दाङ, ३० पुस । चालु आर्थिक वर्षमा दाङमा अति विपन्न र गरिब बादी तथा गन्धर्व समुदायका ४० घर बन्ने भएका छन् । बादी र गन्धर्व समुुदायको बस्ती सुधार गर्ने उद्देश्यले सरकारले शुरु गरेको ‘जनता आवास कार्यक्रम’अन्तर्गत बादी समुुदायका २० र गन्धर्व समुुदायका २० गरी ४० घर बनाउन लागिएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङले बताएको छ ।
जसका लागि सरकारले चालु आर्थिक वर्षमा ८२ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको कार्यालयका नायव सुुब्वा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुुसार ४० घर निर्माणका लागि जनता आवास जिल्लास्तरीय समन्वय समितिले शहरी विकास मन्त्रालयको केन्द्रीय निर्देशन समितिमा सिफारिस गरेको छ । ‘बजेट आएको छ, सो बजेट अनुुसार आवास निर्माणको अनुुमतिका लागि केन्द्रीय निर्देशन समितिमा सिफारिस गरेका छौं’, उहाँले भन्नुभयो– ‘माथिबाट निर्देशन आउनासाथ कामको प्रक्रिया अघि बढ्छ ।’
माथिल्लो निकायबाट कामका लागि निर्देशन भए जिल्लाका अति विपन्न र गरिब बादी र गन्धर्व समुुदायबाट आवासका लागि आवेदन आह्वान गरिने र बस्ती अनुुगमनलगायतका काम शुुरु हुने भवन डिभिजन कार्यालयले जनाएको छ । कार्यक्रम कति ढिलो र कति छिटो भन्नेमा माथिल्लो निकायको निर्देशनमा भर पर्ने भएकाले केन्द्रीय समितिबाट कार्यान्वयनका लागि परिपत्र हुुनासाथ काम अघि बढ्ने नासुु पौडेलको भनाई छ ।
गत वर्ष जिल्लाका घोराही, हापुुर, ढिकपुुर हलवार, सौडियार, तुुलसीपुर, शान्तिनगर र नारायणपुरमा बादी समुुदायका १० र गन्धर्व समुुदायका १० गरी २० घर निर्माण गरिएको थियो । जसका लागि प्रतिघर १ लाख ८५ हजार रुपैयाँका दरले करीब ४० लाख बजेट खर्च गरिएको थियो । जनता आवास कार्यक्रमअन्तर्गत सरकारले अति विपन्न र गरिब बादी र गन्धर्व समुुदायलाई दुुई कोठाको आवास निर्माणका लागि सहयोग गर्दै आएको छ ।