सत्ता उन्माद र रातो गुलाब

  
  प्रकाशित मितिः मङ्लबार, माघ २०, २०७१       | 158 Views   ||

Chhabilal_kopila– छविलाल कोपिला

यतिबेला
ग्रहण लागेको सूर्यको घाम ताप्न
धोद्रो सिमलको रुखमुनि बसेर
गिलास सोमरस पिइरहेछ
यता मंसिर भित्र्याएर हँसिया र हथौडा
चीरनिन्द्रामा सुतिरहेको छ भने
तिमी कालरात्रीको भजन गाइरहेछौ
ठीकै यसैबेला
धनसारबाट मुसाहरु
औंशीको कालो सडक हुँदै
नियतिको बैलगाडामा
कालो नून ओसारिरहेछन्
तिमी भने जूनलाई अल्मारीमा कैद गरी
आकाशमा तारा गनिरहेछौ ।

लाटोकोसेरोको कर्कश स्वरसँगै
चमेराहरु राता–रात सीमा सारिरहेको बेला
गिद्धहरुले मेरी आमाको छातीमा
तिखा नङ्ग्राले चिथोरिरहेको बेला
तिम्रै आलिसान धमिरा दरबारभित्र
विदेशी कराहीमा
तिमै्र टाउको उमालिदैछ
तिमी भने मेरो माटोको पसल थापेर
डलरमा सौदा गरिरहेछौ ।

त्यसैले
यतिबेला उही माटो माग्न
जूनसँगै भोलि उठ्ने बिहान माग्न
एक हूल कमिला सडकमा ओलिएका छन्
सुशासन र शान्ति माग्न
अर्को हूल परेवा आकाशमा उडिरहेछन् ।

विडम्बना
तिम्रा उन्मत्त साँढेहरु
सडकमै कमिला किचिरहेछन्
आकाशमै परेवा झम्टिरहेछन्
तिमी भने बधशालाभित्र
हतियारमा सान लगाइरहेछौ ।

मलाई याद छ
सुन्दरभूमिको यौटा भूगोल
नेपाली धरती
अभावको जाँतोमा
भोक पिसिरहेको बेला
तिमी बारुदको हलोमा
दमन नारेर पीडा जोतिरहेका थियौ
झुप्रामा आगो बालेर
बन्दुकको नालमा उत्पादन गरिएका
रक्त–सराब पिइरहेका थियौ
हो, त्यही भूगोल
जहाँ तिमीले पीडा जोत्यौ
रक्त–सराब पिउँदै
रक्त–सागरमा पौडिखेल्यौ
उही भूगोलमा
यतिबेला
यौटा सुन्दर गुलाब फुलिरहेछ
सुन्दर रातो गुलाब फुलिरहेछ ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *