फष्टाउँदै माहुरीपालन व्यवसाय

  
  प्रकाशित मितिः बुधबार, पुस ३०, २०७१       | 193 Views   ||

mauriजनउभार समाचारदाता

दाङ । पछिल्ला बर्षहरुमा दाङमा व्यावसायिक माहुरीपालन गर्ने किसानहरुको संख्यामा वृद्धि हुँदै गइरहेको छ । माहुरीपालनका लागि अनुकूल वातावरण र आम्दानी राम्रो हुन थालेपछि दाङका किसानहरु माहुरीपालन व्यवसायतर्फ आकर्षित हुन थालेका हुन् ।

जिल्लामा यो बर्ष तीन सय ५० कृषकले १६ हजार घार माहुरी पालेर २ सय ७५ टन मह उत्पादन गरेको माहुरीपालन व्यवसायी महासंघ दाङले जानकारी दिएको छ । जिल्ला माहुरीपालन व्यवसायी महासंघका अध्यक्ष दीपक श्रेष्ठका अनुसार अघिल्लो बर्षको तुलनामा यो बर्ष जिल्लामा माहुरीपालन गर्ने किसानको संख्या र मह उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ ।

जिल्लामा उत्पादित मह चितवन, काठमाडांै हुँदै विदेशसम्म जाने गरेको माहुरीपालन व्यवसायी महासंघका केन्द्रीय सचिव धनञ्जय न्यौपानेले बताउनुभयो ।
गत बर्ष २ सयदेखि २ सय ५० रुपैयाँ किलोमा बिक्री भएको मह यस बर्ष ३ सय देखि ३ सय ५० सम्ममा किसानले बिक्री गरिरहेको आचार्यले बताउनुभयो ।

आचार्यका अनुसार कम लगानी गरेर आम्दानी बढी लिन सकिने भएपछि यहाँका किसानहरु व्यावसायिक रुपले माहुरीपालनमा जोड दिन थालेका हुन् । महासंघमा १ सय ५० माहुरीपालक कृषकहरु मात्र आवद्ध भए पनि माहुरी पाल्ने किसानको संख्या ३ सय ५० को हाराहारीमा रहेको जिल्ला व्यवसायी महासंघका अध्यक्ष दीपक श्रेष्ठले बताउनु भयो ।

जिल्लास्थित अम्बिकेश्वरी माहुरीपालन सहकारी संस्थाले जीआइजेट संस्थाको सहयोगमा १ हजार घार माहुरी नयाँ किसानलाई बाँड्न थालेकाले माहुरी पाल्नेको संख्या अझ थपिने श्रेष्ठले बताउनु भयो । माहुरी पाल्ने कृषकको संख्यामा वृद्धि भएसँगै जिल्ला माहुरीपालन व्यवसायी महासंघले नयाँ प्रविधि, तालिम र टट प्रशिक्षकहरु पनि उत्पादन गरिरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

व्यावसायिक माहुरीपालक किसानका अलावा जिल्लामा पाँचवटा माहुरीपालन सहकारी रहेको र ती माहुरीपालन सहकारीमा आवद्ध समूहहरुलाई माहुरीका गोला र घमहरु दिएर जीटीजेट संस्थाले कृषकहरु माहुरीपालनतर्फ प्रोत्साहन गरिरहेको श्रेष्ठले बताउनु भयो ।

दाङ तोरी र च्यूरीको राम्रो स्रोत मानिएकाले बर्षमा किसानहरुले तीन/चार पटकसम्म मह काढ्ने गर्छन् भने सिजनमा जिल्ला बाहिरबाट पनि यहाँ माहुरी चराउन ल्याउने गरिन्छ । माहुरीपालनका लागि घोराहीदेखि हाँसिपुरसम्मको क्षेत्रलाई पकेट एरीया मान्ने गरिन्छ ।

Mahuri palakमहले बदलेको जीवन

घोराहीको गिठेपानीमा दुई सय घार माहुरीपालन पाल्दै आएका घोराही–११ का विष्णुराज श्रेष्ठलाई कहिल्यै घाटा खाएर निरास हुनु परेको छैन । माहुरीबाट मात्रै बार्षिक १० लाख आम्दानी गर्दै आएका श्रेष्ठले मह निर्यातको व्यवसाय पनि सञ्चालन गदै आएका छन् ।

घोराहीमा शिवशक्ति मह कन्सर्न खोलेका श्रेष्ठले बर्षमा ४० टन मह बाहिर सप्लाई गर्दछन् । दश बर्षअघि सामान्य व्यवसायीको रुपमा चितवनबाट दाङ आएका श्रेष्ठले मह बिक्रीको आम्दानीले घोराहीमा घर मात्र होइन चितवनपछि सबैभन्दा ठूलो मह प्रशोधन केन्द्र राख्ने तयारीसमेत थालिसकेका छन् ।

माहुरीपालन व्यवसाय गरेर कृषकले कहिल्यै घाटा खानु नपर्ने भन्दै माहुरीपालक व्यवसायी श्रेष्ठले भन्छन्, ‘मेहनत गरेर माहुरीपालन व्यवसाय गर्ने हो भने यसमा आम्दानी प्रशस्त छ ।’

जिल्लामा मह सप्लायर्सका प्रसिद्ध व्यवसायी श्रेष्ठ मात्र होइन लक्ष्मीपुर–७ का कृषक गोपीचन्द्र न्यौपाने माहुरीपालन व्यवसाय गरेरै आत्मनिर्भर बनिरहेका छन् । घरैमा चालीस घार माहुरी राखेर बर्षमा डेढ लाखको मह बिक्री गर्ने न्यौपानेले त्यही आम्दानीले छोराछोरीको पढाइ र घर खर्च चलिरहेको बताए ।

न्यौपानेजस्तै रामपुर–८ काँडाखुट्टीका धनञ्जय आचार्यले विगत १४ बर्षदेखि घरमा माहुरीपालन व्यवसाय गर्दै आइरहेका छन् । पुराना माहुरीपालक व्यवसायी आचार्य अहिले माहुरीपालन व्यवसायी महासंघ केन्द्रको सचिवसमेत रहेका छन् ।

घरमा पालेको एक सय घार माहुरीको मह बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी गर्ने आचार्यले त्यसको आम्दानीबाट जग्गा थप्दै आएको र अहिले घोराहीमा घर बनाइरहेको बताए । परिवारका पाँच जना सदस्यलाई रोजगारी भएको र माहुरीपालन व्यवसाय बाट परिवार नै खुसी र सन्तुष्ट रहेको आचार्य बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *