दाङको पहिलो रोचक यात्रा

  
  प्रकाशित मितिः शनिबार, माघ १०, २०७१       | 180 Views   ||

Bishnu_bhandari– विष्णु भण्डारी

हामी दाङ जाने भयौं ।

मेरा लागि नयाँ थियो दाङ । रोमाञ्चित थिएँ म । नेपालको सबैभन्दा ठूलो उपत्यका । धेरै पहिलेदेखि पुग्ने मन थियो । तर मौका मिलेको थिएन । दोस्रो संविधानसभाको निर्वाचन सकिएपछि म फुर्सदिलो भएको थिएँ । यही फुर्सदिलो समयमा राखेको थियो प्रगतिशील लेखक सङ्घले प्रशिक्षण कार्यक्रम दाङमा ।

माघ महिनाको अन्तिम सप्ताहको बिहान । चिसो घटेको थिएन । हामीहरू समयमै पुग्यौं कलंकी । तर माइक्रो आएको थिएन । निर्धारित समयभन्दा झण्डै एकघन्टा ढिलो हिड्यो माइक्रो । हामीले सोचेजस्तो रहेनछ हाइस । गुन्द्रुक खाँदेजसरी खाँद्यो यात्री । खलासीसँग प¥यो अमर दाइको । ओहो ! कस्तो ज्यात्रो रहेछ खलासी । चार जनाको सिटमा पाँच जना राख्न नपाएपछि मुरमुरियो । जसको चर्को मूल्य चुकाउनु प¥यो हामीले । न त ऊ र चालकसँग यात्राभरि बोलचाल नै भयो न त समयमा दिशा पिसाब गर्न नै गाडी रोक्यो ।

हामीले धार्केमा नास्ता खायौं । म कोषाध्यक्ष । खाजा पानीको व्यवस्थापन गर्ने जिम्मा मेरो थियो । खाजा आयो । सायद अलि बढी नै फर्माइस भएछ क्यारे । अमर दाइले आँखा झिम्काउँदै व्यङ्ग्य गर्नुभयो ‘यतिविघ्न खाइन्छ’ । ‘इन्जिन बलियै छ’ कसैले भन्यो । परिहासपूर्ण शैलीमा खाजा खाएर थालियो फेरि गुड्न ।

हाम्रो समूह ठूलै थियो । सार्वजनिक यातायात भए पनि हामीले रिजर्भजस्तै सोच्यौं क्यारे । गफ र हाँसोले गाडी गुञ्जियो । धेरै त साहित्यिक विमर्श भयो । मानूँ यो विचार गोष्ठी हो । रामप्रसाद ज्ञवालीको काव्यिक र अमर दाइको दार्शनिक विमर्श राम्रै जम्यो । बीच बीचमा अघिल्लो सिटबाट फर्केर साथ दिनुहुन्थ्यो सत्य पहाडी । अमर दाइ धाराप्रवाह बोलिरहनुभयो । उहाँको गम्भीर र क्लासिक विचार सधैंझैं ओजपूर्ण रह्यो ।

केही समयपछि आख्यान विधामा गफ चल्न सुरु भयो । मैले बीचमै बोल्दिएँ ‘महेश विक्रम शाहको लेखनशैली नयाँ छ ।’ अब मोडियो कुरोको फेरो उनको कथाकारितातिर । मलाई ज्याक्सन हाइट राम्रै लाग्यो मात्र के भनेको थिएँ अमर दाइ जङ्गिइहाल्नुभयो । ‘यस्तो कुरा गरे तपाइँका साथीले हान्लान् चट्कन’ । बापरे बाप ! कस्तो समस्या । अरुको रचना राम्रो छ भन्न पनि नहुने । म अवाक भएँ । के एउटा साहित्यकारको राम्रो सिर्जनालाई राम्रो भन्न हुँदैन ? भलै उसको विचार हाम्रोसँग नमिल्ला । के सबै प्रतिध्रुवीय लेखकका सिर्जना खराबै हुन् त ? यो त जडता हो । म फुसफुसाएँ । ‘यी प्रगतिशीलहरूसँग प्रतिधु्रवको बखान गरे ठोक्छन् है ! अलि ख्याल गर्नुस्’ नेत्र एटमले खुसुक्क कानमा भन्नुभयो ।

आरुङखोला खाना खाएपछि गाडी एकनास कुँदिरह्यो । चन्द्रौटा काटेपछि फेरि नास्ताको कुरो आयो । नास्तासँगै इच्छुकजीसँगको यात्रा र सङ्गीतात्मक चटपटेको प्रसङ्ग निकाल्नु भयो मातृकाजीले । कुरो के भएको रहेछ भने एकपटक इच्छुक, मातृकालगायत दाङ जाँदा बुटवलदेखि मैले लमहीमा नयाँ र मिठो नास्ता ख्वाउँछु भन्नुभएको रहेछ इच्छुकजीले । र त्यहाँ पुगेपछि ख्वाउनु भएको रहेछ चटपटे । खाँदा त मिठै भएछ तर खाएपछि प्रायः सबैजनाको पेट बिग्रिएछ । पुगिहाल्यो व्यङ्ग्य निबन्धकार रुद्र खरेललाई । लेखिहाल्नुभएछ उक्त चटपटेलाई ‘सङ्गीतात्मक चटपटे’को नामले विभूषित गरेर व्यङ्ग्य निबन्ध । जेहोस् त्यहाँ पुग्दा सङ्गीतात्मक चटपटेको रौनक देखिन्थ्यो नै ।

रात परिसकेको थियो अमिलिया पुग्दा । लमहीबाट घोराही जानुपर्ने हामीलाई सडक मर्मत भइरहेको हुँदा अमिलिया पुग्नुपर्ने भयो । लमहीबाट पौने घण्टामा पुगिने घोराही पुग्न हामीलाई झण्डै तीन घण्टा लाग्यो । कारण, लमही–घोराही सडकखण्ड मर्मतका लागि बन्द गरिएको रहेछ । त्यसैले हामी घुम्यौं, लमही–अमिलिया–तुलसीपुर हुँदै घोराही ।

अँ, अमिलियामा पुगेका थियौं हामी । अमर दाइलाई चियाको खासै शोख छैन । सायद उमेर ढल्किदै गएपछि भोक र तलतल कमै लागछ क्यार ! म भने अलि भोके स्वभावको । समय समयमा खाइरहनुपर्ने । इस्माली दाइ र रामप्रसाद ज्ञवाली अतिथि न पर्नुभयो भोक लाग्यो भन्नु पनि भएन । शान्त स्वभावका मित्रलाल पंज्ञानी र आरएम डंगोल चुपचाप । मैले धार्केबाट शिक्षा प्राप्त गरिसकेको थिएँ । सबै तैं चुप मै चुप । गाडीस्टाप २० मिनेटका लागि भन्दै बेपत्ता भए । मातृकाजी त्यतैकतै बरालिनु भयो । सत्यजी महिलाहरूसँग बात मार्न लाग्नुभयो । म भने चियाको खोजीमा निस्किएँ बजारतिर । बजारभरि धुइँपत्ताल खोज्दा पनि चिया पाइएन । मलाई सघाए बसमा साथी बनेका चिनियाँ व्यापारीले । उनले आफूले भात खाने होटलमा समेत लगेर टुटेफुटेको नेपाली शब्दमा चिया बनाइदिन अनुरोध गरे । तर सिया खाने बेलामा कहाँ चिया पाइन्थ्यो र । अन्त्यमा नास्ता र चिया बेगरै राती अलि अबेर (करिब १० बजे) पुगियो घोराही बजार । जहाँ कविद्वय डिल्ली मल्ल र खगेश्वर भण्डारी हामीलाई कुरेर बस्नुभएको थियो ।

घोराहीमा प्रगतिशील लेखक संघको दुई दिने कार्यक्रम असाध्यै भव्यताकासाथ सम्पन्न भयो । होटल सिटी प्लाजाको हल सुविधासम्पन्न थियो । सायद पहिलोपल्ट गर्दै थियो प्रलेसले यति भव्य होटलमा कार्यक्रम । घोराहीको थ्रीस्टार भने हुने । अझ होटलकै खाना र नास्ता । सर्वहारा कम पूँजीवादी बढी । हामी सर्वहारा ! यस्तो भव्य र ठूलो होटलमा कार्यक्रम गर्न हुन्थ्यो कि हुन्नथ्यो त्यो त जान्नेले नै जानुन् । आफू परियो एक्काइसौं शताब्दीको सर्वहारा । जेहोस् व्यवस्थापन राम्रै गरेछन् दङाली साथीहरूले ।

आयोजक त केन्द्रीय समिति पनि थियो । तर, हामीलाई पाहुना नै बनाए । व्यस्त थिए प्रलेसका दाङ शाखाका पदाधिकारीहरू । अध्यक्ष केशव थापा एउटा बिम्ब रहेछन् । रिसाउन नजान्ने । उनको मुस्कानमा साथ दिन्थे सचिव डिल्ली मल्ल । डिल्ली मल्लको कुशल सञ्चालनमा कार्यक्रम अगाडि बढिरहँदा शरद अधिकारी, खगेश्वर भण्डारी, आस्था केसी, इन्द्रविवश डिसी, नवीन अभिलाषीलगायतको टिम व्यवस्थापकीय पाटोमा लागिरहेको हुन्थ्यो । कार्यक्रमभरि सबैजना कमिलासरि जुटेको देख्दा म भावुक बनें । साँच्चै एकताबद्ध रहेछ दाङ प्रलेस ।

हुन त दाङलाई राम्रोसँग पढ्ने मन थियो मेरो । तर ख्वै ख्वै भन्दाभन्दै समय बिति पो हालो । उत्तरतिरका अग्ला–अग्ला पहाडहरू नाकैमाथि उभिएका थिए । डिल्लीजीले ऊ त्यतैतिर हो होलेरी भनेर देखाउनुभयो । महाभारत श्रृंखलाले छेकेको थियो होलेरीलाई । सवारीकोट, मौलाकोट र बुढाकोटजस्ता उच्च पर्वतीय श्रृङ्खलाहरूले घेरेका रहेछन् घोराहीलाई । सायद जनयुद्धकालीन आधार क्षेत्रका सुरक्षाकवच हुन् ती श्रृङ्खलाहरू । जहाँबाट बग्ने हावादेखि पनि डराउँथ्यो दाङको सुरक्षा संयन्त्र । थारु जातिको आदिभूमि र जनयुद्धको आधार मैले दाङलाई आत्मैदेखि नमन गरें ।

माघको २६ र २७ गतेको कार्यक्रम सकिएपछि हामीहरू बसमा फर्किने निधो ग¥यौं । साथीहरूले टिकट रोकिदिनुभयो । २८ गते बिहान सात बजे हामीहरू चढ्यौं बसमा । अमर दाइ, रामप्रसाद ज्ञवाली र नेत्र एटम उतै रहनुभयो । सत्य पहाडी अघिल्लो साँझ फर्किसक्नुभएको थियो । मातृका पोखरेल, इस्माली, मित्रलाल पंज्ञानी, आरएम डंगोल र म मात्र फर्कियौं । माइक्रोबसका साँघुरा सिटमा जाँदा गाह्रो भएकोले डिलक्स बसमा आउने भनेको त अचम्मै राम्रो डिलक्स परेछ ! स्कुले नानीहरू बस्नेजस्ता सिटमा कोचाकोच । मैले उक्त बसको नाम लोकल एक्सप्रेस राखिदिएँ । ठाउँ–ठाउँमा रोकिदै र यात्री चढाउँदै हिड्यो ननस्टप बस । त्यतातिर चिया खाने बानी रहेनछ क्यारे । चिया खान रोकेन कतै पनि । लमहीमा भने निकैबेर रोक्यो । धेरै जनाले उही सङ्गीतात्मक चटपटे खाए । मेरो भने मातृकाजीबाट सङ्गीतमय चटपटेको महिमा सुन्दैमा सातो उडिसकेको थियो । देख्दा झनै निरास भएँ म । बाटो किनारमा धुलै धुलोको बीचमा सङ्गीतात्मक चटपटे तयार थियो । मान्छेहरू पैसाले रोग किनेर खाइरहेका थिए । धन्न हामी नेपाली ! धन्न हाम्रो स्वास्थ्य !

अब हाम्रो बस चन्द्रौटामा रोकियो । केही समयमा एउटा हुल छि¥यो गाडीभित्र । हुल कुनै लुच्चा लफङ्गा, ट्यापे, कुण्डलेको थिएन । हातमा हाँस, कुखुरा, खाँदाखाँदैको भात, यस्तै के–के हो के–के बोकेको एउटा ठूलो जत्था थियो । बसमा उभिने ठाउँ पनि रहेन । सास फेर्न पनि गाह्रो भयो । कुखुराको सुली र हाँसको गन्धले वाकवाकी लाग्न लाग्यो । काठमाडांै आउने गाडी, न नास्ता न खाना । लोकल यात्रुले भरिएको थियो । तर कोही बोलेको हैन । विरोध पनि गरेको होइन । गजब छ बा हामी नेपालीको सहनशीलता पनि ! हामी प¥यौं सर्वहाराको पक्षमा बोल्ने मान्छे ! विरोध गर्ने कुरो पनि भएन । केही समयपछि पछाडिबाट उल्टी गरेको आवाज आयो । उल्टीसँगै गाली र झगडा सुरु भयो । धन्न एकजना महिलाले रोकिन् हातपात हुनबाट । तैपनि हामी चुपचाप बस्यौं । गरिब जनताको पक्षमा कविता लेख्ने मान्छे ! बोल्न पनि भएन । हामीले हे¥यौं मात्र । मित्रलालजी छेऊको सिटमा चुपचाप मुख बिगारेर बस्नुभएको छ । मातृकाजीले ‘डिलक्स बसको यात्रा सजिलो हुन्छ’ भन्नुुहुन्थ्यो । सायद यति साह्रो सजिलोको आँकलन गर्नुभएको थिएन होला । उहाँ पनि चुप्पी साँधेर बस्नुभएको छ । केही समयपछि मेरो सिटसँगै उभिएकी यात्रुले ओकली हाली । त्यो पनि सिटमै । धन्न उसले मुख बाउँदा बाउँदै म उठिसकेको थिएँ । नत्र पवित्र वस्तुले म नुहाइने थिएँ । अब भएन फसाद ! म उठेर गुहारको शैलीमा चिच्याएँ । गाडीस्टाप चुपचाप । धन्न बोतलमा पानी रहेछ । त्यसैले पखालियो फोहर । मित्रलाल र आरएम डंगोलको सहयोगले बसको पर्दा तानेर पुछियो सिट । यसरी ताण्डव नृत्य मच्चाउँदै गुड्यो गाडी ।

नास्ता समय त उहिल्यै छुटिसकेको थियो । पेटमा मुसा कुद्न थालिसकेका थिए । खाना कहाँ र कतिखेर खाने पत्तो थिएन । खलासीलाई स्थानीय यात्रु चढाउन र ओराल्नमै फुर्सद थिएन । तर, सायद उसलाई पनि भोक लागेछ क्यारे । बर्दघाट आएर खान खान रोकियो बस । अब भएन फसाद ! एउटा मात्र होटल त्यो पनि शिवरात्रीको मेलाजस्तो खचाखच । टहरोमा रहेको होटलको बासी र सेलाएको भातले हामीलाई स्वागत ग¥यो । कविहरू न परे सबै भात छोडेर भागे । डुङडुङ गन्हाउने बाथरूम र भनभन भन्किएका झिङ्गाको सङ्गीत बडो उराठलाग्दो थियो । लाइनै खडा थिए बस । पर्साइएका बोकाझैं खलासीको पछि–पछि पस्न बाध्य थिए यात्री । विकल्प पनि त थिएन । फेरि मध्यान्ह भोकले सताएकै थियो । हामी विकल्प रोज्न बाध्य भयौं । गयौं पचासेक मिटर टाढा र खायौं चिउरा र अमलेट । केही समयपछि गाडीस्टाप भित्रबाट मुख मिठ्याउँदै निस्किए । त्यो मिठ्याइ खानाको थियो कि कमिसनको ! अन्दाज मात्र गर्न सकिन्थ्यो ।

जेहोस् हामी भने चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी भनेझैं भएका थियौं । बल्ल–बल्ल लोकल एक्सप्रेसले राती एघार बजे कलंकीमा उता¥यो । सकुशल उत्रिएकोमा आफैलाई धन्यवाद दिदै दाङको रोचक यात्रा समापन ग¥यौं हामीले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *