बालविवाह गर्न बाध्य छन् पूर्वकम्लरी

  
  प्रकाशित मितिः शनिबार, माघ १०, २०७१       | 131 Views   ||

जनक नेपाली

दाङ । आर्थिक समस्याका कारण पढ्दै गरेका मुक्त कम्लरी बालिकाहरु सानो उमेरमै विवाह गर्न बाध्य भएका छन् । आर्थिक रुपले समस्या भएपछि उनीहरु उमेर नपुग्दै विवाह गर्न बाध्य भएका हुन् ।

आर्थिक रुपले विपन्न थारु समुदायका धेरैजसो बालिकाहरु उमेर नपुग्दै विवाह गर्न बाध्य भएको मुक्त कम्लरी विकास मञ्च दाङकी अध्यक्ष उर्मिला चौधरीले बताउनुभयो । परिवारको पालनपोषण र घर खर्च जुटाउन भन्दै कम्लरी बसेका बालिकाहरुलाई सरकारले २०७० मा मुक्त गरेको भए पनि पढाई खर्चका साथै खान बस्नको समस्या बढ्दै जाँदा उनीहरु पुनः कम्लरी जीवनमा फर्कन बाध्य भइरहेको पनि अध्यक्ष चौधरीले बताउनुभयो ।

देउखुरीस्थित नर्तिमा रहेको लावाजुनी छात्राबासमा बसेर पढ्दै गरेका मुक्तकम्लरी बालिकाहरुमा किताब, कापी, खाना र कपडाको समस्या बढ्दै जाँदा धेरैजसो बालिकाहरु विवाह गरेर गएको अध्यक्ष उर्मिला जानकारी गराउनुभयो । उर्मिलाका अनुसार अधिकांश बाआमा नभएका र पढ्दा–पढ्दै बीचमै छाडेका, बुबा विदेश गएपछि आमाले अर्कासँगै विवाह गरेर गएका, दैनिक छाक टार्न समस्यामा परेका बालिकाहरुले सानै उमेरमा विवाह गरिरहेको पाइएको छ ।

परिवारका सदस्यमा चेतनाका साथै आर्थिक बिषमताका कारण यस्तो समस्या बढ्दै गएको अध्यक्ष उर्मिलाको भनाई छ । दाङ, बाँके बर्दिया, कैलाली र कञ्चनपुरमा यस्तो समस्या चरमरुपमा देखा परेको उहाँले बताउनुभयो । परिवारका सदस्यका साथै अन्य छिमेकीहरुले बालिकाहरुलाई विभिन्नखाले प्रलोभन देखाएर सानै उमेरमा विवाह गर्न प्रोत्साहन गर्ने गरेको उर्मिलाको दावी छ । उहाँका अनुसार दाङमा रहेका ४ हजार ५ सय कम्लरीमध्ये अझै ३६ जना मुक्त हुन बाँकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *