सुन्तला खेतीले फेरिएको गाउँ

  
  प्रकाशित मितिः मङ्लबार, माघ २०, २०७१       | 319 Views   ||

suntalaप्रतीक इच्छुक शर्मा

सल्यान, माघ २० । सल्यान कोटमौलामा कृषकहरु व्यावसायिक सुन्तला खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । गाविसको वडा नम्बर ५ भाङ्गाचौर र ६ डाँगीगाउँका १ सय ५० बढी कृषकहरुले सुन्तला खेती गरेका छन् । किसानहरुले वैज्ञानिक तवरले बगैंचा ब्यवस्थापन गरेका छन् ।

प्रत्येक कृषकले आफ्नो बारीमा २ सय ५० देखि १ हजार ५ सय सुन्तला खेती गरेका छन् । कृषकहरुको आम्दानी नर्सरी स्थापना र सुन्तला खेती भएको छ । सुन्तला खेतीबाट वडा नम्बर ५ का भरतनाथ योगीले वार्षिक १८ लाख ५० हजार बराबरको आम्दानी गरिरहेका छन् । उनले भने, ‘कम आम्दानी गर्नेले पनि ३ लाखभन्दा धेरै आम्दानी गर्ने गरेका छन् ।’

२०५२ मा २ हजार २ सय कमाई गरेको थियो । त्यो समयमा सुन्तला बिक्री गरेर कमाएको रकम धेरै हो । उनले विगत सम्झिए– ३० वर्ष पहिले कोटमौलामा जयबहादुर चन्दले मात्र केही सुन्तला आफ्नो बारीमा लगाएका थिए । उनी अगुवा र मेहनती कृषक थिए । आफूसँगै चन्दले अरुलाई कृषि गर्न उत्साह र प्रेरणा दिन्थे । उनले नर्सरी पनि स्थापना गरेका थिए । उनको नर्सरीमा अमिलो, सल्लालगायतका विभिन्न जातका बेर्नाहरु पाइन्थे ।

योगीले भन्नुभयो, ‘जयबहादुर नै यो क्षेत्रका गुरु हुन् । मलाई २०३९ साल पहिलो पटक सुन्तला रोप्न भनेर कम मूल्यमा ५५ वटा बेर्ना दिनुभएको थियो । उहा“ले भने पहिलेदेखि नै खेती गर्दै आउनुभएको थियो ।

आफु जोत्न अल्छी गर्ने भएकाले पनि अन्नबाली उत्पादन हुने बारीमा बेर्ना रोपेका थिए’ भरतले विगत सझिएँ । २१ वर्षको उमेरमा खेती गरेको भनेर चन्दा ५ बेर्ना उपहार दिएका थिए । उनले भने, ‘गाउँका मुखिया, तालुकदारको घरमा सुन्तला, कागती लगाएको देखेको थिएँ । हामीले लगाए होला भनेर सुरु गरेको हुँ । अहिले योगीको ४६ रोपनी जग्गामा १ हजार बढी सुन्तलाको विरुवा रहेको छ । वार्षिक १८ लाख ५० हजार बराबरको आम्दानी खुसीका साथ उनले भने, ‘२०५२ मा २ हजार २ सय कमाई गरेको थियो । त्यो समयमा सुन्तला बिक्री गरेर कमाएको रकम धेरै हो ।

२०५२ सालदेखि कोटमौला परिवर्तन भएको हो । जतिबेला कृषि विकास अधिकृत रामप्रसाद पुलामीले सल्यानमा कार्यरत रहेका थिए । अदुवा र सुन्तलाका लागि कृषि कार्यालयले कोटमौलामा २०४३/०४४ मा प्रारम्भिक अनुगमन गरेको थियो । तर यसको व्यावहारिक कार्यान्वयन भने पुलामीले गर्नुभएको कृषकहरुले बताए । पुलामी सरले नै फलफूल खेती गर्न सिकाउनु भएको हो । कृषि खेतीका लागि कोटमौलाका कृषकलाई सक्रिय बनाउनु भएको हो ।

धेरै कृषकले पुलामीको नामै लिएर धेरै पटक–पटक सम्झिए । उनलाई सम्झनुको कहानी स्थानीय ७६ वर्षीय वृद्ध धनीबहादुर चन्दले सुनाउँदै भने, ‘रात दिन नभनी किसानका घरमा पुग्थें, सम्झाउँथें । गोडमेल, काटछाँट, मलखाद आदि बारे बारीमै पुगेर काम गरे । गाउँमै जमेर बसें । एक कृषकहरुले ५० भन्दा धेरै रोप्नुपर्ने उर्दी लगाए । त्यसो नगरेको भए हाम्रो अहिले जस्तो हुने थिएन ।

ggggकोटमौलाका दुई वडामा रहेका डाँगीगाउँ र भाङ्गाचौर गाउँमा रहेका प्रत्येक घरमा २ सयदेखि १ हजार ५ सयसम्म सुन्तलाका विरुवा खेती गरिएको छ । कागती, अमिलो लगायतका अन्य फलफूल खेती कोटमौलामा सामान्य जस्तै छ । घर–घरमा बगैंचा र नर्सरी स्थापना नगरेका कृषक नै पाइदैन । अहिले कागती, सुन्तलालगायत अमिलो जाति, अनार, स्थानीय जातका विरुवासहितका नर्सरीहरु घर–घरमा स्थापना गरिएका छन् । असार, साउनको समय पनि अहिले जस्तै चहलपहलले भरिभराउ हुन्छ कोटमौलामा । अहिले सुन्तला लिन व्यापारीहरु घरमै पुग्छन् । प्रतिकिलो रुखैमा ४० रुपैयाँमा किनेर लैजान्छ ।

युवाहरु वैदेशिक रोजगारीमा हैन, कृषिका विभिन्न नयाँ–नयाँ प्रयोगमा व्यस्त रहेका छन् । स्थानीय शान्ति समितिका पूर्वसचिव तथा कार्यालय प्रमुख प्रकाश डाँगी एमए अध्ययनरत विद्यार्थी हुन् । उनले यो वर्ष मात्र ५० हजार सुन्तला र कागती बेर्ना नर्सरीमा राखेका छन् । उनले भने, ‘अनार, अम्बालगायतका अन्य प्रजाति फलफूलका विरुवाका बेर्ना तयार गरिरहेको छु । यो वर्ष मात्र बेर्ना बिक्रीबाट २० लाख आम्दानी गर्ने लक्ष्य लिएको छु । बेर्ना लिन पनि छिमेकी जिल्ला रुकुम, दाङ, रोल्पा, जाजरकोटका साथै बाँके बर्दिया, सुर्खेत र दैलेखसहित विभिन्न जिल्लाबाट यहाँ आउने गर्दछन् ।

Suntala 3यो ठाउँ अनुसन्धान केन्द्रभन्दा कम छैन । घरका अगाडि स–साना आकारका मनै लोभ्याउने नर्सरी । नर्सरी प्लाष्टिकले ढाकिएका । नर्सरीका ¥याक । महिलाहरुको कृषि पेशाप्रतिको लगाव । वडा नम्वर ६ की पार्वती डाँगीको जोश जाँगर होस् या वैदेशिक रोजगारीमा गएर हण्डर खाएर फर्र्किएका दीपक चन्द सबैले कृषि ब्यवसायमा जीवन देखेका छन् । उन्नत बिउ विजन, मलखाद नयाँ कृषि प्रविधि, सिचाइजस्ता चुनौति भए पनि माटो बाँझो राख्नुहुदैन भन्ने सिकाइ छ । आँगनमा राखेको नर्सरी देखाउँदै पावतीले भनिन्, ‘हलुवावेदका ५ सय, आरु ३ सय, नास्पती २ सयलगायत अमिलो जातका गरी ५ हजार बेर्ना राखेकी छु ।’

बहराइन गएर कमाउन नसकेका दीपक चन्दले हरियाली नामक नर्सरी फाराम स्थापना गरी वार्षिक ७ लाख ५० हजार बराबरको आम्दानी गरेको सुनाए ।

कोटमौलामा कोदो र मकैबाहेक अन्य कृषि उत्पादन हुँदैनथ्यो । परम्परागत रुपमा कोदो, मकै गरिने खेती विस्थापित गरी वारीमा लगाइएका सुन्तला बोटबाटै ब्यापारीहरुले किनेर लैजान्छन् । व्यापारीहरु दाङ, बाँके नेपालगञ्ज, बर्दिया, कैलाली र भैरहवा र भारतसम्म लैजान आउने गरेको कृषकले बताए ।

५७ वर्षीय दोलखबहादुर डाँगीले ५ सय विरुवामा फलेका सुन्तला बेचेर ७ लाख आम्दानी गरेको सुनाए । उनले भने, व्यापारीहरु पैसाका झोला लिएर सुन्तला किन्न बारीमा नै आइपुग्छन् । गाविस भवन रहेको कोटमौला कोट हुँदै गाउँ पुग्ने कृषि सडक भएर ब्यापारीहरु सुन्तला किन्न बारीमा पुग्छन् ।

सुन्तला खेतीको अनुकूल हावा पानी, माटो भएकाले यहाँको सुन्तला खेती नमूना भएको जिल्ला कृषि वरिष्ठ कृषि विकास अधिकृत टेकप्रसाद लुइटेलले बताए । उनले भने, ‘बगैंचा व्यवस्थापन, रोग किरा नियन्त्रण र गोडमेल आदि काम कृषकहरुले सचेत भएर गरेका छन् । जिल्लामा १ हजार ३ सय ३० हेक्टरजग्गामा सुन्तला खेती गरिएको छ भने उत्पादन ७ हजार ९ सय ६० मेट्रिकटन उत्पादन भएको छ । कोटमौलामा मात्र कृषकहरुले नर्सरीमा रोप्नलायक झण्डै २ लाख बेर्ना राखेका छन् ।

अहिले जिल्लामा सबैभन्दा राम्रो र धेरै संख्यामा सुन्तला खेती कोटमौलामा नै गरिएको छ । सुन्तलामा पछिल्लो समयमा रोग किराको समस्या बढेको छ । ‘पात छिप्रे, पहेलो हुदै जाने समस्या आएको छ’ वलीले भन्नुभयो, ‘सुन्तलासँगै अनार, किबी, अन्य फलफूल खेती गर्न पनि ध्यान दिन आवश्यक छ ।’

जिल्लाको कोटमौला, दमाचौर, खलंगा, सेजवालटाकुरा, माझकाँडालगायतका १५ गाविसमा सुन्तलाका पकेट क्षेत्र भएको कृषि कार्यालयले जनाएको छ । सुन्तला खेतीले कोटमौलाका कृषकहरुको जीवनस्तरमा परिवर्तन ल्याएको छ । कृषकहरुले आयआर्जन बढाएसँगै नयाँ जीवन जिउन थालेका छन् । कोटमौलाका दुई वडामा अहिले सुन्तला बिक्री गरेर मात्र वार्षिक ५ करोड रकम भित्रिने अगुवा कृषक अंगेश्वर डाँगीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *