देखिदैन । आफूलाई जे गर्दा अप्ठ्यारो हुन्छ बरु त्यही कुरा जानीजानी गरिरहेको छ । मानिस दुव्यर्सनी भएको छ । मानिस कुलतमा फसेको छ । मानिसलाई स्पष्ट थाहा छ कि दुव्यर्सन र कुलतले उसलाई र उसको परिवारलाई सखाप पार्दैछ । मानिसलाई यो पनि थाहा छ कि उसले आफैलाई आफ्नै कारणले रोगी, बिरामी, अशक्त र असामयिक किसिमले बूढो पनि बनाउँदैछ । यसको एउटै कारण भनेको उसले आफूलाई प्रेम गर्न सकिरहेको छैन । जसले आफूलाई नै प्रेम गर्न सकिरहेको छैन, उसले अरुलाई प्रेम गर्छ भनेर अनुमान गर्नु पनि भूल हुन्छ सायद ।

प्रेमको महिमा अपरम्पार भएर पनि होला, आज कसैलाई दुःख दिनुप¥यो भने पनि मानिसहरु प्रेमको नाटक गर्दछन् । आफ्नो बाहेक अरुको अस्तित्व देख्न नचाहने कथित प्रजातान्त्रिक र लोकतान्त्रिक दलहरुले प्रजातन्त्र र लोकतन्त्रको कुरा गरेजस्तै प्रेममा धोका दिनेहरु पनि प्रेमको महिमा गाउन पछि पर्दैनन् । यस्तै तथाकथित प्रेम गर्नेहरुको पासोमा परेर जीन्दगीभर साथ दिने बाँचा गर्दै विवाह बन्धनमा बाँधिएको बहाना गरी प्रेमको नाममा भारतका कोठीहरुमा बिक्री हुन बाध्य पारिन्छन् हाम्रा चेलीहरु । प्रेमलाई बासना र शरीरसँगमात्र सम्बन्धित गरेर बुझ्नेहरु प्रेमको उपहास गरेर हिडिरहेका छन् । मानौं कि प्रेम पनि बजारको बस्तु हो जसलाई पैसाले खरिद गर्न सकिन्छ र पैसामा नै बिक्री गर्न सकिन्छ । बास्तवमा प्रेम बजारमा खरिदबिक्री हुने बस्तु होइन यो त मानिसको अन्तस्करणबाट झङ्कृत हुने ऊर्जा हो जसले मानिसलाई बाँच्न प्रेरित गर्दछ, हाँस्न प्रेरित गर्दछ र मानिसलाई उमङ्ग भरेर नाच्न प्रेरित गर्दछ ।

कतिपय मानिसहरुमा जीवनप्रति बैराग्य जाग्छ र आफ्नै इच्छाले विभिन्न विधि प्रयोग गरेर जीवन समाप्त गर्न पछि पर्दैनन् । त्यस्ता मानिसहरुले आफ्नो जीवनमा यस्तो निर्णय गर्दा आफूलाई माया गर्ने एकजना मानिसको पनि नाम सम्झिन सकेको भए सायद यस्तो निर्णय गर्दैनथे जस्तो लाग्छ । जता हेरे पनि आफ्नो भन्ने कोही नदेखेपछि र सोचाइ नै आफ्नो कोही छैन भन्ने किसिमले नकारात्मक र निरिह बनाएपछि मानिसले यस्तो निर्णय गर्दछ । अन्ततः बाँच्नुको अर्थ देख्दैन र मृत्युलाई सुमसुम्याउन पुग्दछ मानिस । प्रेमको अभाव महसुस गरेका धेरै मानिसहरुमा जीवन समाप्त गर्ने सोचले बेला–बेलामा पिरोलिरहन्छ ।

प्रेमले मानिसलाई प्रेरणा प्रदान गर्दछ । जीवनलाई सफलतामा रुपान्तरण गर्ने प्रेरणा । जीवनमा निर्धारण गरेका लक्ष्य र उद्देश्यहरुलाई पूरा गर्ने प्रेरणा । जीवनका कठिनतम् चुनौति र अँध्याराहरुको सामना गर्ने प्रेरणा । जीवनका विकृति र दुव्र्यसनहरुबाट मुक्त हुने प्रेरणा । जीवनमा सहन गर्ने प्रेरणा । जीवनमा आशावादी हुने प्रेरणा र जीवनमा मुस्कुराउँदै बाँच्ने प्रेरणा । यस्तै प्रेरणा पाएका मानिसहरु अरुलाई पनि प्रेम प्रदान गर्दछन् र दुनियाँलाई प्रेममय बनाउन सहयोग गर्दछन् । यस्तै प्रेरणा पाएका मानिसहरु जीवनमा दुःख पाएका मानिसहरु देखेपछि भावविहवल भएर आफ्नो जीवनको मोड बदल्छन्, गौतम बुद्धजस्तै । आफ्नो जीवनलाई एउटा छुट्टै प्रतिबद्धतासँग आवद्ध गर्दछन् महात्मा गान्धीजस्तै र अन्ततः आफ्नो जीवन मानवसेवामा समर्पित गर्दछन् मदर टेरेसा र फ्लोरेन्स नाइटिङ्गेलजस्तै ।

मानिसको कर्तव्य र जिम्मेवारीप्रति प्रेम छ भने उक्त जिम्मेवारी र कर्तव्यलाई सकेसम्म इमान्दारीपूर्वक पूरा गर्ने प्रेरणा पलाउँछ मानिसमा । आफूले प्रेम गरेका कर्तव्य र जिम्मेवारी पूरा गर्ने क्रममा मानिसले घडी हेरेर बस्दैन बरु घडीले मानिसलाई हेरेर बस्छ । यस्तो अवस्थामा मानिसले आफ्नो जिम्मेवारी र कर्तव्यलाई पूरा गर्ने क्रममा सम्पादन गर्नुपर्ने सम्पूर्ण क्रियाकलापहरु उसलाई आफूले रोजेको खेल खेलेजस्तै रमाइलो लाग्छ । यस्ता मानिसहरुले काम गर्ने क्रममा कहिल्यै पनि निधार खुम्च्याएर अँध्यारो मुख लगाउनु पर्दैन । असफलतालाई सुम्सुम्याएर जीवनदेखि भाग्नु पनि पर्दैन र जीवनमा कहिल्यै हरेस खानु पनि पर्दैन । बरु त्यस्ता मानिसहरु सधैं हसिला हुन्छन् हिमालजस्तै, कञ्चन हुन्छन् कर्णालीजस्तै र सफलताको बाटोमा अविरल बगिरहन्छन् इन्द्रावतीजस्तै ।

मानिस प्रेमबाट प्रेरित हुन्छ र प्रेरित मानिस नै प्रगतिका लागि बाञ्छनीय हुन्छ । हरेक मानिसको सफलतामा कसै न कसैको हात हुन्छ भनेकै कसै न कसैको प्रेरणा हुन्छ भनेको हो । मानिसको त कुरै नगरौं, संसारका सबै प्राणीहरु प्रेमका भोका हुन्छन् । निस्वार्थ प्रेमको प्राप्तिमा आल्हादित हुन्छन् उनीहरु । घरमा पालेको कुकुरसमेत आफूलाई माया गर्ने मानिसको छेउमा बस्न पाउँदा आफूलाई आनन्दको अनुभूति गर्दछ । रुख–बिरुवा र बगैंचामा भएका फूलहरुलाई समेत प्रेमको छुट्टै प्रभाव पर्दछ भन्ने कुरा अनुसन्धानबाट सिद्ध भइसकेको छ ।

प्रेमको यो विश्लेषणको आसय मानिसलाई त्यसमा पनि विशेषगरी साना बालबालिकाहरुलाई प्रेमपूर्ण वातावरण प्रदान गरौं भन्ने हो । साना बालबालिकाहरुले हामीबाट धेरै खोज्दैनन् पनि । भेट भएको समयमा उनीहरुसँग मुसुक्क हाँसेर मायाले सुम्सुम्याइदिए पुग्छ । उनीहरुको सुखमा सामीप्यता र दुःखमा सहानुभूति प्रकट गरिदिए पुग्छ । साना बालबालिकाहरु पनि मानिस हुन् र उनीहरुलाई पनि अरु मानिसलाई जस्तै माया, प्रेम, सम्मान र सहयोग चाहिन्छ भनेर तदनुसार व्यवहार गरिदिए पुग्छ । साना बालबालिकालाई प्रेम र सम्मान दिन सकियो भने उनीहरुले पनि अरुलाई प्रेम र सम्मान बाँड्दै हिड्छन् । यसले मानवीयतालाई उच्च प्राथमिकता दिन्छ । जहाँ मानवताले उच्च सम्मान पाउँछ त्यहाँका मानिसहरु कसैले पनि अनाहकमा दुःख, अप्ठ्यारो र सास्ती ब्यहोर्नु पर्दैन ।

प्रगति भनेको पनि मानवताको उच्च विकास हो । यहाँ कति जना डाक्टर लगायतका प्राविधिकहरु उत्पादन भए भन्ने कुराले भन्दा पनि उत्पादन गरिएका मानिसहरु कस्ता भए भन्ने कुराले महत्व राख्दछ । डाक्टर त उत्पादन भए तर तिनै डाक्टरहरुले मानवताको उपहास गर्दै विरामीका किड्नीलगायतका अङ्गहरु निकालेर बिक्री गर्न थाले भने सायद त्यसलाई प्रगति भनिदैन क्यारे । आज समाजले केही आश गरेका मानिसहरुबाटै यस प्रकारका विसङ्गतिपूर्ण क्रियाकलापहरुको सामना गरिरहेको छ । प्रेमको अभावमा यी सबै गतिविधिहरु भइरहेका छन् । मानिसले मानिसलाई प्रेम गर्नुको सट्टा वस्तुलाई प्रेम गरिरहेको छ । जन्म दिने मम्मीलाई भन्दा महललाई माया गरिरहेको छ । जीवनमा साथ दिने पत्नीलाई भन्दा पैसालाई प्रेम गरिरहेको छ । यसैले पनि मानिस प्रगतिपथमा जति दौडिए पनि वास्तवमा प्रगति भइरहेको छैन बरु मानवताको दिनानुदिन अधोगति भइरहेको छ ।

jbshah45@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *