संक्रमितले पनि जन्माउन सक्छन् स्वस्थ बच्चा

  
  प्रकाशित मितिः मङ्लबार, माघ २०, २०७१       | 151 Views   ||

red ribbon– जनक नेपाली

दाङ, माघ २० । एचआइभी संक्रमित दम्पत्तिले पनि अब स्वस्थ सन्तान जन्माउन सक्ने भएका छन् । बच्चाका बाआमा सङ्क्रमित भए पनि उनीहरुबाट जन्मिने सन्तानमा एचआइभी संक्रमण नहुने गरि सन्तान जन्माउन सकिने तरिकाको बिकाससँगै संक्रमित आमाले स्वस्थ बच्चा जन्माउन सक्नेछन् ।

संक्रमित जोडीले सन्तानको चाहना राखे पीएमसिटी पद्धतिद्वारा बच्चा जन्माउन सकिने एचआइभी/एड्सको क्षेत्रमा काम गर्दै आएको दाङ प्लसले जानकारी दिएको छ ।

घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पताल, प्राथमिक स्वास्थ केन्द्र लमही, स्युजा र श्रीगाउँबाट एकै साथ सेवा प्रवाह गरेको दाङ प्लसका कार्यक्रम संयोजक प्रकाश नेपालीले जानकारी दिनुभयो । यो सेवा विस्तार भएपछि अहिले धरै संक्रमित आमाहरुले आफ्नो सन्तानलाई जन्म दिएका छन् । नेपालीका अनुसार पिएमसिटी पद्धति भनेको गर्भवती आमाले औषधी सेवन गर्ने उपचारात्मक विधि हो ।

बच्चा जन्माउनुभन्दा एक हप्ता अघिदेखि संक्रमति आमाले औषधी सेवन गर्ने र बच्चा जन्मेको ७२ घण्टाभित्र उसलाई औषधि सेवन गराए नवजात शिशुमा एचआइभी संक्रमण नदेखिने नेपालीले बताउनुभयो ।

यो सेवा सुरु भएपछि जिल्लामा १९ जना बालक, ९ जना बालिका गरी २८ जना बालबालिकाको जन्म भइसकेको नेपालीले जानकारी दिनुभयो । यसरी संक्रमित आमाबाट जन्मिएका बालबालिकाहरु दाङ प्लसको निगरानीमा रहेको र अहिलेसम्म उनीहरुमा कुनै खालको संक्रमण नदेखिएको नेपालीले बताउनुभयो ।

जिल्लामा बार्षिक चार/पाँच जना संक्रमित दम्पत्तिहरुले यस्तो सेवा लिइरहेको छन् । यस विधिद्वारा जन्मिएका धेरैजसो बालबालिकाहरु विद्यालयमा पढ्नसमेत जान थालेको नेपालीले बताउनुभयो । संक्रमित आमाबाट जन्मिएका धेरै छोराछोरी पढ्नबाट बञ्चित भएको बताउँदै नेपालीले बिस्तारै सबै संक्रमित दम्पत्तिका छोराछोरीलाई संक्रमणबाट बचाउन सकिने दावी गर्नुभयो ।

अधिकांश भारत कमाउन जाने मानिसमा यो रोग बढी मात्रा देखा परेको छ । नेपालीका अनुसार जिल्लाका रामपुर, लक्ष्मीपुर, नारायणपुर, हलवार, लमही, तुलसीपुर र घोराही नगरपालिकामा एचआइभी संक्रमणका बिरामी बढी मात्रामा रहेका छन् । अहिले दाङमा १ सय ४९ जना पुरुष, १ सय १३ जना महिला र १ जना तेश्रो लिङ्गी गरी कुल २ सय ६३ जना एचआइभी संक्रमितहरु रहेका छन् । तीमध्ये ४६ जना पुरुष र १५ जना महिलाको मृत्यु भइसकेको नेपालीले जानकारी दिनुभयो । बाँकी सबैले एआरभी सेवन गरिरहेका छन् ।

दाङका धेरै विपन्न समुदायका परिवार भारत कमाउन जाने र भारतबाटै यो रोग लिएर आउने गरेको पाइएको छ । उमेरको हिसाबले २० देखि ४५ बर्षसम्मका पुरुषमा यो रोग बढी मात्रामा देखापरेको छ । यसमा पनि दलित समुदायका युवायुवती एचआइभी एड्सको चपेटामा बढी परेका छन् । आर्थिक अभावका कारण धेरैजसो संक्रमित परिवार र उनका छोराछोरीलाई खान, बस्न, कपडालत्ता र पढ्न लेख्नेको समस्या छ । आर्थिक अवस्था कमजोर हुँदा छोराछोरी पाल्न र उनीहरुलाई शिक्षा दिक्षा प्रदान गर्ने नसकेको एक संक्रमित महिलाले बताउनुभयो ।

समाजमा एचआइभी संक्रमित भनेर हेप्ने गरेको बताउँदै उहाँले काम खोज्दासमेत कतै केही काम नपाउने गरेको गुनासो गर्नुभयो । श्रीमान् बिरामीले थला परेको बताउँदै उहाँले परिवारको दैनिक गुजारा चलाउनसमेत धौ परेको उहाँको भनाई छ । गाउँ, छरछिमेक र आफन्त सबैले एचआइभी संक्रमित भनेर हेपेको भन्दै उहाँले भन्नुभयो, ‘काम खोज्दा कतै केही पाइदैन । घरको आर्थिक अवस्था कमजोर छ, कुनै व्यापार व्यवसाय पनि छैन ।’

उसो त एचआइभी संक्रमितको क्षेत्रमा काम गर्दै आएको दाङ प्लसले संक्रमितहरुका लागि एआरभी औषधी दिनेबाहेक अन्य कुनै आयआर्जनमूलक कार्यक्रम दिन सकेको छैन । गत बर्ष १९ जना संक्रमितलाई बाख्रापालन, बंगुरपालन र फलफूल पसलका लागि आर्थिक सहयोग गरे पनि अहिले यो कार्यक्रमले निरन्तरता पाउन नसकेको कार्यक्रम संयोजक प्रकाश नेपाली बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *