आर्यघाटको एक छेऊमा उभिएर
म जिन्दगीको अंकगणितका
एक(एक फर्मुला घोकिरहेछु ।
सागरको विशालतालाई
बनकसको डोरीले कसे पनि
आफैलाई माथ गर्दै अग्लिएर
प्याट्ट हिर्काए पनि
सगरमाथाको टाउकोमा
फलामका प्वाँख गाँसेर
पुगे पनि ताराहरुको देशमा
अनि
भेट्नलाई जीवनको समुन्द्र
बगाए पनि आँसुको नदी
आफैसँग प्रश्न
अनि गुनासो गर्न नपाएर
सबै
सेतो कपडामा
निरीह बनेर
अरुको सहारामा टेक्दै
बेदाग यही आउँछन्
र पाउँछन्
नरुझाउने केही थोपा आँसु
अनि नपोल्ने केही झिल्को आगो ।
आर्यघाटको एक छेऊमा उभिएर
म जिन्दगीको अंकगणितका
एक–एक फर्मुला घोकिरहेछु ।
यो त्यही ठाउँ हो जहाँ बुद्ध पनि आए
हिटलर पनि आए
संसार जितेर बाँच्न खोज्नेहरु
अन्ततः
आफैसँग हारेर आए
अनि
कोही बाँचेर मरे
कोही मरेर बाँचे
कोही मरेर मरे
जीवनका परिभाषाहरुको थुप्रोलाई
निर्लज्ज टेकेर मलाई पनि त आउनु छ
केही थोपा आँसु
अनि केही झिल्को आगो पाउन
जहाँ उभिएर
म जिन्दगीको अंक गणितका
अपरिभाषित फर्मुला घोकिरहेछु ।
०००