थारु जातिको महान पर्व माघी र यसको महत्व

  
  प्रकाशित मितिः बुधबार, पुस ३०, २०७१       | 356 Views   ||

Santosh_dahit1– सन्तोष दहित

पृष्ठभूमि :

नेपालका भूमिपुत्र थारु जातिहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा छुट्टै पहिचान रहिआएको छ । आफ्नो उच्च भेषभुषा, रहनसहन, भाषा, संस्कृति एवम् जीवनशैली अत्यन्त रोचक र फरक रहेको छ । थारु समुदायका मानिस स्वभाव सरल, इमान्दार एवम् परिश्रमका पारखीका रुपमा पनि चिनिने गर्दछन् । प्रकृतिसँग अत्यन्त नजिक सम्बन्ध रहेका थारु जातिहरु समृद्ध संस्कृतिका धनी मानिन्छन् । त्यसैले होला थारु समुदायले प्रत्येक महिना कुनै न कुनै चाडपर्व मनाउँदै आएको पाइन्छ । थारु जातिको अरु जति पर्व मनाए पनि उनीहरुको महान पर्व भनेको माघी नै हो ।

थारु समुदायले माघी पर्वलाई महान पर्वको रुपमा मनाउँदै आएको पाइन्छ । यति मात्र नभएर यो माघी पर्वमा थारु समुदायले नयाँ वर्षको रुपमा पनि मनाउदै आएका छन् । निकै धुमधामका साथ उल्लासमय वातावरणमा थारु जातिका समुदायले माघी पर्व मनाउँदै आएका छन् । यो माघी पर्वमा थारु समुदायका मानिसले करिब सात दिनसम्म मनाउँदै आएको पाइन्छ । वर्षको एकचोटी मनाउने थारु समुदायको अरु पर्वभन्दा फरक तरिकाले र निकै महत्वका साथ मनाउँदै आएको पाइन्छ । हरेक वर्ष माघ महिनाको १ गतेदेखि अर्थात् माघेसंक्रान्तिको दिनदेखि थारु समुदायले माघी पर्व मनाउँदै आइरहेका छन् । निकै महत्वका साथ हेरिने यो पर्वमा थारु जातिका समुदायले वर्षभरिको नियम कानूनसमेत बनाउने गरेका छन् । त्यसैगरी गएको वर्षमा के कति काम भयो त्यसको लेखाजोखा समेत माघी पर्वमा थारु समुदायले गर्दै आएका छन् । माघी पर्वलाई भव्य तरिकाले मनाउनको लागि थारु समुदायले करिब एक महिना अगाडिदेखि तयारीमा लागेका हुन्छन् । पर्व र नयाँ वर्ष सँगसँगै खुशीयालीको रुपमा मनाउने माघी पर्व पश्चिम नेपालका तराइका जिल्लाहरु कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्ला गरि सात जिल्लाका थारु समुदायले भव्यताका साथ उल्लासमय वातावरणमा मनाउँदै आएको पाइन्छ ।

माघीको पहिलो दिन :

माघीको पहिलो दिन माघ १ गतेका दिन बिहान ४ बजे उठेर नजिकैको खोला तथा बबईमा नुहाइधुवाई गरि घरमा आएर निसराउ ‘कहर्ना’ निकाल्ने चलन छ । निसराउ तीनथरिको हुन्छ । चामल, नुन र मास हुन्छ यी सबैबाट तीन/तीन पटक निकालेर अर्काे टपरीमा राख्ने चलन छ जसलाई थारु भाषामा निसराउ ‘कहर्ना’ भनिन्छ । निसराउ निकालिसकेपछि घरका बाजे, बज्यै, बुबा आमा, काका, काकी, दाइभाउजुहरुबाट आशिर्वाद लिने चलन छ । त्यसैगरी घरमा आशिर्वाद लिइसकेपछि गाउँका सबै इष्टमित्रहरुलाई भेटी ठूलाहरुसँग आशिर्वाद, आदार सानालाई माया सम्मान गर्ने पनि चलन रहेको छ । यसरी सबैसँग भेटघाट तथा ढोग सेवा, आशिर्वाद लिइसकेपछि घरपरिवारका सबै सदस्यहरु एउटै कोठामा बसेर ढिक्री, मासु, तरुलसँगै मिठो मिठो परिकार खाँदै दुःख सुखको कुरा साटासाट गरिन्छ । यसैगरी घरपरिवारमा वर्षभरिको लागि के–के काम गर्ने, कुन कामको जिम्मा कसलाई दिने लगायत घरपरिवारभित्र गरिन्छ भने सबैले खानपिन गरिसकेपछि गाउँका गरधु¥याहरु महटवाको घरमा जुट्ने चलन हुन्छ । त्यही दिन सबै गरधु¥याहरुले महटावा, अघवा तथा चौकीदार चयन गर्छन् ।

त्यस्तै, यो वर्षमा के–के भयो ? के–के काम गर्न बाँकी छ त्यसको समीक्षा गर्नुको साथै आगामी दिनको लागि वर्षभरिको कार्ययोजनासमेत थारु समुदायले माघीको दिन बनाउने गर्छन् । यद्यपि यति धेरै कामको समीक्षा कुनै गाउँमा त्यही दिन सक्छन् भने कोही गाउँमा त्यो नसके भोलिपल्ट बस्ने गर्छन् । त्यस्तै कुनै गाउँमा भने माघीको पहिलो दिन महटवा, अघवा र चौकीदार छानिसकेपछि माघी मनाएर केही दिनपछि वर्षभरिको कार्ययोजना बनाउने चलन छ । यता भने थारु युवायुवती तथा केटाकेटी भने माघी मनाउँदै मघौटा नाच्ने गर्दछन् । यसरी थारु समुदायले माघीको पहिलो दिन माघी मनाउने चलन छ । अझै माघीको पहिलो दिन महिलाभन्दा पनि पुरुषले मात्र मनाउने गरेका छन् । त्यसैले माघीको पहिलो दिनलाई थारु भाषामा ‘थारुन्हक माघ’ अर्थात् पुरुषको माघी भनिन्छ । यो दिन पुरुषले मात्र माघी मनाउने र नाच्ने गर्दछन् ।

माघीको दोस्रो दिन :

माघ २ गते अर्थात् माघीको दोस्रो दिन भनेको थारु महिलाहरुको ‘जन्नीन्हक माघ’ माघी हो । यो दिन पुरुषको भन्दा पनि महिलाहरुले विशेष गरी माघी मनाउने भएकोले पनि थारु महिलाहरुको माघी भनिन्छ । यद्यपि यो दिन पुरुषले पनि मनाउने गर्छन् । माघीको दोस्रो दिनमा पनि पहिलाको दिन नसकेको काम थारु पुरुष तथा गरधु¥याहरु महटावाको घरमा जुटेर वर्षभरिको कार्ययोजना बनाउने गर्दछन् । यसैदिनदेखि थारु महिला तथा पुरुषहरुले सँगै मिलेर धुमधामका साथ मघौटा नाच नाच्ने गर्दछन् ।

माघीको तेस्रो दिन :

माघ ३ गते अर्थात् माघीको तेस्रो दिन पनि थारु समुदायका महिला तथा पुरुषहरुले भव्यताका साथ माघी मनाउने गर्छन् । यो दिन माघको १ र २ गतेका दिन नपुगेको घर–घरमा गएर पहिलाजस्तै भेटघाट तथा माघीको शुभकामना आदान प्रदान गरिन्छ । अर्थात् थारु भाषामा ओरौउनी माघ भनेर यो दिन पनि माघी मनाउने नाचगान गर्ने गर्र्दछन् । तथापि मघौटा नाच भने माघ महिनाको करिब ७ गतेसम्म नाचिन्छ । धेरै महत्वका साथ नाचिने यो मघौटा नाचमा आफ्नो गाउँदेखि छिमेकी गाउँसम्म गएर नाच्ने गरेको पाइन्छ । मघौटा नाच साँझको ३ बजेदेखि राती ११/१२ बजेसम्म घरघरमा गई नाच्ने गरेको पाइन्छ । केटाकेटी, युवायुवती तथा महिला पुरुष, वृद्धवृद्धाहरुको छुट्टाछुट्टै टिम बनाएर थारु समुदायका मानिसले मघौटा नाच नाच्ने गर्दछन् । माघ १ गतेदेखि ७ गतेसम्म त थारु गाउँ मादलको आवाज र मघौटा सख्या गीत जताततै सुनिन्छ ।

यसरी थारु समुदायले माघी पर्व धुमधाम रुपमा मनाउँदै आएता पनि आजसम्म थारु समुदायको माघी पर्वमा सरकारी बिदा दिइएको छैन । राज्यकै कारणले गर्दा आज थारु समुदायका कतिपय पर्वहरु लोप हुने अवस्थामा रहेका छन् । अरु समुदायको भने सामान्य पर्वमा पनि बिदा दिने गरेको छ । तर थारु समुदायलाई भने अझैंसम्म सार्वजनिक बिदा दिइएको छैन । यहाँनेर प्रश्न उठ्छ– के नेपालमा बस्ने थारु समुदाय नेपालका नागरिक होइनन् ? होइनन भने किन होइनन् र हुन् भने किन सार्वजनिक बिदा नदिएको यो विषयमा राज्य गम्भीर हुन जरुरी छ । यो विषयमा राज्यले सोच्न जरुरी छ । थारु समुदायको माघी कुनै चाडपर्व मात्र नभएर उनीहरुको वर्षभरिको कामको समीक्षा गर्ने र आगामी वर्षका लागि वार्षिक कार्ययोजना बनाउने आर्थिक वर्षको शुरुवात हो । त्यसैले पनि थारु जातिका लागि माघीमा कम्तीमा पाँच दिनसम्म सार्वजनिक बिदा दिन जरुरी छ ।

ssantosh851@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *