प्रबासका कोलाजहरु

  
  प्रकाशित मितिः शनिबार, माघ १०, २०७१       | 137 Views   ||

naulodeep– याम नौलोदीप मगर

फरक चाहनाहरुलाई
एकै ठाउँमा बटुल्दै
फरक पृष्ठभूमिलाई
एउटै बाटोमा/एउटै छानोमा
चाहेर होस् या नचाहेर होस्
समयको परचक्र काट्दैछन् कोलाजहरु
यो अञ्जानभूमिमा पसिनाका मूल्यहरु
अर्थहीन झारिरहेछन् अनवरत
छुट्टै खुशी र सपनाको घर
बनाउँदै हुत्याइल्यायो निर्लिप्त सहरमा
नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ भाषा
सबै भिन्न–भिन्न रुपहरु
त्यसभित्र आफ्नो जिन्दगीका रहर सजाउँदै
चुपचाप चलिरहन्छन् कोलाजहरु
अनि जब
समय काम बित्दै जान्छ
फेरिदै जान्छन् कोलाजहरु
झुम्मिन्छन् अब
आँखा वरिपरि घुम्ने
परीजस्तै तरुनीहरुको जवानीमा
हतार हुन्छ जोडी भै होटेल चहार्न
चाहे केटा चाहे केटी
किन्छन् मोबाइल गफिन्छन् घन्टौं
गर्छन् बातहरु अत्यासलाग्दा
कोहीले ह्वीस्की, बियर, क्वाटर कोठामै ल्याएर
खायो तनतनी धित मरुन्जेल
उधुम ग¥यो मात चढुन्जेल
एकछिन भुल्यो सबै जिन्दगीको वास्तविकता
कोहीलाई कुनै छुट्टीको दिन आउनु हुँदैन
सहरका कुनामा राखिएका
बेश्यालयहरु बाहिर
रासन लिउन लागेको आशाका झोलीहरु
पर्खिरहेका सपनाहरुजस्तै
लाम लागिरहेको छन्
अनियन्त्रित बैंसहरु
परिवर्तित कोलाजहरु
रङ्मङ्गिदै छन् सहरले जन्माएको
अजीब रमझममा यी सपनाहरु
भासिदै छन् उत्रनै नसक्ने दलदलमा
भुल्दैछन् सपनाका भविष्यहरु
बदलिएका कोलाजहरुको मन
बिलाउदै छ विशाल शहरको
पर्दाभित्र आमा बाबु भुलेर
भीडहरुलाई पछ्याउँदै हिडेर
हराइरहेका छन् आफ्नो जिन्दगी
कुनै सपनाहरु छैनन्
कुनै आशाहरु छैनन्
बस वर्तमानका रङ्गीन चाहनाहरु खोज्दैछ
कुनै आत्मबोध छैन जीवनप्रति
वास्तविकताको जीवन भुलेर
रमाइरहेछन् प्रवासका कोलाजहरु ।

झेनाम, रोल्पा हाल : मलेसिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *