संघर्षको अर्को नाम पूर्णकला

  
  प्रकाशित मितिः बुधबार, माघ १४, २०७१       | 153 Views   ||

Purnakala1‘पूर्णकला बिसी संघर्षको अर्को रुप हो । छोटो समयमै जुन उचाइ कायम हुन सक्यो यो सित्तैमा भएको होइन । यसमा संघर्षका कैयन् श्रृङ्खलाहरु छन्, जुन श्रृङ्खलाले मलाई यहाँसम्म ल्याउन प्रेरित गरिरहे ।’ कुराकानीका क्रममा चल्तीका गायिका पूर्णकला बिसीले आफ्नो संघर्षमय गायन यात्राका बिझाउने अनुभव शेयर गरिन् ।

‘जिन्दगीका २६ औं बसन्त टेक्नै लाग्दासम्म तीन हजार गीतमा स्वर भर्ने सु–अवसर बिना संघर्ष कसरी सम्भव हुन सक्छ त ?’, पूर्णकलाको प्रतिप्रश्न थियो, ‘संघर्षले धेरै सिकायो, सिकाउँदैछ पनि ।’ संघर्ष गर्नेहरुको निम्ति सफलता टाढा छैन भन्ने पर्याप्त जानकारी पूर्णकलाको जीवनबाट लिन सकिन्छ ।

२०६५ सालमा पेशेवर गायिका बन्ने धोको पछ्यौरीमा बाँधेर बर्दिया छाडेकी पूर्णकलाको चाहना केही वर्षमै पूरा भयो । यो सफलताको सूत्राधार भने उनको संघर्षलाई मान्न सकिन्छ । दुइटा नाउमा खुट्टा राखेर काठमाडौं पुगेकी पूर्णकलाको पहिलो गाँसमै ठूलो ढुङ्गा लाग्यो तैपनि उनको संघर्षले पूर्णविराम लिएन । जब पूर्णकला बिरानो सहर काठमाडौं पुगिन् उनको एउटा खुट्टा गायिका बन्ने नाउमा थियो त अर्को खुट्टा शिक्षा हासिल गर्ने नाउमा ।

विडम्बना गायिका बन्ने ढोका खोल्ने उनको पहिलो प्रयास असफल सावित भयो । घोडा चढ्ने लड्छ भनेझैं पहिलो असफलतालाई उनले सफलताको चुरो बनाइन् । आफ्नो गायिका बन्ने आशाको त्यान्द्रो चुड्न नदिन संघर्षकै प्रेममा परिन् पूर्णकला ।

‘जीवनमै पहिलोपटक रेकर्ड गरेको गीत प्राविधिक कारणवश बजारमा नआउनुले मलाई ठूलो निरासा पैदा गरायो, उनले भनिन्, ‘तैपनि मेरो गायिका बन्ने संघर्ष जारी नै रह्यो ।’ जीवनको करिअर सुरु गर्दाको पहिलो गीत नै बजारमा आउन नसक्दा उनलाई कता–कता अब गाउँतिरै फर्किहाल्ने कि भन्नेसम्म पनि नभएको होइन ।

नामी गायिका बन्ने चाहना पूरा गर्ने उनको संघर्षले पूर्णविराम लाउने दिनको पर्खाइकै क्रममा उनले दोहोरी साँझमा गाउन थालिन् । दोहोरी साँझमा गाउँदा गाउँदै उनले गाएको बिपनीमा अत्यार लाउनाले, अबेरसम्म सुतेछु निर्माया सपनीमा तिमी आउनाले गीतले केही मार्केट लिन सफल भएको उनी ठान्छिन् ।

संघर्षकै क्रममा स्वर भरेको डाँडै बिसौनी, सबै कुरा राम्रो छ मेरो राजाको एउटै ढाँट्ने बानीले पार्छ रिसाउनी गीतसँगै उनको संघर्षले पूर्णविरामको लक्षण देखायो । अर्थात् संघर्षले अर्कै मोड लियो ।

मेहनतको फल मीठो हुन्छ । जब उनी मेहनतको पनि सहपाठी भइन् संघर्षका दिनले डाँडो काट्दै थिए । उनी फेरि फरक खालको संघर्षको आलिङ्गनमा बाँधिनुप¥यो । श्रोताको चाहना बमोजिमका गीत गाउने तथा भावानुसारको स्वर बनाउने संघर्षसँगै लडिबुडी खेल्ने भएकी छिन् ।

‘म जस्तो मान्छे यहाँसम्म आउनु कम चुनौतिको कुरा होइन, लामो श्वास फेर्दै पूर्णकला विगत सम्झन्छिन्, ‘सानै उमेरदेखि गाउन हौस्याउने नै मेरा गुरु हुन्, उनीहरुकै प्रेरणाले म यो अवस्थामा आइपुगेकी हुँ, यसमा मेरो संघर्षले पनि अहम् भूमिका निभायो ।’

हुने विरुवाको चिल्लो पात ३ कक्षा पढ्दैदेखि स्कूल स्तर, गाविस स्तर तथा जिल्ला स्तरका प्रतियोगिताहरुमा प्रथम हुने पूर्णकलालाई घरको आर्थिक अवस्थाले साथ नदिनु विडम्बना बन्यो उतिबेला । ‘भारतसँगैको सिमानामा रहेको एउटा घरकी छोरी म घरायसी विशेषगरी आर्थिक अवस्थाले मलाई भरपूर सहयोग पुग्न सकेन ।’

सम्पूर्ण चीज पैसामय भएको बेला गीत संगीतको क्षेत्र पनि पैसामय हुनुलाई स्वभाविक मान्ने पूर्णकला क्षमता र कलाले आउनेहरु अपवाद भएको बताउँछिन् । ‘पैसावालहरु स्वर नभएर पनि गीत गाउन सक्छन्, फिजिकल अनफिटेहरु पनि मोडलिङ गर्न सक्छन्’ पूर्णकला भन्छिन् ।

प्रस्तुति : हरि गौतम

Leave a Reply

Your email address will not be published. Required fields are marked *