बन्दले जनजीवन प्रभावित

  
  प्रकाशित मितिः बुधबार, पुस ३०, २०७१       | 157 Views   ||

दाङ । सहमतिमा संविधान ल्याउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको ३० दलीय मोर्चाले आयोजना गरेको बन्दले यस क्षेत्रको जनजीवन प्रभावित पारेको छ । बन्दका कारण मंगलबार जिल्लाका बजार, उद्योग, कलकारखाना, शैक्षिक संस्था र यातायात चलेनन् भने पसलहरु पनि बन्द रहे ।

बन्दका क्रममा देशका विभिन्न भागमा झडप, तोडफोड र गिरप्तारीका घटना भए पनि दाङमा भने त्यस्तो कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मंगलबार बिहान प्रशासन, दाङ उद्योग वाणिज्य संघ र बन्दकर्ताहरुको संयुक्त छलफलपछि जिल्लामा दिउँसो १ बजेदेखि बन्द फिर्ता लिइएको एकीकृत नेकपा
(माओवादी) दाङका उपाध्यक्ष निर्मल आचार्यले जानकारी दिनुभयो । जिल्लामा एकै दिन तीन वटा नगरपालिकाको नगर परिषद् चलिरहेको हुँदा सबैको आग्रहमा दिउँसो ४ बजेसम्म चल्ने बन्दको कार्यक्रमलाई छोट्याएर १ बजे नै फिर्ता लिइएको उहाँले बताउनुभयो ।

लमहीमा जारी महोत्सवलाई मध्यनजर गर्दै बन्दकर्ताहरुले देउखुरी क्षेत्रमा भने बन्द नगर्ने यसअघि नै निर्णय गरिसकेका थिए ।

यसैबीच बन्दकर्ताहरुले घोराहीमा बिहान १० बजेतिर घोराहीको तुलसीपुरचोकबाट निकालेको ¥यालीले बजार परिक्रमा गरी तुलसीपुरचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै एकीकृत नेकपा (माओवादी) दाङका उपाध्यक्ष निर्मल आचार्यले आफूहरुको शान्तिपूर्ण कार्यक्रममा प्रतिकार गर्न भन्दै कांग्रेस–एमालेका कार्यकर्ताहरुले मण्डले प्रवृत्ति दिएको आरोप लगाउनुभयो । उहाँले आफूहरुको संयमतालाई कमजोरी नठान्न आग्रह गर्दै पेलेरै जान खोजिए त्यसको परिणाम गम्भीर हुने चेतावनी समेत दिनुभयो । सो अवसरमा संघीय समाजवादीका तिलबहादुर पुनले पनि कोणसभालाई सम्बोधन गर्नुभएको थियो ।

यसैबीच बन्दको प्रतिकार गर्न भन्दै बिहान घोराहीमा सत्तापक्षीय दल कांग्रेस, एमालेसम्बद्ध तरुण दल, युवा संघका कार्यकर्ता र ती दलपक्षधर केही व्यापारीहरु सडकमा उत्रिएका थिए । तर, बन्दको फिर्ता लिने सहमति भइसकेको हुँदा त्यस्तो अप्रिय घटना भने भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *