दाङ, माघ १४ । गाडीको ठक्करबाट निधन हुनुभएका घोराही निबासी माधबप्रसाद श्रेष्ठको अन्त्यष्टि गरिएको छ । घोराही–तुलसीपुर सडकखण्डको घोराही–११ कपासी बगियामा तुलसीपुरबाट घोराही आउँदै गरेको बा ९ च ५५०२ नम्बरको भ्यानले ठक्कर दिदा मर्निङ वाकमा रहेको श्रेष्ठलाई ठक्कर दिएको थियो ।
सपना इन्टरप्राइजेजका प्रोपराइटर श्रेष्ठ जिल्लाको प्रतिष्ठित व्यापारी हुनुहुन्थ्यो । घोराहीको कटुवाखोलामा उहाँको अन्त्यष्टि गरिएको छ । यसैबीच श्रेष्ठको पार्थिव शरीरमा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य मेटमणि चौधरीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभएको थियो ।
यसैबीच दाङ जिल्ला उद्योग वाणिज्य संघले आफ्ना साधारण सदस्य श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । संघका उपाध्यक्ष नारायणप्रसाद भुसाल र महासचिव दीपक सुवेदीले विज्ञप्ति जारी गरी श्रेष्ठको निधनको शोकमा संघको कार्यालय सोमबार बिहान १० देखि १२ बजेसम्म दुई घण्टा बन्द गरिएको जानकारी दिनुभयो ।
यसैबीच दाङ जिल्ला संयुक्त ट्रक व्यवसायी समितिका उपाध्यक्षसमेत रहनुभएका श्रेष्ठको निधनप्रति राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समितिले दुःख व्यक्त गरेको छ । समितिका अध्यक्ष यादव शाह र प्रशासनिक सचिव उमेशचन्द्र मजगैयाले विज्ञप्ति जारी गरी श्रेष्ठको निधनले अतुलनीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।
त्यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल र वरिष्ठ उपाध्यक्ष बिरबहादुर रावतले एक विज्ञप्ति जारी गरी व्यवसायी श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।