पुस्तकालय स्थापना गर्न फेसबुक अभियान

  
  प्रकाशित मितिः आइतवार, माघ ११, २०७१       | 156 Views   ||

jhulkhet_school helpदाङ, माघ ११ । रुकुमको एक विद्यालयमा पुस्तकालय स्थापना गर्न पूर्वविद्यार्थीहरुले थालेको अभियानअन्तर्गत आज आइतवार दोस्रो चरणको सहयोग हस्तान्तरण गरिएको छ । खलंगा गाविस– ८ झुल्खेतस्थित बालकल्याण उच्च माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना गर्न सोही विद्यालयका पूर्वविद्यार्थीहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग संकलन अभियान सञ्चालन गरेका थिए ।

गत भदौमा जिल्ला विकास समिति रुकुममा एक कार्यक्रम गरी पहिलो चरणको सहयोग हस्तान्तरण गरेको पूर्वविद्यार्थी मञ्चले आइतबार दाङमा कार्यक्रम आयोजना गरी दोस्रो चरणको सहयोग हस्तान्तरण गरेको छ ।

पहिलो चरणमा २५ हजार रुपैयाँ हस्तान्तरण गरेको मञ्चले दोस्रो चरणमा ३४ हजार १ सय १६ रुपैयाँ हस्तान्तरण गरेको छ । पहिलो र दोस्रो चरणमा आर्थिक संकलन गरिएको अभियानमा अब तेस्रो चरणमा पुस्तक संकलन गरिने पूर्वविद्यार्थी मञ्चका संयोजक पत्रकार नरेन्द्र केसीले जानकारी दिनुभयो ।

सो अभियानमा अहिलेसम्म एक लाख ९ हजार १ सय १६ रुपैयाँ सहयोग संकलन भएको संयोजक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानमार्फत सहयोग घोषणा गरेका जिल्ला विकास समिति रुकुम र जिल्ला शिक्षा कार्यालयबाट ५० रुपैयाँ निकासा हुन बाँकी छ ।

पूर्वविद्यार्थी मञ्चले आज दाङमा गरेको कार्यक्रममा प्रमुख अतिथि पद्योदय पब्लिक नमूना उमावि दाङका प्राचार्य डा. कृष्णराज डिसी र बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्माले विद्यालयका प्रचार्य गोविन्द ओलीलाई संयुक्तरुपमा सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा प्रमुख अतिथि डिसीले उक्त विद्यालयलाई सातवटा पुस्तक हस्तान्तरण गर्दै थप एक सय पुस्तक प्रदान गर्ने घोषणा गर्नुभयो । बिशिष्ठ अतिथि शर्माले पनि २० वटा पुस्तक सहयोग गर्ने घोषणा गर्नुभयो ।

बालकल्याण उच्च माध्यामिक विद्यालय झुल्खेतका पूर्वविद्यार्थी काशीराम ओलीको अध्यक्षमा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य गोविन्द ओलीले विद्यालयले पुस्तकालय भवन निर्माण गरिसकेकाले यो बर्षभित्रै पुस्तकालय स्थापना हुने जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतम, उपाध्यक्ष लक्ष्मी आचार्य, पूर्वअध्यक्ष केवी मसाल र अधिकारकर्मी विनोद केसीले अभियानलाई शुभकामना दिनुभएको थियो ।

कार्यक्रम सञ्चालन अभियान संयोजक नरेन्द्र केसीले गर्नुभएको थियो ।

सो अभियानमार्फत अमेरिकामा बस्ने इन्टरनेशनल ब्लड डोनर्स एशोसियनका अध्यक्ष अर्जुनप्रसाद मैनाली, जिल्ला विकास समिति रुकुम र जिल्ला शिक्षा कार्यालय रुकुमले २५÷२५ हजार, पूर्वविद्यार्थीहरु अनिल बुढाले १० हजार, शशीराम बाँठाले ६ हजार, काशीराम ओलीले ५ हजार १ सय १५, नरेन्द्र केसीले ५ हजार, गणेशकुमार गौतमले ५ हजार तथा दाङका साहित्यकार महेन्द्र महकले १ हजार ५ सय र दोलखाका भरत उप्रेतिले एक हजार पाँच सय सहयोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *