रुकुमको जागिर र तकसेराको चुनाव

  
  प्रकाशित मितिः बुधबार, पुस ३०, २०७१       | 259 Views   ||

KB_Mashal– केबी मसाल

हामी ट क्या साव टेस्तो एतानो उटानो गरेको त मन पर्दैन क्या साप, बस्न्या रामरासी गर्नेलाई ट क्या साव आफ्नो जीउ डिएको पनि ठा हुन्न क्या साब । यो भनाइ हो रुकुम तकसेरा गाउँका युवतीहरुको । कति सोझोपन कति ठूलो आदर्श अनि विश्वास रुकुमेली तकसेराका युवतीहरुको भावना ।

पञ्चायती व्यवस्थालाई टिकाउन दरबारको निर्देशनमा गाउँ फर्क योजना लागू गरे । राजसंस्था र पञ्चायती व्यवस्थाबिरोधी मानिस जनप्रतिनिधि नहुन् भनेर चुनावमा उठ्नको लागि गाउँ फर्कका अध्यक्षको सिफारिस आवश्यक पर्ने नीति बन्यो । त्यस समयमा म रुकुम जिल्लामा थिएँ । २०३६ सालको कुरा हो । जिल्लामा स्थानीय निर्वाचनको चहलपहल हुन थाल्यो । गाउँ फर्कका पदाधिकारीहरु पनि ठकुरी वंशका । जिल्ला पञ्चायतमा सभापतिको उमेदवार हुन लागेका पनि ठकुरी । जसको नाम थियो गोपालजीजंग शाह । उनी खलंगा गाउँ पञ्चायतको प्रधानपन्च भइसकेका थिए । पढे लेखेका बौद्धिक मानिस थिए गोपालजीजंग शाह । तर नेपाली कांग्रेसको विचारमा आवद्ध भएको कारणले उनलाई सभापति हुनको लागि टिकट पाउन कठीन भयो । नरेन्द्रबहादुर रायमाझी प्रमुख जिल्ला अधिकारी थिए । उनले र मैले गोपालजीजंगलाई टिकट दिलाउन ठूलै मेहनत गर्नुप¥यो ।

रुकुम जिल्लाको त्यसबेलाको पञ्चहरुको खिचातानी ठकुरीहरु बीच पनि शाह र मल्ल दुई खेमामा पञ्चहरु बाँडिएका थिए । रुकुमकोटबाट सदरमुकाम मुसिकोटमा सारे पछि उपल्लो भेगका रुकुमेलीहरुले आफूहरु हेपिएको, दबिएको जस्ता भावनाहरु लिने गर्दथे । बजारको व्यवस्था राम्रो थिएन । स्थानीय उत्पादनभन्दा दाङबाट घोडाबाट ढुवानी गरेको वस्तुमा कर्मचारीहरु निर्भर गर्नु पर्दथ्यो । मुसिकोट खंलगामा सामान्य चिया पसल, बालमन्दिर अगाडि नेशनल ट्रेडिङको कपडा पसल र सल्यानी टेकबहादुरको जुत्ता सिलाई एवं मर्मत पसलबाहेक मुसिकोटमा केही थिएन ।

सरकारी कार्यालयका आफ्नै भवन पनि थिएनन् । अहिलेको हुलाक त्यतिबेला प्रमुख जिल्ला अधिकारीको कार्यालय थियो । निर्वाचनको काम सबै त्यहीबाट नै हुने गर्दथ्यो । निर्वाचनको काम अहिले जस्तो हाउगुजी थिएन । जनजीवन शान्त थियो । तैपनि रुकुम जिल्लाको पूर्वी भेग– जसलाई रुकुममा पर्वत भन्ने गरिन्छ । ती ठाउँबाट भने प्रशासन सजकता हुने गर्दथ्यो । चुनावको तिथिमिति पञ्चायतकालमा पनि बैशाख, जेठमा हुने गर्दथ्यो । स्थानीय चुनाव भएको र कर्मचारीको संख्या पनि पर्याप्त नहुँदा चुनाव दुई चरणमा गर्ने निर्णय भएको थियो । सबै पञ्चायतमा चुनावको लागि डोर खटिसकेको थियो ।

चुनावको स्थलगत अवलोकन गर्न जिल्लामा मोबाइल टोलीको निर्माण गरिएको थियो । मेरो क्षेत्र रुकुम जिल्लाको पूर्वी भूगोल खाम जातिको बस्ती भएको पञ्चायतहरु परेका थिए ।

फिल्डमा आवश्यक बन्दोबस्तीका सामानसहित हाम्रो यात्रा शुरु भयो । मेरो साथमा निजामती कर्मचारी एवं सुरक्षाको लागि बिना हतियारका पाँच जना प्रहरीसहित दश जनाको टोली बनेको थियो । सदरमुकाम मुसिकोटमा त होटलको सुविधा नभएको त्यसबखत गाउँघरमा हुने त कुरै थिएन । मुसिकोटबाट हिडेको दिन हाम्रो बास नाथीगारमा भयो । नाथीगार रुकुम जिल्लाको ऐतिहासिक स्थल हो । यो पुरानो सदरमुकाम रुकुमकोटको बेंशी पनि हो । समतल फाँट स्यानो भेरीको किनार यसको महत्व र पहिचान रुकुममा छुट्टै रहेको छ । नाथिगारमा सदरमुकाम मुसिकोटको डिग्रेशाई मन्दिरमा झैं प्रत्येक कार्तिक पूर्णिमापछि पाँच दिन मेला पनि लाग्ने ठाउँ हो यसले गर्दा पनि नाथिगारको महत्व छुट्टै भएको रहेछ । हाम्रो टीम नाथिगारमा आफै खाना बनाएर रमाइलो गर्दै सामान्य होटलमा रात बितायौं । भोलिपल्ट बिहानै हाम्रो यात्रा रुकुमकोटमा थियो । पुरानो सदरमुकाम बाक्लो बस्ती, खण्डहर बनेका बजारका घर । कर्मचारी देखेपछि गाउँलेहरुको भीडले न्यानो अभिवादनसहित हाम्रो टिमलाई स्वागत ग¥यो । रुकुमकोट साँच्चिकै मनमोहक स्थल रहेछ । कमल दह जुन दहले गाउँको गरिमा बढाएको मात्र होइन नयाँ आगन्तुकलाई मनमुग्ध पार्ने स्थलसमेत लाग्यो कमलदहको सेरोफेरो ।

हाम्रो मोबाइल टिमको यात्रा कोल, तकसेरा, हुकाम र रन्मामैकोटसम्म पुग्नु थियो । रुकुमकोटको काम समाप्त भएपछि मोबाइल टिम अगाडि बढ्न थाल्यो । कोलगाउँ पुग्नुभन्दा बीच बाटोमा राङ्सी गाउँ पर्दथ्यो । राङ्सी पुग्दा उकालोमा पग्लन लागेको हिउँले म चिप्लिएँ, लगभग ४० फिट तल पुगिएछ । प्रहरीहरुको सहयोगबाट उद्धार भयो । धन्न घाउ चोट कतै लागेन । अहिले पनि हिउँ परेको स्थान देख्दा मलाई त्यहीं पुरानो क्षण स्मरण हुन्छ । हिउँले गर्दा सबै साथीहरु कक्रिनुभएको भएको थियो । राङ्सी गाउँमा पुगेपछि चिया पकाएर खाने योजना बन्यो । चियाको सबै आवश्यक सामान हामीसँगै थियो । एक जनाको घरमा चिया त पकायौ तर खाने गिलास नहुँदा थालमा चिया पिएको पहिलो अनुभव मलाई भयो । चियाको चुस्कीसँग राङ्सी गाउँको जनजीवनका बारेमा कुराकानी हुँदै थियो । कोलबाट हामीलाई लिन मानिसहरु आइपुगे ।

कर्मचारीप्रति कस्तो श्रद्धा त्यतिबेला अहिले सझिदा एकादेशको कथा जस्तो हुन्छ । कोलगाउँमा पुग्न के भ्याएका थियौं, हाम्रो स्वागतमा बाजागाजाका साथ गाउँलेहरु बाटोमा लाइनबद्ध उभिएका । ठूला राजा महाराजाको सवारीमा स्वागत गरेजस्तै कोलगाउँबासीले निर्वाचनका कर्मचारीहरुलाई गरेको अतिथि सत्कार र स्वागतले मेरो भावनामा गहिरो छाप प¥यो । कोलका पञ्चनेता कृष्णबहादुर बुढाले हामीलाई निर्वाचनको बारेमा सबै स्थलगत जानकारी दिन कोलगाउँको फेदीबाट बगेको स्यानो भेरी जसलाई उत्तरगंगा पनि भनिन्छ । त्यसको पारीपट्टि रहेको बिरगुम गाउँ जसको इतिहास लामो भएको कुरा थाहा भयो । बाइसे चौबीसे राजाहरुको पालामा तामाखानी उत्खनन गर्न मुस्ताङबाट ल्याइएका थकाली समुदायको बस्ती । गाउँको बस्तीमाथि रहेको तामाखानीको अवलोकनसमेत हामीले गर्ने मौका पायौं । कुनै समयमा बिरगुमको तामाखानीले त्यस भेगका गाउँलेहरुलाई तामाको भाँडाकुडाको आपूर्ति नै गरेको कुरा हाम्रो अध्ययनमा फेला प¥यो । विरगुमको तामाबाट बनेका ठूला रोचा, गाग्री र घरायसी प्रयोगमा आउने भाँडाकुडा विरगुम र कोलगाउँमा मात्र होइन सबै खामभाषीको गाउँमा देख्न सकियो । कोलगाउँको बसाइ हाम्रो अविस्मरणीय रहन गयो । निजामती कर्मचारी र प्रहरीप्रति जनताको आस्था, भर विश्वास गाउँलेहरुबाट पाउँदा हामी सबै निर्वाचनका टोलीहरु प्रशन्न भयौं ।

अब हाम्रो यात्रा थियो तकसेराको । कोलगाउँबाट तकसेरा जानको लागि स्यानो भेरी नदीको किनारै किनारको बाटो रहेछ । नदीको किनारको बाटो भए पनि हिड्दा मेरो मुख सुकेको थियो । म सँगै यात्रा गर्दै गरेको प्रहरी जवान टेकबहादुर बुढाले मलाई सोधे, काँक्रो खाने साव ? ती प्रहरीको घर रोल्पा थियो । खाम जातिको भएकोले उनलाई भाषाको समस्या थिएन । उनलाई त्यस भेगको सबै संस्कृति र प्रचलनको बारेमा थाहा रहेछ । एकैछिन म अचम्म मानें । काँक्रो खाने मौसम पनि होइन । जताततै सुख्खा छ । मैले भनें, के ठट्टा गरेको ? होइन साव मैले सावलाई किन ठट्टा गर्ने, खाने भए ल्याउँछु । नभन्दै टेकबहादुर नदी किनारतर्फ गयो बालुवामा के खोतल्दै थियो दुई वटा स्यानो मादलजस्तै काँक्रो लिएर आयो । म दंग परें । कोल्ड स्टोरमा त फलफूल राखेको देखेको र खाएको पनि थिएँ । तर नदीको बालुवामा यसरी काँक्रो राखेको कहिल्यै देखेको थिइनँ । काँक्रो खाँदै पछि पो थाहा भयो, त्यस भेगमा वर्षाको काँक्रो, सुन्तला र यस्तै फलफूल बालुवामा पुरेर राख्ने प्रविधिको प्रचलन रहेछ ।

नयाँ ठाउँको यात्रा बाटो काटेको थाहा नै भएन । दिनको चार बजेको थियो होला, हामी तकसेरा गाउँमा पुग्यौं । बाक्लो बस्ती एउटा घरको छाना अर्को घरको आँगन, माटाको ढलानको छाना, उपत्यका जस्तो ठाउँ, गाउँको पुछारमा स्कूल र पञ्चायतको भवन, उत्तरगंगा÷स्यानो भेरी नदीको चिसो हावा तकसेरा गाउँको रमणीय वातावरणले मलाई आनन्द दिलायो । भन्दा तकसेरा भने पनि गाउँ भने फरक रहेछ । तकबाट सेरा अलि माथि उत्तरगंगाको किनारमा गाउँ रहेछ ।

हाम्रो बसाइ पञ्चायत घरमा हुने भयो । बेलुकाको खानाको लागि तयारी हुँदै थियो, बरदास बुढा हामीलाई स्वागत गर्न केही गाउँलेको साथमा आउनुभयो । उहाँ भोलिपल्ट हुने निर्वाचनको लागि प्रधानपन्चको उमेदवारी दिने व्यक्ति पनि हुनुहुँदो रहेछ । त्यो कुरा एकैछिनको कुराकानीपछि थाहा लाग्यो । हाम्रो खाना पाक्दै थियो छुट्टिने बेला वर्तमानले हामीहरुलाई खाना खाएपछि आफ्नो गाउँको लोक संस्कृति हेर्न निम्तो दिनुभयो ।

खाम भाषा र संस्कृति हाम्रो टोलीमा धेरैलाई थाहा थिएन । प्रहरी जवान टेकबहादुरको सहारामा हामी लाग्यौं गाउँतिर । बेलुकाको आठ बजेको थियो । वरदास बुढाले हामीहरुलाई एउटा घरमा पु¥याएर उनी कता गए थाहा भएन । खाम भाषा जान्ने प्रहरी जवान पनि गाउँतिर गयो । जाडो ठाउँ झ्यालबिनाको घर । अँगेनामा आगो धुँवाको मुस्लो, एउटा ढोकाको भागले मात्र धुँवालाई बाहिर पठाउन सकेको छैन । तैपनि हामी गीत सुनिरहेका छौं । बोलीमा खाम भए पनि गीतचाहिं नेपाली भाषामा थियो । गीतको भाका पुरानो थियो । गीतले भूगोल, संस्कृति, दुःख, सुख र माया पिरतिका वेदना बोलिरहेको थियो । घर मेरो दमचन, मै मरे पनि फोटो छ सम्झना नरोऊ मायालुको भाकाका गीतले हामीहरुलाई रमाइलो बनाएको थियो । साक्षर नभएका युवा युवतीहरुले गाएका ती गीतका भावहरुले मलाई छोयो । गीतमा गरिबीका कुरा, रोजगारीका कुरा, पढ्न नपाएका कुरा, सरकारले दुर्गम गाउँलाई उपेक्षित गरेका कुराहरु वेदनापूर्ण शैलीमा व्यक्त गरिएको थियो ।

युवा युवतीको दोहरी चल्दै थियो । प्रहरी जवान टेकबहादुरको प्रवेश भयो । गाउँमा गएर उसले रक्सी खाएर आएको रहेछ । खाम भाषा जान्ने मानिस खाम भाषामा उसले युवतीहरुलाई के भन्यो हामीले बुझेनौं । एकछिन खैलाबैला भयो । मलाई डर लाग्यो । किनकि भोलिपल्ट चुनाव हुने गाउँ, रातमा कर्मचारीहरुसँग द्वन्द्व भएपछि त्यसको परिणाम राम्रो हुँदैन भन्ने कुरा मलाई लागेको थियो । एकजना युवतीले मलाई संकेत गर्दै भनिन् …हामी ट क्या साव टेस्टो एटानो.. उटानो… उनको बोलीको आवाज जस्तो भए पनि सारमा यस्तो थियो– हामी यताउता गरेको मन पराउँदैनौं, बस्ने रमाइलो गर्नेलाई आफ्नो जीउ दिएको पनि थाहा पाउँदैनौं । कस्तो त्याग, कस्तो भावना अनि कति सोझोपन टकसेराका ती युवतीहरुको । म सोच्न थालें ।

प्रहरीको अभद्र व्यवहारले गर्दा हाम्रो गीत सुन्ने कार्यक्रम स्थगित भयो । रात बित्याउनको लागि हामी लाग्यौं पञ्चायत घरतिर । सबै साथीहरु सुत्नुभयो, मलाई निन्द्रा लागेन । निन्द्रा पनि लागोस् कसरी ? भोलिपल्ट बिहान चुनाव छ । भोट हाल्न आएका मानिसहरुले बेलुकाको कुरा उठाए भने… त्यसको समाधान कसरी गर्ने ? धेरै कुरा सोच्दै थिएँ सबैभन्दा सजिलो उपाय निस्कियो सबेरै उठेर अर्को पञ्चायतको लागि बाटो लाग्ने । निन्द्रा न हो एकछिन झकाएछु ।

त्यसपछि बिहानपख सबेरै सबैलाई उठाएँ, उनीहरुसँग सबै कुरा भन्न आवश्यक ठानिनँ । पहिल्यै निर्वाचनको डोरमा खटिएका कर्मचारीहरुलाई निर्देशन दिदै भनें– सबै कुरा ठीकै रहेछ चुनाव राम्रो तरिकाबाट गराउनुहोला । हामी काँक्री पञ्चायततर्फ लाग्दछौं । मेरो कुराले सबैलाई आतुर बनायो । झोला, गुण्टा कस्न थाले । झिसमिसे उज्यालो भइसकेको थियो । म बाहिर निस्किएँ, यताउति के हेर्दै थिएँ, माथि गाउँबाट एक जना मानिस हिड्दै आएको देखें । हेर्दा हेर्दै नजिकै आएपछि थाहा भयो उनी रहेछन् बेलुका हामीहरुलाई छोट्टी बस्ने घर पु¥याइदिने मानिस बदरास बुढा जो प्रधानपञ्चका उमेदवार थिए । म एकदम डराएँ, अब के हुने हो ? प्रहरीको गल्तीले मैले स्पष्टिकरण दिनुपर्ने भयो । उनी मुसुमुसु हाँस्दै थिए– मैले सम्झिएँ यो व्यङ्ग्य हो । हाम्रो टिम यात्राको लागि तयार भइसकेको थियो । बदरासले सबैलाई इंगित गर्दै भने, तपाईंहरु कस्तो तस्टो गरेर पनि माया हुन्छ ट ? बस्न्या रामरासी गन्र्या अनि पो हुन्छ…। मेरो डर र सोच सबै सकियो ।

तकसेरा पञ्चायत त्यसै साल २०३६ बाट बाग्लुङ जिल्लाको ढोरपाटन पञ्चायतबाट रुकुम जिल्लामा गाभिएको थियो । स्थानीय बासिन्दाको कुरा अनुसार बाग्लुङको तक र रोल्पाको सेरा भन्ने गाउँबाट परापूर्वकालदेखि मानिसहरु त्यस ठाउँमा आएर बसोबास गरेको हुनाले गाउँको नाम पनि तकसेरा रहन गएको रहेछ । पञ्चायतकालमा दुर्गम क्षेत्रमा पिस्कोर भोलेन्टियर गाउँका विद्यालयमा गएर पढाउने र उनीहरुले त्यस ठाउँको भाषा, संस्कृति र अन्य मानवतासँग जोडिएका विषयमा अध्ययन गर्न सरकारले अमेरिकी र बेलायती नागरिकहरुलाई अनुमति दिने गर्दथ्यो । पिस्कोर भोलेन्टियरको प्रभावमा उतिबेला रुकुम जिल्लाको खाम मगर बस्तीहरुका धेरै जना कानूनले बन्देज गरे पनि क्रिश्चियन बनेका थिए । त्यसैले प्रशासनको दृष्टिकोणमा स्थानीय भाषाअनुसार रुकुमको पर्वत क्षेत्र सरकारी काममा सहज मानिने थिएन ।

मुसिकोटबाट यात्रामा निस्किने बेलामा मलाई सिडिओ नरेन्द्रबहादुर रायमाझीले निर्देशन दिएका थिए । खाम जातिको क्षेत्र हो राम्रो तरिकाबाट यात्रा गर्नुहोला । व्यवस्था विरोधीहरुको अखडा हो । जे पनि गर्न सक्दछन्, सजक भएर काम गर्नुहोला । तर मैले तकसेरामा ठीक उल्टो पाएँ, यति सोझा गाउँलेहरुलाई प्रशासनले धर्म परिवर्तन गर्न खोजेकै कारण पर्वतका पञ्चायतहरुलाई नै गोप्यरुपमा कालोसूचिमा राखेको रहेछ । मेरो सोंच नै परिवर्तन भयो ।

प्रधानपञ्चको उमेदवार बदराससँगको कुराकानीबाट मेरो योजना भताभुङ्ग भयो । झोला, गुण्टा बाँधेका कर्मचारी साथीहरु पनि खाना खाएर हिड्ने योजनाले खुशी भएँ । तक गाउँको पुछार खोलाको किनारमा रहेको विद्यालयमा निर्वाचनको केन्द्र थियो । एकैछिनपछि गाउँलेहरुको लस्कर विद्यालयतिर लागेको देखियो । मतदान अधिकृतलाई सबै निर्देशन दिएर हाम्रो यात्रा सुरु भयो सेरा गाउँतिर । तक र सेरा दुई भिन्न गाउँ थिए । उत्तरगंगा जसलाई स्यानो भेरी पनि भनिन्छ । नदी किनारको खेत देख्दा पनि रहरलाग्दो । नदीको निर्मल पानी । बाटोबाटै देखिने माछाको लुकामारी । हामीहरुलाई सेरागाउँमा खाना खुवाउन व्यवस्था मिलाउन तकबाट आएका एक जना शिक्षक थिए । हामी सबैको दृष्टि खोलामा खेलेका माछामा परेकोले उनले सोधिहाले, सावहरुलाई माछा मन पर्छ ? मैले त्यसको उत्तर दिएँ, हेर्नमात्र हो र खान पाए झन कति राम्रो हुने थियो । शिक्षकले भने, त्यसो भए खानासँग माछा खाने व्यवस्था मिलाउँला । बाटोमा हिड्दै थियौं शिक्षकले हामीलाई तकसेरा पञ्चायतको बारेमा बताउन थाल्नुभयो । यो पञ्चायत पहिला बाग्लुङको ढोरपाटन पञ्चायत थियो । यो सालबाट रुकुममा परेको हो । यो पञ्चायत यो उत्तरगंगाको किनारबाहेक सबै पहाड पर्दछ । सामुन्द्रिक सतहबाट १ हजार ८ सय ९९ मिटरदेखि लिएर ४ हजार ५ सय ३५ बोबाङको धुरीसम्म यो पञ्चायत फैलिएको छ । हाम्रो पञ्चायतमा त सबै खाम मगरको बसोबास छ हजुर । शिक्षा, स्वास्थ्य, यातायात सबै कुराबाट पछाडि परेको ठाउँ हो यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *