उभिरहेको मानिस

  
  प्रकाशित मितिः बुधबार, माघ १४, २०७१       | 126 Views   ||

Sarita tiwariसरिता तिवारी

कहीं पनि पुग्न सक्तैन
उभिरहेको मानिस

बिस्तारै बितिरहेको कुरा
शायद समयमात्रै होइन
पाइतालाको गतिमय संगीत पनि हो

बन्द गरेर विवेकको सीमान्त ढोका
प्रत्येक दिन
जानु काममा र फर्कनु
गफ गर्नु र पिउनु,
पढ्नु अखबार र प्रकट गर्नु सस्तो प्रतिक्रिया
गर्नु लाचारीपूर्वक नेताहरूको निन्दा
समाचार सुन्नु र सराप्नु देशलाई
म ठान्छु
यी कुनै पनि कुरामा सुनिदैन
रफ्तारको लय

उभिरहेको मानिस
मात्र तमाशा हेर्छ,
खान्छ, शौच गर्छ, टेलिभिजन हेर्छ
र गर्छ अन्य–अन्य बेतुकी काम
तर फिटिक्क एक पाइलो अघि हिड्दैन
पाल्दैन आँखामा दुरन्त उज्यालोको सपना
बोक्दैन हृदयमा दुस्साहसी मिथकको मुटु
बज्दैन उसको मस्तिष्कमा कहिल्यै
समयको नयाँ घण्टी
भन्दैन कदाचित माग्यो भने समयले
लाइदिन्छु देशको निधारमा
आफ्नै रगतले मुछेको अक्षता

बरु प्रलाप र प्रदक्षिणा गर्दै
अमुक ईश्वरहरूका ढोकाअघिल्तिर
माग्छ केवल आफ्नै कलाहीन जिन्दगीका नाममा
बिभूषणको वरदान

म ठान्छु
कुनै पागल वा कुनै वेश्याभन्दा
कैयौं गुणा कुरुप हुन्छ
उभिरहेको मानिस

देखिरहेछु
यतिखेर मेरो देश
उभिरहेका मानिसहरूको पंक्तिले भरिएको छ ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *