बजेट अभावमा शुरु भएन कोशेली घर

  
  प्रकाशित मितिः बुधबार, पुस ३०, २०७१       | 153 Views   ||

दाङ । दाङको तुलसीपुरमा प्रस्ताव गरिएको कोशेली घर बजेट अभावमा स्थापना हुन सकेको छैन । विभिन्न निकायको आर्थिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रमअन्तर्गत कोशेली घर स्थापना गर्ने लक्ष्य भए पनि बजेट अपुग भएका कारण शुरु हुन नसकेको तुलसीपुर उद्योग वाविणज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिए । ‘बजेट नबढाउँदासम्म हामीले कोशेली घर सञ्चालन गर्न सक्दैनौं,’ उनले भने, ‘उद्योग वाणिज्य महासंघलाई हामीले यस विषयमा जानकारी गराइसकेका छौं ।’

कोशेली घर सञ्चालनका लागि न्यूनतम ५ लाख रुपैयाँ लाग्ने भए पनि महासंघबाट डेढ रुपैयाँ मात्र स्वकृत भएको रिजालले जानकारी दिए । ‘यसमध्ये पनि अहिले ७५ हजार रुपैयाँ मात्र प्राप्त भएको छ,’ उनले भने, ‘तुलसीपुरमा कोशेली घरको आवश्यकता भए पनि सञ्चालनमा कठिन देखिएको छ ।’ केही दिनभित्रै उवासंघको टोली काठमाडौं गएर यस विषयमा पहल गर्ने रिजालले जानकारी दिए । उवासंघले स्थानीय उत्पादनको प्रवद्र्धनका लागि कोशेली घर स्थापना गर्ने योजना अघि सारेको छ ।

कोशेली घरमा स्थानीयस्तरमा हातबाट उत्पादन हुने विभिन्न सामानको बिक्री गरिने रिजालले जानकारी दिए । ‘कोशेली घरमा दाङका थारु समुदायले परम्परागत रुपमा उत्पादन गर्ने ढकियाहरु राख्ने योजना रहेको छ,’ उनले भने, ‘विशेष गरेर चोयाबाट उत्पादन हुने सामानहरु राखिने छ ।’ दाङको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न कोशेली घरको भूमिका महत्वपूर्ण हुने रिजालले जानकारी दिए । स्थानीय उत्पादनको प्रवद्र्धन गर्नु राज्यको पनि दायित्व भएकाले यसमा सरकारले लगान िगर्ने पर्ने उनको भनाई छ ।

केन्द्रबाट प्राप्त बजेटले कर्मचारीको तलब खर्च नै नपुग्ने अबस्था देखिएकाले त्काल कोशेली घर सञ्चालन गर्न नसकिएको रिजालले जानकारी दिए । ‘कोशेली घर स्थापना गरे पछि परम्परागत रुपमा हाटबाट बस्तु निर्माण गर्ने उत्पादकहरुलाई बजारमा समस्या पर्ने छैन,’ उनले भने, ‘पर्यटकहरुलाई समेत बस्तु खरिदका लागि विभिन्न ठाउँ खोजिरहनु पर्दैन ।’ कोशेली घरमार्फत् उवासंघले उत्पादक र खरिदकर्ताबीच पुलको काम गर्ने रिजालले बताए । उवासंघले विशुद्ध सेवा भावमार्फत् कोशेली घरको अबधारणा ल्याएको उनको भनाई छ । स्थानीय उत्पादनको प्रवद्र्धन गर्नु उवासंघको दायित्व भएको धारणा व्यक्त गर्नै रिजालले यसमा सहयोग गर्न सबैलाई आग्रह समेत गरे ।

कोशेली घर सञ्चालनका लागि सरकारी प्रकृयासमेत झन्झटिलो देखिएको रिजालले जानकारी दिए । सहकारी दर्ता गर्नुपर्ने र यसको प्रक्रिया कठिन भएकाले पनि आफूहरुलाई काम गर्न अप्ठ्यारो परेको उनले बताए । ‘सरकारी नीति नियमले व्यवसायीहरुलाई हरेक क्षेत्रमा काम गर्न समस्या भएको छ,’ उनले भने, ‘समग्र उद्योग व्यवसाय र पर्यटन प्रवद्र्धनका लागि राज्यले नीतिगत रुपमा सहयोग गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *