कृषि व्यवसायबाट आम्दानी बढाउँदै रामपुर

  
  प्रकाशित मितिः बुधबार, पुस ३०, २०७१       | 151 Views   ||

tarkariदाङ । घोराही सदरमुकामदेखि करिब १२ किलोमिटर पूर्व, उत्तरमा पर्ने रामपुर गाविस तरकारी खेतीका लागि जिल्लाकै प्रसिद्ध ठाउँका रुपमा परिचित छ । जहाँबाट दैनिक चार टन तरकारी घोराही बजारमा आउने गर्छ भने सोही अनुपातमा अन्य उत्पादित वस्तुहरुको निर्यात पनि हुँदै आइरहेको छ ।

रामपुरबाट दैनिक १२ सय लिटर दूध, १ हजार ३ सय अण्डा, २ क्वीन्टल चल्लाका साथै बार्षिक रुपमा ५ हजारको हाराहारीमा खसी, बाख्रा र १२ टन मह बाहिर जाने गरेको रामपुर–८ का कृषि व्यवसायी धनञ्जय आचार्यले जानकारी दिनुभयो । कृषि व्यवसायी आचार्यका अनुसार रामपुर गाविसका ३ सय घर, परिवारले तरकारी खेती गर्दै आइरहेका छन् भने १ सय घर, किसानले बाख्रापालन, २ सय ५० घर किसानले भैसीपालन र २५/२६ घरपरिवारले माहुरीपालन व्यवसाय गदै आइरहेका छन् ।

व्यवसायिक रुपले कृषि उत्पादन बढाउँदै लगेका रामपुर गाविसका ७५ प्रतिशत मान्छेहरु कृषि व्यवसायमा नै निर्भर रहेर आर्थिक आम्दानीको बाटो अंगालिरहेको बताउनु हुन्छ साना किसान कृषि सहकारी संस्था लिमिटेड रामपुरका प्रबन्धक डिल्लीराज ज्ञवाली । प्रबन्धक ज्ञवालीका अनुसार रामपुरमा रहेका ८ वटा सहकारीमध्ये ६ वटा कृषि सहकारी रहेको र बाँकी २ वटा ऋण तथा बचत सहकारी रहेका छन् ।

विभिन्न समूह र सहकारी मार्फत व्यवसायिक चेतना बढाउँदै गएका रामपुरका किसानहरु कृषि व्यवसायबाटै आत्मनिर्भर बन्दै गइराखेको ज्ञवालीको भनाई छ । सिचाई कुलोको समस्या नहुने हो भने तरकारीबाट सिङ्गो दाङलाई पाल्न सक्ने क्षमता रामपुर गाविसले राख्ने दावी ज्ञवालीले गर्नुभयो । रामपुरमा सिचाइमा लागि वालिमखोलाको पानी प्रशस्त भएपनि कुलो, नहर नहुँदा हिउँदमा यहाँका किसानहरु सिचाई सुविधाबाट बञ्चित हुँदै आइरहेका छन् ।

कृषि व्यवसायमा उत्साहजनक रुपले अघि बढिरहेको रामपुर गाविस पर्यटन क्षेत्रको संरक्षण र संम्वद्र्धनमा पनि अग्रसर देखिएको छ । जिल्लामा नाम चलेका भोटे दह, चरिङ्गे दह, किचेनी दह, मालझाँक्री गुफा, छरछरे झरणा र गढीमाईको लेखजस्ता पर्यटकीय ठाउँहरु रामपुरमा पर्ने गर्छन् । कृषिमा मात्र नभई पर्यटनमा समेत राम्रो सम्भावना बोकेको रामपुरमा रहेका भोटे र चरिङ्गे दहले २ सय विघा जमिनलाई सिचाई पानीको सुविधा पु¥याइरहेको रामपुर–३ बुकाका शिक्षक नारायण थापाले बताउनुभयो ।

भौतिक संरचना निर्माणको अभावमा पर्यटक आर्कषण नदेखिएपनि भोटे र चरिङ्गे दहमा विभिन्न ठाउँबाट दैनिक पिकनिकमा आउँनेको संख्या बढ्दै गइरहेको शिक्षक थापाले बताउनु भयो । पर्यटक तान्ने चरिङ्गे दहमा अघिल्लो बर्ष जिविसले बजेट हाली राम्रो पिकनिक स्पोट निर्माण गरेको छ भने भोटे र किचेनी दहमा रुपान्तरण संस्थाले ४६ लाखको बजेट हाली दह उत्खनन, खानेपानी निर्माण र पिकनिक स्पोट निर्माण कार्य थालेको जानकारी रामपुर–४ साइपुरका स्थानीय नवराज रेग्मीले दिनुभयो ।

कृषि व्यवसाय र पर्यटन क्षेत्रबाट ठूलो आर्थिक स्रोत जुटाउन सक्ने आधार बोकेको रामपुर पक्की बाटो नहुँदाको अभावमा ओझेलमा परिराखेको छ । धेरै कृषि क्षेत्रमा धेरै उत्पादन दिने र जिल्लाको पर्यटक गन्तव्य बन्न सक्ने रामपुरमा सिचाई कुलोको व्यवस्था, घोराही–रामपुर पक्की मोटरबाटो र पयर्टन स्थलहरुमा आवश्यक भौतिक पूर्वाधार निर्माणमा सरकार र स्थानीयको ध्यान पुग्न सके रामपुर दाङकै प्रमुख आयस्रोतको गाविस बन्ने सम्भावना देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *