अञ्चलस्तरीय कविता प्रतियोगितामा कोपिला प्रथम

  
  प्रकाशित मितिः मङ्लबार, माघ २०, २०७१       | 150 Views   ||

Kabita-Praप्यूठान, माघ २० । राप्ती साहित्य परिषद् केन्द्रीय समिति र प्यूठान शाखाको आयोजनामा शनिबार ‘राप्ती अञ्चलस्तरीय कविता प्रतियोगिता’ सम्पन्न भएको छ । जनता उच्च माध्यमिक विद्यालय, बाग्दुला प्यूठानको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा राप्तीका १७ जना कविहरुले भाग लिएका थिए ।

प्रतियोगितामा दाङदेउखुरीका छविलाल कोपिला प्रथम, प्यूठानका घनश्याम अस्तित्व द्वितीय, बी.पी. सेढाइ तृतीय भएका छन् । त्यस्तै दाङका दीपा धिताल र रोल्पाका रवीन्द्र सुनारले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा विजयी प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ८ हजार, ६ हजार, ४ हजार र १५ सय नगदका साथै प्रमाण–पत्र प्रदान गरिएको थियो ।

प्रतियोगिता वरिष्ठ साहित्यकार भूपेन्द्र सुवेदीको प्रमुख आतिथ्यता एवम् राप्ती साहित्य परिषद्को विशेष आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा नवप्रतिभा साहित्य पुरस्कारसमेत वितरण गरिएको थियो । यस वर्ष पहिलोपटक महेश थापा र अग्निधर चन्द बोहरालाई तीन/तीन हजार नगद र प्रमाण–पत्र प्रदान गरियो । भुपेन्द्र सुवेदी, देबेन्द्र कुमार रिजाल, गेहराज थापा, टोपाराम आचार्य, लिला पुन र भेषमान गिरीसहित प्यूठानका ६ जना साहित्यकारले ६० हजारको अक्षयकोष यसै वर्ष स्थापना गरेका हुन् । अक्षयकोषबाट आएको व्याजबाट हरेक वर्ष प्यूठानका १ जना नवप्रतिभालाई पुरस्कृत गरिने बताइएको छ ।

राप्ती साहित्य परिषद् प्यूठान शाखा अध्यक्ष कमलप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, साहित्यकार नारायण नेपाललगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको सञ्चालन परिषद्का केन्द्रीय सचिव रमेश सुवेदीले गर्नुभएको थियो । प्रतियोगी कविताहरुको रचना वाचनपछि अन्य साहित्यकारहरुले पनि रचना वाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *