घोराही नपाको बजेट साढे १५ करोड, तुलसीपुर नपाको १९ करोड र लमहीको ९ करोड
जनक नेपाली
दाङ । आर्थिक वर्ष २०७२/०७३ का लागि घोराही नगरपालिकाले साढे १५ करोड बजेट विनियोजन गरेको छ । मंगलबार सम्पन्न नगरपालिकाको १९औं नगरपरिषद्बाट उक्त बजेट विनियोजन गरिएको हो ।
परिषद्बाट आ.ब. २०७२/७३ का लागि १५ करोड ६४ लाख ८१ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । कुल बजेटको झण्डै ५९ दशमलव २९ प्रतिशत बजेट पूँजीगततर्फ विनियोजन गरेको घोराही नगरपालिका कार्यकारी अधिकृत तुफानसिंह केसीले जानकारी दिनुभयो । जसअन्तर्गत आर्थिक बर्ष २०७०/०७१ को तुलनामा ४ करोड ५३ लाख ९७ हजार अर्थात् २९.०२ प्रतिशत बढी रहेको कार्यकारी अधिकृत केसीको भनाई छ ।
पूँजीगततर्फ ९ करोड २७ लाख ८६ हजार, चालुुतर्फ ६ करोड ३६ लाख ९४ हजार ६ सय ४८ रुपैयाँ अर्थात् ४० दशमलव ७१ प्रतिशत रहेको छ । कार्यक्रममा विनियोजित बजेटबारे जानकारी गराउँदै नगरपालिकाका कार्यकारी अधिकृत तुफानसिंह केसीले पुँजीगत अन्तर्गत सबै जातजाति, विपन्न वर्गका महिला लक्षित ३८ वटा कार्यक्रमको लागि ३७ लाख ३५ हजार, बालबालिका लक्षित ४३ वटा कार्यक्रमका लागि ५६ लाख २ हजार ५ सय, पछाडि पारिएका वर्ग लक्षित ६२ वटा कार्यक्रममा ५६ लाख २ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको बताउनुुभयो ।
त्यसैगरी भौतिक पूर्वाधार विकासका २४ वटा कार्यक्रमका लागि १ करोड ३४ लाख ४६ हजार, प्रर्वद्धनात्मक ५५ वटा कार्यक्रमका लागि ८९ लाख ६४ हजार, स्थानीय विकास शुुल्कतर्फ १ करोड १७ लाख ८८ हजार, जगेडा कोषतर्फ ३ करोड, नगरपालिका क्षेत्रमा सडक मर्मतका लागि सडकबोर्डतर्फ ४५ लाख र अन्य निकायतर्फबाट ४ लाख विनियोजन गरिएको छ । परिषदबाट हरेक वडामा २०/२० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
चालुतर्फ प्रशासनिक खर्चतर्फ ३ करोड ५८ लाख ९४ हजार अर्थात् २२ दशमलव ९४ प्रतिशत रहेको छ । त्यस्तै चालु खर्चतर्फ २ करोड ६५ लाख ५० हजार ६ सय ४८ रुपैयाँ बजेटमध्ये बालबालिकाको क्षेत्रमा ५० लाख, सहरी स्वास्थ्य केन्द्र सञ्चालनतर्फ ६ लाख, स्थानीय शान्ति समितिलाई ५० हजार, अम्बिकेश्वरी मन्दिरका लागि ३ लाख ५० हजार, साझेदारी विकास कार्यक्रममा २ लाख ५० हजार, समाजिक सुरक्षा कार्यक्रमअन्तर्गत २ करोड र स्थानीय सुशासन समुदायिक विकास कार्यक्रमका लागि १५ लाख ५० हजार विनियोजन गरिएको अधिकृत केसीले जानकारी दिनुभयो ।
विनियोजित बजेटअन्तर्गत आन्तरिक स्रोतबाट ३ करोड २६ लाख आय अनुमान गरिएको छ भने नेपाल सरकारबाट प्राप्त हुने केन्द्रीय अनुदानतर्फ ६ करोड ३५ लाख ९९ हजार, आयोजना कार्यक्रमबाट २ करोड २५ लाख र अन्य निकायबाट ६४ लाख र जिल्ला मालपोत रजिष्टे«शन, लागत सहभागिता र साझेदारी विकास कोषबाट २ करोड ४२ लाख ५० हजार ६ सय ४८ रुपैयाँ गरी ११ करोड ६७ लाख ४९ हजार ६ सय ४८ रुपैयाँ आय अनुमान गरिएको कार्यकारी अधिकृत केसीले जानकारी दिनुुभयो । त्यस्तै गत वर्षको आन्तरिक स्रोततर्फको मौज्दातबाट ७१ लाख ३१ हजार ३ सय ५२ रुपैयाँ आय अनुमान गरिएको छ ।
घोराही नगरपालिकाका इञ्जिनियर रामधन श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कांग्रेस दाङका सचिव शंकरप्रसाद डागी, एमाओवादी दाङका उपाध्यक्ष निर्मल आचार्य, नेकपा–माओवादी दाङका सेक्रेटरी सुवास पुन, नेकपा मालेका नेत्रप्रकाश पाण्डे, नागरिक समाजका सचिव चन्द्रराज पन्त, दाङ उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडे, स्थानीय शान्ति समिति दाङका संयोजक बमबहादुर डिसी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमलगायतले बोल्नुभएको थियो ।
कार्यकारी अधिकृत तुफानसिंह केसीको अध्यक्षता एवं सभासद् राजु खनालको प्रमुख आतिथ्य एवं सभासद् अनिता देवकोटाको विशिष्ट आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन नगरपालिकाका सूचना अधिकृत प्रेम केसीले गर्नुभएको थियो ।
यसैबीच तुलसीपुर नगरपालिकाले आ.ब. २०७२/७३ का लागि १९ करोड ३१ लाख २० हजार बराबरको बजेट प्रस्ताव गरेको छ । जसअनुसार पूँजीगततर्फ १६ करोड ५५ लाख २० हजार र चालुतर्फ २ करोड ७६ लाख बजेट विनियोजन गरिएको छ । तुलसीपुर नगरपालिकाको मंगलबार सम्पन्न १९ औं नगरपरिषद्मा नगरपालिकाका कार्यकारी अधिकृत डिल्लीराज बेलबासेले उक्त बजेट विवरण पेस गर्नुभएको हो ।
यसैबीच लमही नगरपालिकाले आ.व. २०७२/०७३ का लागि झण्डै ९ करोडको अनुमानित बजेट प्रस्ताव गरेको छ । नगरपालिकाको पहिलो नगरपरिषद्ले चालुतर्फ ९३ लाख ६१ हजार चार सय २५ रुपैयाँ र पूँजीगततर्फ ६ करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । नगरपालिकाका कार्यकारी अधिकृत चन्द्रकान्त पौडेलले आगामी आ.व.को बजेट प्रस्तुत गर्नुभएको हो ।