अग्निपरीक्षामा माओवादी नेतृत्व

  
  प्रकाशित मितिः बुधबार, पुस ३०, २०७१       | 123 Views   ||

विश्वलाई नयाँ विचार दिने वा पतनको बाटो रोज्ने ?

govind aacc– गोविन्द आचार्य

यतिखेर नेपालको माओवादी आन्दोलन ठूलो चुनौति र त्यत्तिकै ठूलो संभावनाको दोसाधमा खडा भएको छ । माओवादी आन्दोलनले जन्माएका नेताहरुको सुझबुझ र बुद्धिमतापूर्ण कदमले माओवादी आन्दोलनको मात्रै होइन नेपाल र नेपाली जनताको सुनौलो भविष्य संभव छ भने ती नेताको व्यक्तिगत महत्वाकांक्षा र गलत निर्णयले सिंगो आन्दोलन र यसका नेता कार्यकर्ताहरुको भविष्य नै धरापमा पर्ने देखिन्छ ।

दोस्रो जनआन्दोलनको सफलतासँगै शान्तिप्रक्रियामार्फत् खुल्ला राजनीतिमा होमिएका माओवादी नेताहरुले सुरुमा जनताबाट जुन विश्वास र साथ पाएका थिए, स्वयम् आफ्नै व्यवहार र निर्णयका कारण क्रमशः यो गुम्दै गएको छ । पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको माओवादीले पार्टी विभाजन र वर्गीय स्वार्थ भुलेका कारण दोस्रो संविधानसभा चुनावमा नराम्रोसँग हार बेहोर्नु प¥यो । केही समय पहिले फेरि नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा माओवादीको एक पक्ष विभाजित भएको छ । माओवादीमा भएका यी विभाजन र एमाओवादीको चुनावी हारसँगै विरोधीहरुको मनोबल बढेको छ । बिरोधीहरु अब माओवादीलाई तहस नहस बनाउने सपना देखिरहेका छन् । ‘विरोधी माथि ऊ कमजोर भएकै बेला चौतर्फी प्रहार केन्द्रित गर्नुपर्छ’ भन्ने माओवादी सूत्र अहिले माओवादीहरुकै विरुद्ध प्रयोग भइरहेको छ ।

माओवादी पार्टी र यसका नेताहरुमाथि प्रहार केन्द्रित गर्ने, भ्रमपूर्ण प्रचारबाजी गर्ने र तहस नहस पार्ने विरोधीका योजना बुझेर पनि माओवादी नेतृत्वले आफ्नो पंक्तिलाई संगठित र एकतावद्ध पार्दै विरोधीका योजनालाई चिरेर आन्दोलन अघि बढाउने ‘ठोस नीति र योजना’ तय गर्न सकिरहेको छैन । माओवादीको यही अकर्मण्यता र सङ्क्रमणको फाइदा उठाएर विरोधीहरु माओवादीलाई अझै टुक्रा टुक्रा पार्न चाहन्छन् । माओवादीका नेता, कार्यकर्ताहरुलाई बदनाम गराउने, प्रयोग गर्ने तथा अनेक हथकण्डा प्रयोग गरेर तह लगाउने विरोधी वर्गले सोचिरहेको छ । बुर्जुवाहरु अन्य कुरामा विभाजित हुन सक्छन्, सक्लान् तर माओवादी पार्टी र उसले अघि सारेको नीति र नेतृत्वको विरोध गर्ने सवालमा उनीहरुबीच अद्भूत एकता कायम रहन्छ । माओवादीलाई पूरै नष्ट नगराएसम्म उनीहरुबीचको यो एकता भत्कन नदिने उनीहरुले प्रण गरेका छन् । हिजो माओवादी जनयुद्ध व्यापक बन्दै जाँदा आफ्नो कुन हविगत भयो भन्ने कुरा वुर्जुवाहरुले राम्रैसँग बुझेका छन् ।

यसरी माओवादीका विरोधीहरु आफ्ना विरुद्ध एक भएर लागिरहँदा पनि माओवादी नेतृत्व भने गम्भीर बन्न सकिरहेको छैन । नेपालका माओवाद वा विचारधारा पक्षधर सबै कम्युनिष्ट क्रान्तिकारीहरुको एउटै कम्युनिष्ट केन्द्र बनाउने र अन्य कम्युनिष्ट र देशभक्त शक्तिहरुसँग कार्यगत एकता गरेर सामन्तवाद साम्राज्यवाद विरोधी संयुक्त मोर्चा निर्माण गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्नुपर्ने दायित्व माओवादी नेतृत्वको काँधमा छ । अहिले हेर्दा लाग्छ, माओवादी नेताहरु आफ्नो यो मूल दायित्व भुलेर आपसमै विवादमा रुमल्लिएर बिरोधी हसाइरहेका छन् ।

हो, वैचारिक–राजनीतिक विषयमा निश्चित विधि र मापदण्ड बनाएर कम्युनिष्ट पार्टीमा बहस हुनसक्छ, हुन्छ । तर यहाँ त वैचारिक–राजनीतिक विषयभन्दा प्राविधिक विषयहरुमा बढी बहस हुने गरेको छ । पार्टीभित्र हुनुपर्ने बहसहरु सडक, चिया पसल, संचार माध्यम र फेसबुकका भित्ताहरुमा हुने गरेका छन् । यसै हप्ता बसेका माओवादी पार्टीको बैठकमा समेत यस्ता कुनै वैचारिक–राजनीतिक बहस भएनन् । पार्टीको केन्द्रीय कमिटी वैचारिक बहसको केन्द्र बन्नुपर्ने हो तर त्यहाँ यस्ता कुनै बहस नै हुदैनन् । पार्टी कमिटीहरु मात्र औपचारिकता पूरा गर्ने निकाय बनिरहेका छन् ।

माथिका अमूक नेताहरुबीच कुरो मिल्दा सिंगो पार्टीमा कुनै विवाद छैन भनिन्छ र फेरि अमूक नेतामा सानो विवाद हुने बित्तिकै सिंगो पार्टीभित्र ठूलै विवाद भएको प्रचार गरिन्छ । तल्लो तहसम्मका नेता कार्यकर्तालाई इस्यूमा स्वतन्त्रढंगले आफ्नो मत राख्ने वा स्वतन्त्ररुपमा बैचारिक खोज, अनुसन्धान र अध्ययन गर्ने वातावरण निर्माण गरिदिनुको साटो माथिका कुन नेताको पछि लाग्ने भनेर हात उठाएर यो मान्छे फलानाको यो ढिस्कानाको भन्ने ट्याग लगाइन्छ । कार्यकर्ताले कुनै नेताको विरोधमा बोल्यो वा रचनात्मक आलोचना गर्न खोज्यो भने ती नेताले त्यस्ता कार्यकर्तालाई फर्केरसम्म हेर्दैनन् । नेताले सबै कार्यकर्ता आफ्ना नगिचका हुन् र सबै कार्यकर्ताले सम्पूर्ण नेताहरु हाम्रा हुन् भन्ने अवस्था जवसम्म बन्दैन, तवसम्म स्वार्थ समूहका रुपमा रहेका गुटहरुले विचार समूहको नाममा भ्रम पारिरहेका हुन्छन् । प्रमुख नेताहरुलाई सीमित व्यक्तिले आफ्नो घेरामा मात्रै राख्ने कसरत गरिरहेका हुन्छन् । यसले पार्टी, आन्दोलन र नेतृत्व कसैको पनि हित गर्दैन ।

पछिल्ला दिनमा माओवादी आन्दोलनका सबै पार्टीभित्र न त व्यवस्थित र योजनाबद्ध ढंगले राजनीतिक वैचारिक विषयमा बहसहरु संचालन भएका छन्, न त नयाँ परिस्थिति अनुकूलको संगठनात्मक संरचना नै निर्माण हुन सकेको छ । हिजो सिंगो विश्वलाई नै झकझकाउने गरी जनयुद्ध संचालन गरेका र जनयुद्धकै बलमा २ सय ४० वर्षे राजतन्त्रलाई अन्त्य गर्न सफल भएका माओवादी नेताहरु आज आफूहरु वैचारिक–राजनीतिक रुपमै स्खलित हुँदै गइरहेको खुलेआम स्विकार गरिरहेका छन् । उनीहरुले आफूले वर्गीय पक्षधरता भुलेको, वुर्जुवाकरणको दिशामा अघि बढ्न खोजेको, कम्युनिष्ट आदर्शअनुसार चल्न नसकेको, विरोधी वर्गवाट बेला–बेला प्रयोग भएको, राष्ट्रियताको मुद्धालाई ओझेलमा पार्ने काम भएको लगायत दर्जनौं कमी कमजोरी स्विकार गरेका छन् । यतिधेरै कमजोरी स्विकार गरिसकेपछि प्रतिवद्धताअनुरुप सच्चिएर अघि बढ्ने काम भने हुन सकेको छैन । जब माओवादी नेतृत्व व्यवहारमै सच्चिएर अघि बढ्न थाल्छ, त्यसबेला माओवादीले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक र आम जनताको भरपुर विश्वास आर्जन गर्न सक्नेछ । अन्यथा आफूहरुबाट दर्जनौं गल्ती भएको स्विकार्ने तर व्यवहारमा कुनै सुधार नल्याउने तरिकाले कसैको पनि विश्वास प्राप्त नहुने त छँदैछ, भएका पनि गुम्दै जानेछन् र अन्त्यमा माओवादी पार्टी र यसका नेताहरुलाई अस्तित्व रक्षाकै समस्या पर्नेछ ।

सच्चा मालेमावादी कम्युनिष्टहरु जब–जब पार्टीभित्र र देशमा समस्याहरु आउने गर्छन्, त्यतिबेला एकतावद्ध बन्छन् र व्यवस्थित छलफल गरेर वस्तुवादी निष्कर्षमा पुग्ने गर्छन् । तर यहाँ त माओवादीभित्र जब–जब समस्या पर्छ र संकटहरु आउँछन्, त्यतिबेला पार्टीमा व्यवस्थित बहस र छलफल नहुने मात्र होइन्, बढीजसो प्राविधिक विषयमै विवाद हुन्छ । बाहिर अनेकथरी होहल्ला गरिन्छन्, गराइन्छन् । अहिले पनि एमाओवादीसहितका माओवादी पार्टीमा विचारको विकासबारे बाहिर जत्तिको बहस छ, भित्र केही पनि हुँदैन । अहिले पार्टी भित्र त न राजनीतिक वैचारिक बहसका फोरमहरु चलाइएका छन्, न कुनै पार्टी कमिटीका बैठकहरु बस्छन् । न त उनीहरुले भन्ने गरेका जस्तो कुनै पद्धति, अनुशासन र व्यवस्थित प्रणालीको विकास हुन सकेको छ । बरू पार्टीभित्र जन्मदै गएका साना साना गुट र स्वार्थ समूहले प्रमुख नेताहरुमाथि आफ्नो अनुकूल निर्णय गराउन दबाब, धम्की दिने मात्र होइन डेलिगेशन नै लगेर हेडक्वार्टरमाथि घेराबन्दीसम्म गरिन्छ । नेताहरूबीच आफ्नो भागवण्डा वा स्वार्थमा निर्णयहरु नहुँदा उनीहरुबाटै सिर्जना हुने अन्तरविरोधको पीडा कयौपटक कार्यकर्ताहरुले झेलेका छन् । प्राविधिक कुरामा सहमति हुनासाथ कुनै अन्तरविरोध नहुने तर सहमति नहुने बित्तिकै ठूलै अन्तसंघर्ष चर्कने यो कुनै मालेमावादी सिद्धान्तभित्रको विषय होइन । यो त वुर्जुवा प्रणालीमा सुहाउने कुरा हो ।

अहिले माओवादी आन्दोलन चुनौतिको मोडमा छ । अब नेपालका माओवादी कसरी अघि बढ्छन् दुनियाँले हेरिरहेको छ । नेपालका माओवादीको सफलतामा विश्वका सर्वहारा वर्गले नै नयाँ बाटो भेट्टाउनेछन् भने यहाँको असफलताको असर पनि संसारभर पर्ने छ । अहिलेसम्म माओवादी आन्दोलनको बलमा नेपालमा जे जति राजनीतिक उपलब्धिहरु प्राप्त भए ती सामान्य उपलब्धि हुँदै होइनन् । २ सय ४० वर्षे सामन्ती राजतन्त्रको अन्त्य हुनु, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा हुनु, समावेशीता, धर्मनिरपेक्षता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालगायतका जे जति उपलब्धि हासिल भएका छन् यसको मुख्य श्रेय माओवादी पार्टी र यसका प्रमुख नेताहरुलाई नै जान्छ । माओवादी आन्दोलन बिना यी उपलब्धिहरु हासिल हुने कुरा कल्पनासम्म पनि गर्न सकिदैन । आन्दोलनको बलमा प्राप्त भएका यी महान् उपलब्धीहरुको रक्षा गर्ने प्रमुख दायित्व पनि माओवादीकै हो र हुनुपर्दछ । अहिलेसम्म प्राप्त भएका उपलब्धिहरुको स्वामित्व लिने, स्थापित गर्ने र यी उपलब्धिमा टेकेर थप उपलब्धि हासिल गर्ने बाटोमा अघि बढ्नु नै माओवादीको तत्कालको बाटो हो । आफैले रगत बगाएर प्राप्त गरेका उपलब्धिहरुलाई केही पनि होइन भन्ने र फेरि जनयुद्धमै फर्कनुपर्छ भन्नु अतिवाद हो । यस्तो अतिवादबाट जनताको पक्षमा त कुनै उपलब्धि हासिल हुँदैन नै, भएका उपलब्धि पनि गुमाउने र कम्युनिष्ट आन्दोलनले थप क्षति बेहोर्ने अवस्था आउन सक्नेछ । अर्को अति पनि छ, सब चिज प्राप्त भइसक्यो अब आन्दोलन सान्दोलन केही पनि गर्नु पर्दैन, विकास निर्माण मात्र गरे पुग्छ भन्ने अतिवादले पनि यथास्थितिमै रमाउने र जनताको मुक्ति र स्वतन्त्रता आन्दोलन बीचमै छाडेर पलायन हुने दक्षिणपन्थी ठाउँमा पु¥याउँदछ ।

माथिका दुबैखाले अतिवादी चिन्तनवाट बचेर कसरी नेपाली माओवादी आन्दोलनलाई सही दिशा दिन सकिन्छ यो नै अहिले माओवादीभित्र बहसको सबैभन्दा ठूलो विषय हो । यसमा अब माओवादी आन्दोलनका प्रमुख नेताहरु प्रचण्ड, बाबुराम, किरण, नारायणकाजी, बादल, विप्लवहरुका टाउकाले गम्भीर भएर सोच्नैपर्छ । उनीहरु एउटै माओवादी केन्द्र बनाएर अघि बढ्नुपर्दछ । यस्तो एकताले मात्रै क्रान्तिकारी योद्धाहरू र समर्थक जनतालाई नयाँ रक्तसंचार गराउन सक्छ । तर उनीहरु एक भएनन् र पार्टीलाई टुट, फूट र गुटमा मात्रै सीमित राखे भने निश्चित हो नेपालको कम्युनिष्ट आन्दोलनले अझै ठूलो धक्का ब्यहोर्ने छ । अब माओवादी आन्दोलनभित्रका हजारौ, लाखौं टाउकाहरुलाई नेपालको क्रान्तिकारी आन्दोलनलाई कसरी अगाडि बढाउने भन्नेबारे स्वस्थ ढंगले सोच्न, चिन्तन मनन, वैज्ञानिक खोज र अनुसन्धान गर्न दिनुपर्दछ । आजको एक्काइशौं शताब्दीको कम्युनिष्ट आन्दोलनलाई कसरी अगाडि बढाउने पार्टीभित्र व्यवस्थित महान् बहसको सुरुआत गरिनु पर्दछ । यो बहसलाई औपचारिक छलफल मात्र बनाइनु हुँदैन । माथिका २÷३ नेताले दस्तावेज लेख्ने, त्यसैलाई औपचारिकता दिन तलसम्म लगे जस्तो गर्ने अनि कार्यकर्तालाई हात उठाउन लगाएर कुन नेताको पक्षमा उभिने हो भन्ने परम्परावादी चिन्तनको जबसम्म अन्त्य गरिदँैन, तबसम्म कम्युनिष्ट आन्दोलनको विकास हुन सक्दैन ।

विश्व कम्युनिष्ट आन्दोलनका अग्रज माओले विचार नेताहरुबाट होइन, जनताबाट जन्मन्छ भनेर त्यसै भन्नुभएको होइन । नेताहरु त माध्यममात्र हुन्, विचारका वास्तविक स्रोत जनता नै हुन् भन्ने माओवादी मान्यतालाई संकटको समयमा नेताहरुले बढी मनन् गर्नु जरुरी हुन्छ । माओवादी बीचमा पार्टी एकता संयोजन समिति बनाएर अबको आन्दोलनको बाटो के हो भन्ने विषयमा एकपटक पार्टीभित्र र बाहिर महान् बहस थालनी हुनैपर्दछ । यो बहसलाई व्यवस्थित पार्न एवम् बहसबाट आएको निष्कर्षलाई संष्लेषण गर्दै लिपिवद्ध गर्न वैचारिक बहस व्यवस्थापन तथा दस्तावेज लेखन समिति गठन गरिनु पर्दछ । पार्टीभित्र र बाहिरको सुझावपछि सामूहिकरुपमा तयार पारेको दस्तावेजलाई पार्टीको विशेष महाधिवेशनमा प्रस्तुत गरिनु पर्दछ । सिंगो माओवादी आन्दोलनको कमाण्डर हुनुका नाताले वैचारिक बहस व्यवस्थापन एवम् सामूहिक दस्तावेज लेखनको नेतृत्व अध्यक्ष प्रचण्डबाटै हुनुपर्दछ । यो काममा माओवादी आन्दोलनका सबै प्रमुख नेताहरु समेत संलग्न रहनु पर्दछ ।

अहिले माओवादीले सही विचार लिने बित्तिकै उसका अगाडि सफलता नै सफलता हात लाग्नेछन् । सही विचार भएपछि त गुमेका चिजहरु पनि सजिलै प्राप्त हुनेछन् । हिजो सम्भव नभएका कुराहरु पनि सम्भव बन्नेछन् । तर सही विचार लिन सकेन, आफूलाई वुर्जुवाकै नयाँ अवतार बनाउन खोज्यो भने अहिलेसम्म बचेखुचेका चिजहरु पनि क्रमशः गुमाउँदै जाने निश्चित छ । नेपालको सिंगो माओवादी आन्दोलन जीवन मरणको दोसाधमा खडा भएको वर्तमान अवस्थामा यसका नेता–कार्यकर्ता र शुभेच्छुकहरुलाई बैज्ञानिक खोज, अनुसन्धानको उद्देश्यसहित महान् बैचारिक बहसमा उतार्ने र त्यो बहसको निष्कर्षलाई कार्यान्वयन गर्न सामूहिक प्रतिवद्धता गर्ने एवम् आफूलाई हेरेर होइन, सर्वहारा वर्गको मुक्तिको प्रश्नलाई केन्द्रमा राखेर सोच्न सक्ने हो भने अझै सम्भव छ, एक्काइशौं शताब्दीमा नेपालले विश्वलाई नयाँ सन्देश मात्रै होइन विचार दिनेछ । जुन विचारले करोडौं श्रमजीवी जनताको मुक्ति र स्वतन्त्रता सार्थक तुल्याउने छ ।

gnepali@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *