भालुबाङ महोत्सव र छुटेको चरा पर्यटन

  
  प्रकाशित मितिः बुधबार, पुस ३०, २०७१       | 218 Views   ||

Ganesh oli_online– गणेश वली

यो मौसम साइवेरियन र चिनियाँ चरा नेपालमा नै हेर्न पाउने मौसम हो । हिमाली क्षेत्रमा बस्ने दुर्लभ र लोपोन्मुख चराहरु यो मौसममा नेपालमा आउँछन् । त्यसमध्येको नेपालको एउटा महत्वपूर्ण स्थल हो भालुबाङको राप्ती नदीको दक्षिणी भाग । त्यति मात्र हैन चुरे महाभारत क्षेत्र नेपालमा चरा अवलोकनका लागि महत्वपूर्ण क्षेत्र पर्दछ । विश्वमा नै चराको अवलोकन, अध्ययन गर्ने एक संस्थाले नेपाल पंक्षी संरक्षण संघको सहयोगमा नेपालका २७ चरा अवलोकनका लागि महत्वपूर्ण क्षेत्रमध्ये दाङको यस भेगलाई पनि सिफारिस गरेको छ र विश्वका चरा अध्येताहरु र अवलोकनकर्ताहरुले यसको जानकारी राखेका छन् । बिडम्बना ! दाङ र त्यसमा पनि भालुबाङका स्थानीयलाई यसको जानकारी नहुँदा यसको स्थानीय स्तरबाट प्रचार, पहल र संरक्षण हुन सकेको छैन र देशीविदेशी पर्यटकलाई भालुबाङमा भित्र्याउन सकिएको छैन ।

अहिले भालुबाङमा महोत्सव चलिरहेको छ । यहाँ पिङ, होचा मान्छे अरु–अरुको प्रचार प्रचार गरिएको छ । जो महोत्सव अवधिका लागि मात्र महत्वपूर्ण हुन् । यसले दीर्घकालीन रुपमा भालुबाङका लागि त्यति फाइदाजनक छैन । दीर्घकालीन महत्व बोकेको चरा पर्यटन र यसको अवलोकनका लागि यहाँका बासिन्दाको ध्यान गएको छैन । यसको प्रचार, विकास र संरक्षणमा ध्यान दिन सकिएन भने अझै पछि पर्ने सम्भावना देखिन्छ ।

राप्ती नदी अतिक्रमणको चपेटामा परेको छ । राप्ती नदीलाई अतिक्रमण हुनबाट बचाउन र त्यहाँ भएका माछा, चराचुरुङ्गी तथा अन्य जीवजन्तुको संरक्षण गरी यसको जैविक विविधताको संरक्षणमा लाग्न जरुरी छ ।

विभिन्न जीवजन्तु, चराचुरुङ्गी र माछाहरुको बासस्थान रहेको यस नदीमा मानिसहरुको गलत क्रियाकलापका कारण र उचित संरक्षण हुन नसक्दा पहिचान नै गुम्ने अवस्थामा छ । खासगरी यस नदीमा माछा, चरा तथा अन्य जीवजनावरको चोरीशिकारी बढेकोले कति प्राणी लोप हुने अवस्थामा पुगेका छन् भने घुम्न आउने पर्यटक चराहरु पनि आउन छाडेका छन् । नदी संरक्षणमा चेतनाको अभावका कारण समुदाय स्तरबाट पनि केही पहल भएको छैन भने राज्यले पनि ध्यान पु¥याएको छैन ।

वास्तवमा टाँठाबाँठा भनेको संरक्षण र विकासमा लाग्ने वर्ग हो तर भालुबाङमा भने यसको संरक्षण र दीर्घकालीन विकासको साटो चोरी शिकारी गर्ने, चरा र माछा जथाभाबी मार्न उक्साउने तथा आफै संलग्न हुने गरेको पाइन्छ । यसको दीगो विकास गरेर समुदाय र स्थानीय पहिचान झल्काउने कार्यमा यहाँका शिक्षित तथा प्रवुद्ध वर्गले ध्यान दिएको पाइदैन । यसका लागि स्थानीय सामुदायिक वन, विद्यार्थी, व्यापारी, युवा क्लवहरु र होटल व्यवसायी समितिका मानिसहरु लाग्न जरुरी छ । उनीहरुले यसको संरक्षण, प्रचार र विकासमा लागे समुदायलाई ठूलो फाइदा पुग्ने देखिन्छ । नजिकै रहेको प्रहरीको साथ लिएर चोरी शिकारी, पानीमा जथाभाबी विषादीको प्रयोग रोक्न सक्ने र प्रचार प्रसारमा ध्यान दिने हो भने राप्ती नदी जिल्लाको उत्कृष्ट गन्तव्य स्थल बन्ने देखिएको छ ।

कपिलवस्तुको रामसारमा सूचिकृत जगदिशपुर ताल अहिले चरा पर्यटन र जैविक विविधता संरक्षणमा उत्कृष्ट मानिन्छ । मानिसहरुले आफै ताल बनाएर अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन सफल यस ताल र यहाँका स्थानीय बासिन्दाले गरेको प्रयासको सह्राना मात्र हैन सबैले सिक्न जरुरी छ । तर हामी भने आफूसँग भएको सम्पत्ति पनि जोगाउन नसकेर भत्किदै, मासिदै गएको छ । बुढापुरानाले कस्तुरीले आफ्नै बिनाको बासना नपाएर बास्ना सुघ्दै हिड्छ भनेर गरेको उखान भालुबाङवासीमा पनि लागू हुन्छ । यतिमात्र हैन हामी जिल्लाबासीको हकमा पनि लागू हुन्छ ।

जगदिशपुर तालजस्तै राप्ती नदी पनि विभिन्न प्रजातिका माछा, चराचुरुङ्गी तथा स्तनधारी प्राणीहरुको बासस्थान रहेको छ । विभिन्न प्रजातिका माछा, लोपोन्मुख तथा विदेशी चराहरु, हाँस तथा ठूला चराहरुका लागि राप्ती नदी उत्कृष्ट बासस्थान मानिन्छ । यतिमात्र हैन जंगली जनावरहरु पनि यहाँ पानी खान र घुम्न आउने गर्दछन् ।

चोरी शिकारी गर्ने, नदीमा विषादी हाल्नेलाई समुदायले कानूनी कार्वाही गर्नेदेखि सामाजिक बहिस्कार गर्नेसम्मका कार्यक्रम गर्नुपर्छ । प्रारम्भ गर्दा सबै मानिसले विश्वास गर्दैन र चलिआएको चलनका विरुद्धमा जाँदा अप्ठ्यारो पनि हुन्छ । तर जब मानिसले यसको महत्व बुझ्दै जान्छ र सामाजिक र नैतिक बन्धनमा पर्छ तब ऊ पनि बाध्य भएर यसको संरक्षण, प्रचार र विकासमा लाग्छ । कुनै न कुनै समूह, व्यवसायी वा व्यक्तिले यसको पहलमा अगुवाइ गर्नुपर्छ । खासगरी यहाँको होटल व्यवसायी समितिले अहिले यसको सुरुवात र प्रचार ग¥यो भने उनीहरुको लागि दीर्घकालीन फाइदा हुने देखिन्छ । माछा, चरा, जीवजन्तुको संरक्षण, महत्वका बारेमा छलफल, गोष्ठी चलाउनुपर्छ ।

राप्ती नदी जाडो समयमा आउने चराका कारण देशभर प्रख्यात छ । तर स्थानीय पूर्वाधार विकास र प्रचार प्रसार तथा संरक्षणमा नलाग्दा यसको साख गिर्दै गएको छ । यी चराहरु चिन्ने र पर्यटकलाई देखाउन सके बर्दिया, बाँकेलगायत भालुबाङको बाटो हिड्दा एक दिन अवश्य बस्ने थिए । यसरी पर्यटकहरुको बसाई लम्ब्याएर आयआर्जन गर्न सकिने ठाउँको सही सदुपयोग गर्न सकेको छैन भालुबाङले ।

जसरी पछिल्लो समय राप्ती नदीमा ¥याफ्टिङ सम्भावनालाई पकडेको छ । यसको प्रचार प्रसार र प्रयोग गरेर पर्यटन प्रवद्र्धनमा अगाडि बढेको छ । यसरी नै चरालाई पनि राम्रो सम्भावना मानेर अगाडि बढाउन जरुरी छ । यसरी यस क्षेत्रको पर्यटनका सम्पूर्ण सम्भावनालाई प्याकेजको रुपमा अगाडि बढाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *