दाङका सडक पैदल यात्रुका लागि जोखिम

  
  प्रकाशित मितिः मङ्लबार, माघ २०, २०७१       | 109 Views   ||

– जनक नेपाली

दाङ, माघ १४ । पैदल यात्रुहरुका लागि दाङको सडक निकै जोखिमपूर्ण रहेको छ । पछिल्लो समयमा बढ्दो सवारी साधनको चाप, सडक क्षेत्रमा आवासीय क्षेत्रको विकास, पैदल यात्रु हिड्ने छुट्टै व्यवस्था नहुनु, साइकल लेन नहुनु र जनसंख्याको उच्च वृद्धि कारण दाङको सडक पैदल यात्रुका लागि बढी जोखिमपूर्ण बन्दै गएको हो ।

विशेष गरी घोराहीको तुलसीपुरचोकदेखि नारायणपुरको झारबैरा चोकसम्मको सडक पैदल यात्रु र साइकल यात्रुका लागि अत्यन्तै जोखिमपूर्ण रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही–तुलसीपुर सडकखण्डको कपासी–सौडिकुला–नारायणपुरको झारबैरा, बिजौरी–कालाखोला दुर्घटनाको हिसाबले उच्च जोखिम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख विरबहादुर थापाले जानकारी दिनुभयो ।

यी ठाउँमा दैनिक रुपमा दुर्घटना हुनुका साथै कतिपयले ज्यानसमेत गुमाउने गरेका छन् । दुर्घटनाका हिसाबले यस बर्षको साउनदेखि माघसम्म चार जना पैदल यात्रुको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । अघिल्लो आर्थिक बर्षमा यस सडकखण्डमा नौ जनाको मृत्यु भएको थियो भने ३१ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लामा सडक निर्माण गर्दा पैदल यात्रुलाई भन्दा सवारी साधनलाई मध्यनजर गर्दै सडक निर्माण गरिएका कारण सवारी दुर्घटनामा परी पैदल यात्रुको मृत्यु हुने गरेको छ । घोराही–तुलसीपुर सडकखण्डमा स्थानीय बासिन्दाले सडक मनपरी अतिक्रमण गरेर भवन निर्माण गर्ने, सडकमै होटल रेष्टुरेण्ट सञ्चालन गर्ने, गाडि पार्किङदेखि रिक्सा ठेला, फुटपात पसल सडकमै राख्नेजस्ता कार्य गर्दा पनि दुर्घटना बढेको हो ।

सडक साघुरिदै जानु, सडकको स्तरोन्नति नहुनु, सर्वसाधारण नागरिक सडकमै मर्निङ वाक तथा शारिरीक व्यायाम गर्नु र बजार क्षेत्रका नागरिकहरुका लागि मर्निङ वाक, जकिङजस्ता कार्यका लागि खुल्ला स्थान नहुनुले धेरैजसो सर्वसाधारणले अकालमै ज्यान गुमाउनु परेको थापाको तर्क छ । दुई वटामात्र सवारीका साधन अट्ने क्षमता भएको सडकमा पैदल यात्रु र साइकल यात्रु हिड्नका लागि अलग्गै बाटोको व्यवस्था नहुँदा पनि समस्या थपिएको थापाको भनाई छ ।

सडकको सतह राम्रो भएता पनि सतहअनुसारको बाटो फराकिलो नहुनु, सडकको वरपर दुबै किनारामा सडक मिचेर भवन निर्माण गर्नुजस्ता समस्या जिल्लामा विकराल रुपमा देखिएको छ । घोराही–लमही सडकखण्डको कुलमोड, अर्जुनखोला, मसोट पनि यात्रुका लागि जोखिमपूर्ण रहेको थापा बताउनुहुन्छ ।

गाडी चालकहरुले सडक लेनको पालना नगर्नु, तिब्र गतिमा सवारी साधन चलाउनु, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनुजस्ता कारणले पनि बर्षेनी दर्जनौं सर्वसाधारणले अकालमै ज्यान गुमाउने परेको ट्राफिक प्रमुख थापाको भनाई छ । दाङका सबै क्षेत्रका सडकमा पैदल यात्रुका लागि सडकपेटी र बजार क्षेत्रमा जेब्रा क्रसिङको व्यवस्था नहुँदा पैदल यात्रु जथाभाबी सडकमा हिड्ने गरेका छन् । यसले गर्दा थप दुर्घटनाका समस्या निम्त्याउने गरेको थापा बताउनुहुन्छ ।

उहाँका अनुसार जिल्लामा पैदल यात्रुले सडकमा हिड्दा ट्राफिक नियमको पालना नगर्ने, हिड्दा सडकको दायाँ भागबाट हिड्नुपर्छ भन्ने जानकारी नहुने र सडकमै नियमित शारिरीक व्यायाम गर्ने पाइएको छ । घोराहीको कपासीमा दैनिक शारिरीक व्यायाम गर्नेको संख्या पछिल्लो समयमा ह्वातै बढेको भन्दै ट्राफिक प्रहरी प्रमुख थापाले त्यसतर्फ सबै सचेत रहन आग्रह गर्नुभयो । कपासीमा दैनिक रुपमा सवारी दुर्घटना हुने गरेको भन्दै उहाँले त्यसतर्फ सर्वसाधारणलाई मर्निङ वाक नजान पनि आग्रह गर्नुभयो ।

अहिले यी स्थानमा दुर्घटना हुने र कतिपय सर्वसाधारणको मृत्यु हुनुका साथै धेरैजसो अङ्गभङ्ग हुने गरेको उहाँको भनाई छ । पैदलयात्रुका लागि हिड्ने बैकल्पिक सडकको व्यवस्था नहुँदा समस्या भएको बताउँदै थापाले सबै सरोकारवाला निकाय र स्थानीय प्रशासनले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *