शैक्षिक सुधारका लागि अभिभावक शिक्षा

  
  प्रकाशित मितिः मङ्लबार, माघ २०, २०७१       | 429 Views   ||

Jb_shahजीतबहादुर शाह

पानीपँधेरो, यातायात र सरसहयोग आदानप्रदानको दृष्टिकोणले बेशीतिर सहज भएकोले म जन्मेको डाँडाको घर अब बाँकी छैन । कोही नबसेपछि भत्किसक्यो । भग्नावशेष मात्र बाँकी छ । घरको भग्नाबशेष बाँकी भएजस्तै त्यही डाँडाको घरमा बिताएका बाल्यकालका सम्झना भने बाँकी छन् ।

दराजमा भएका पुराना किताब र डायरीहरु पल्टाउँदा विद्यार्थी जीवनको सम्झना भएजस्तै गाउँमा गएर डाँडाको बाँकी रहेको घरको भग्नावेशषको अवलोकन गर्दा बाल्यकालका दिनहरुको झझल्को अविराम आउने गर्दछ ।

कतै सानो छँदा कोमल पाइतालाहरुले टेकेका डोबहरु देखिन्छन् कि भनेर खोज्न मन लाग्छ । खोज्दै जाँदा पाइतालाका डोबहरु नदेखिए पनि त्यो समयका सम्झनाका डोबहरु भने शरदकालीन रातका ताराहरुजस्तै तह लगाउनै नसकिने गरी छरपष्ट भेटिन्छन् ।

त्यतिबेलाको हाम्रो घर भएको डाँडाको एउटा रुखनेर देवतालाई पाती (फूल र पातहरु) चढाउने भएकोले हाम्रो घर भएको डाँडालाई पातीहाल्ना भन्ने गरिन्थ्यो र अझैं पनि त्यही भन्ने गरिन्छ । डाँडाको घरमा बस्ने क्रममा बिहान विद्यालय जाँदा म अरुभन्दा पहिले घरबाट निस्कन्थे र पातीहाल्नाको डाँडाबाट अरुलाई पनि विद्यालय जाऔं भनेर ठूलो स्वरले कराउने गर्थें ।

मेरो विद्यालय जाऔं भन्ने आह्वान सुनेर कोही त आउँथे भने कोहीले भने मेरो आह्वानको वास्ता गर्दैनथे । मेरो यो व्यवहार दोहोरिरहेपछि एकदिन विद्यालय जाने क्रममा आमाले मलाई भन्नुभयो– ‘तँलाई आफू पनि घरमा काम गर्दैन र हाम्रा केटाकेटीलाई पनि घरमा काम गर्न नदिएर स्कूल जाऔं भनेर बोलाइरहन्छ भनेर गाउँका मानिसले गाली गर्छन् । डाँडामा गएर कराउने होइन, खुरुखुरु स्कुल जाने हो । अरु गए जाऊन् नगए नजाऊन् । तँलाई किन स्कूल जाउँ भनेर कराउनुप¥यो ?’

त्यसपछि भने आमाले भनेको मानेझैं गरें र पहिले जस्तो पातीहाल्नाको डाँडामा गएर साथीहरुलाई स्कुल जाऔं भनेर कराउने काम क्रमशः घटाउँदै गएँ ।

मेरा ती दौतरी र आफन्तहरु अहिले कोही वर्षेनी मुग्लानीया भएर जीवन बिताइरहेका छन् । कोहीलाई गाउँघरमै रोजीरोटीको जोहो गर्दैमा श्वास फेर्ने फुर्सद छैन । गाउँमा गएर ती दौतरी र आफन्तहरुसँग कुरा गर्दा उहाँहरुको भनाइ रहन्छ, ‘स्कूल जाने बेला घरको कामलाई प्राथमिकता दिएर बाआमाले भनेको कुरा मानियो । त्यसैले पढाइ पनि राम्रो भएन । पढाइ राम्रो नभएकै कारणले जीवन पनि राम्रो भएन । त्यतिबेला तिमीले पातीहाल्नाको डाँडाबाट स्कुल जाऔं भनेर कराउँदा वेवास्ता गरियो । अहिले पछुताएर के गर्ने ?’

मलाई भने दोष उहाँहरुको भन्दा पनि उहाँका अभिभावकहरुको हो जस्तो लाग्छ । अभिभावकहरुले विद्यालय जानका लागि वातावरण मिलाइदिएको भए सायद उहाँहरुको जीवन तुलनात्मकरुपले अहिलेको भन्दा राम्रो हुन्थ्यो होला । मेरा ती आफन्तहरुको दिनचर्याको अध्ययन गर्दा मानव सभ्यताको आरम्भमै ‘छोराछोरी नपढाउने बाबुआमा शत्रु हुन्’ भनेर चाणक्य नीतिमा भनेको कुरा साँच्ची हो जस्तो लाग्छ । खोतल्दै जाँदा शिक्षाको समग्र सुधार गर्न अभिभावक शिक्षाको आवश्यकता अपरिहार्य महसुस भयो ।

अहिले देशभरि भएका सामुदायिक विद्यालयमध्ये कुनै विद्यालय असाध्य राम्रा छन् र कुनै नराम्रा पनि छन् । नराम्रा विद्यालय त यतिसम्म छन् कि ती गाइगोठ र भैंसीगोठभन्दा पनि गएगुज्रेका छन् । तथापि सरकारले सबै विद्यालयहरुलाई विभिन्नथरिका अनुदानहरु केही न केही दिएकै छन् ।

अहिले अनुमति लिएर सञ्चालन गरेको कुनै पनि विद्यालय यस्तो छैन जसले सरकारबाट कुनै पनि अनुदान नपाएको होस् । तथापि कुनै विद्यालय दरबारजस्ता र कुनै विद्यालय गोठजस्ता हुनुमा अभिभावक र अभिभावकहरुद्वारा गठन गरिएको विद्यालय व्यवस्थापन समितिको ठूलो भूमिका रहने गर्दछ ।

अभिभावक सचेत नभएको अवस्थामा कतिपय विद्यालयहरुमा सरकारबाट प्राप्त अनुदान एकाध व्यक्तिहरुले लामो हात गरेर दुरुपयोग गरेको अवस्था छ भने अभिभावक सचेत भएको अवस्थामा प्राप्त अनुदानमा समेत आफ्नो तर्फबाट थपथाप गरेर विद्यालयलाई सोचेभन्दा राम्रो बनाएको अवस्था छ । त्यसैले विद्यालय राम्रो बनाउनका लागि अभिभावक सचेत र चनाखो हुनुको अर्को विकल्प देखिदैन ।

विद्यालयमा जसका बालबालिकाहरु अध्ययन गर्दछन् तिनै अभिभावकहरुको बाहुल्यता हुने गरी विद्यालय व्यवस्थापन समिति गठन गरेर उक्त समितिलाई पर्याप्त व्यवस्थापकीय अधिकार दिदा विद्यालय राम्रो बनाउन सकिन्छ भन्ने सोचले कानूनमा उक्त व्यवस्था गरिएको छ । तथापि कतिपय विद्यालयहरुमा सम्बन्धित अभिभावकहरुले चासो नराखेको कारण गैरअभिभावक र राजनीतिक व्यक्तिहरुको हातमा विद्यालयको डाडुपन्यूँ परेर दुरुपयोग भइरहेको छ । आफ्ना बालबालिकाहरु अन्यत्रै पढाउने तर हालीमुहाली भने अर्काको बालबालिका अध्ययन गर्ने विद्यालयमा गर्ने मानिसहरुको बिगबिगीको कारणले हाम्रा सामुदायिक विद्यालयहरुको व्यवस्थापन पक्ष कमजोर भएको हो ।

वास्तवमा जसका बालबालिका त्यो विद्यालयमा पढ्छन्, त्यो विद्यालयमा तिनै अभिभावकहरुको सबभन्दा बढी ममता हुनुपर्नेमा कुनै सन्देह छैन । तथापि त्यो भइरहेको छैन । अतः हाम्रा सामुदायिक विद्यालयहरुको दुरावस्थामा सुधार गर्न र विद्यालय व्यवस्थापन समिति गठनको हालको विधिलाई प्रभावकारी बनाउनका लागि अभिभावक शिक्षालाई प्रभावकारी बनाउन अति आवश्यक देखिएको छ ।

हामी मानिसहरुसँग दबाबको भरमा काम गर्ने बानी छ । दबाब भयो भने सुतेर आराम गर्ने समयमा पनि काम गर्न पछि पर्दैनौं र दबाब भएन भने काम गर्ने समयमा पनि सुतेर आराम गर्न पछि पर्दैनौं । आज हाम्रा सामुदायिक विद्यालयहरुले त्यही हविगत ब्यहोरिरहेको अवस्था छ ।

आफ्ना बालबालिकाहरुको शैक्षिक अवस्था कस्तो छ, उनीहरुलाई कस्ता शिक्षकहरुले अध्यापन गरिरहेका छन्, उनीहरुले अध्यापन गर्ने कक्षाकोठा कस्तो छ आदि विषयमा साँच्ची हाम्रा अभिभावकहरु उदासिन छन् । शिक्षकहरुले विद्यालयमा आएर अध्यापन नगरे पनि गुनासो छैन, विद्यालयमा आउँदै नआए पनि गुनासो छैन । मदिरापान गरेर डुङ्डुङ्ती गन्हाउँदै अध्यापन गरे पनि गुनासो छैन । बालबालिकाहरुको उपलब्धिप्रति पनि कुनै चासो देखिदैन ।

अभिभावकको यसप्रकारको उदासिनताले विद्यालयमा नराम्रो काम गर्नेहरुको सङ्ख्या बढ्न थाल्यो भने राम्रो काम गर्नेहरुको सङ्ख्या घट्न थाल्यो । विद्यालय र शिक्षण संस्थाहरुमा चोरलाई चौतारो र साधुलाई शुली हुँदासमेत आवाज उठाउने अभिभावकहरुले आवाज नउठाइदिएपछि विद्यालयमा राम्रो काम गर्ने वातावरणको सिर्जना हुन सकेन ।

यदि विद्यालयलाई राम्रो बनाउने हो र त्यहाँ हुने विकृति र कामचोर प्रवृत्तिको अन्त गर्ने हो भने अभिभावकहरुको दबाब, रेखदेख, अनुगमन र नियन्त्रणको आवश्यकता छ । यसका लागि पनि अभिभावक सचेत हुनु आवश्यक देखिन्छ ।

संस्थागत विद्यालयहरुको व्यवस्थापन र शैक्षिक उपलब्धिमा सुधार देखिनुको एउटा महत्वपूर्ण कारण अभिभावकको खबरदारी पनि हो । हाम्रा कतिपय सामुदायिक विद्यालयहरु पनि राम्रा छन् । त्यस्ता विद्यालयहरुमा दैनिक कार्यतालिका निर्माण गरी अभिभावकहरुबाट अनुगमन गरिन्छ ।

यसबाट राम्रो काम गर्ने शिक्षक र कर्मचारीहरु प्रोत्साहित भएका छन् भने नराम्रो काम गर्ने शिक्षक र कर्मचारीहरु हतोत्साहित भएका छन् । यसको प्रभावले विद्यार्थीहरुको शैक्षिक उपलब्धिमा बढोत्तरी भएको छ । गैरअभिभावक र राजनीतिक सोचका आधारमा काम गर्ने मानिसहरुको नामोनिसान छैन ।

त्यस्ता विद्यालयहरुमा राजनीति हुन्छ भने विद्यालयको विकासको लागि हुन्छ न कि राजनीतिक स्वार्थसिद्धिका लागि । त्यस्ता विद्यालयहरुमा शिक्षकहरु पनि शैक्षिक सुधारका लागि राजनीति गर्छन् न कि आफ्नो सङ्गठन विस्तारका लागि । कतिपय अभिभावकहरुलाई के गर्दा के हुन्छ भन्ने कुराको समेत त्यत्ति राम्रोसँग जानकारी छैन । कति अभिभावकहरुले त विद्यालयमा आएर प्र.अ.लाई नै मेरो सन्तान बिग्रिएको छ अलिअलि कुटपिट गरेर तह लगाइदिनुहोलासमेत भन्ने गर्दछन् ।

कतिपय अभिभावकहरुले आफ्ना सन्तानले बालसुलभ स्वभाव देखाएर चकचक गर्नुभन्दा चुप लागेर कसैसँग कुराकानीसमेत नगरेर शान्तसँग बसेकोमा प्रशन्नता व्यक्त गर्दछन् । जब कि बालकले त्यस्तो व्यवहार देखाउनु गम्भीर मनोरोग हो ।

कतिपय अभिभावकहरुले बालबालिकाहरु राम्रो बनाउनका लागि नराम्रो व्यवहार गर्दछन् । गाली गर्दछन्, कुट्छन्, पिट्छन्, हप्काउँछन् र अपशब्द बोलेर अपमानित गर्दछन् । जब कि नराम्रो व्यवहार गरेर बच्चालाई राम्रो बनाउनु भनेको विष रोपेर अमृत फलाउनु जत्तिकै असम्भव हुन्छ ।

विद्यार्थीहरुले आफ्नो ७५ प्रतिशत समय अभिभावकहरुसँग व्यतीत गर्दछन् । तथापि किन हो खै, सरकारी पक्षबाट अभिभावकहरुलाई अभिमुखीकरण गर्ने बारेमा सघनरुपले सोचेजस्तो लागेन । दाताहरुको आदेशको पालना गर्न अभ्यस्त हाम्रो सरकारी निकाय सायद उनीहरुकै आदेश खोज्दै होला ।

दाताहरुको देशतिर अभिभावकहरु सचेत र शिक्षित भइसकेको कारण अभिभावक शिक्षाको खाँचो छैन क्यारे । त्यही भएर उनीहरुले पनि हाम्रो देशमा अभिभावक शिक्षाको आवश्यकता छ भन्ने बारेमा सोचेर सल्लाह दिन भ्याएका छैनन् होला । कुल बजेटको २० प्रतिशत लगानी गरेर सतप्रतिशत हैकम जमाउन पाएपछि दाताहरुले पनि आफ्नो देशमा के–के आवश्यक पर्दछ त्यही–त्यही परीक्षण गर्दै होलान् हाम्रो देशमा ।

निष्कर्षमा भन्नुपर्दा घरपरिवार बालबालिकाहरुको पहिलो विद्यालय हो । अतः घरमा रहँदा बालबालिकाप्रति कस्तो व्यवहार गर्ने र विद्यालयमा गएपछि के सिकेर आयो भन्ने कुराको कसरी अनुगमन गर्ने भन्ने कुराको जानकारीका लागि अभिभावक सचेत हुनु आवश्यक छ । यसरी अभिभावकलाई सचेत गराउने कार्यक्रम सघनरुपमा सरकारी तवरबाट कार्यान्वयन गर्नुपर्ने अति आवश्यक भइसकेको छ ।

अभिभावक शिक्षासम्बन्धी कार्यक्रमहरु शैक्षिक सत्रको सुरुमा नै विद्यालय तहमा सञ्चालन हुने गरी चाँजोपाँजो मिलाउन सकियो भने विद्यालय र घरमा समेत हुने अशैक्षणिक क्रियाकलापहरु धेरै हदसम्म कटौती गर्न सकिन्छ । एउटा अभिभावकलाई यातना दिने अभिभावकबाट पथप्रदर्शन र रेखदेख गर्ने अभिभावकमा रुपान्तरण गर्न सकियो भने घरायसी परिवेशबाट हाम्रा बालबालिकाले बाटो बिराउनुपर्ने बाध्यताको अन्त हुनेछ ।

त्यस्तै आफ्ना बालबालिका अध्ययन गर्ने विद्यालयमा अरुकै हालिमुहाली भएर विद्यालयको गतिविधि अशैक्षिक किसिमले अघि बढ्ने स्थितिको पनि स्वभाविकरुपले अन्त हुनेछ भन्ने लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *