कोरियाली सहयोगमा स्यालापाखामा विद्यालय भवन निर्माण

  
  प्रकाशित मितिः बुधबार, माघ २८, २०७१       | 140 Views   ||

मेगराज खड्का
रुकुम, माघ २८ । जिल्लाको स्यालापाखा–७ स्थित जनचेतना प्राथमिक विद्यालय चिसापानीमा निर्माण गरिएका नवनिर्मित भवनहरुको उद्घाटन तथा हस्तान्तरण गरिएको छ । सेभ द चिल्ड्रेन, एसोसियशन अफ प्राइभेट स्कुल प्रिन्सिपल कोरियाको आर्थिक सहयोग र बाल सरोकार केन्द्रमार्फत् जिल्ला शिक्षा कार्यालय रुकुमको समन्वय तथा समुदायको सहभागितामा निर्मित ६ कोठे भवन उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।

बाल सरोकार केन्द्र रुकुमका अध्यक्ष पविनकुमार खड्काले जिल्ला शिक्षा अधिकारी मित्रमणि खनाललाई हस्तान्तरण पत्र बुझाएर भवन हस्तान्तरण गर्नुभयो । स्थानीय बासिन्दा र विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रममा बोल्ने र प्रतिक्रिया दिने अधिकांश स्थानीयहरुले चिसापानी विद्यालयले नयाँ जन्म पाएको भन्दै सहयोग गर्ने कोरियन टोलीलाई धन्यवादसमेत दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र खत्रीले नयाँ विद्यालय भवन निर्माण गरेर कोरियाली समूह र सहकार्य गरेर सेभ द चिल्ड्रेन तथा बाल सरोकार केन्द्र रुकुमले ठूलो सहयोग गरेको उल्लेख गर्दै अब सरकारले विद्यालयको स्तरीकरणका लागि सहयोग गर्न अनुरोध गर्नुभयो । ‘विद्यालयका भौतिक संरचना त निकै राम्रो बने तर यहाँ एउटा पनि सरकारी दरबन्दी छैन, जति छन् ती सबै निजी स्रोतबाट हो’ अध्यक्ष खत्रीले भन्नुभयो, ‘मन्दिर त राम्रो नै बन्यो तर मन्दिरमा पूजारी नै छैनन् ।’

विद्यालयको समस्या सुनिसकेपछि जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले चिसापानी विद्यालयलाई नयाँ दरबन्दी व्यवस्था गर्नु आफ्नो पहिलो प्राथमिकता रहने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै, भवन उद्घाटनमै पुग्नुभएका स्थानीय विकास अधिकारी भरतकुमार शर्माले विद्यालयमा बाल पुस्तकालय स्थापनाका लागि जिल्ला विकास समितिको तर्फबाट ३५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो ।

६४ लाख ३३ हजार रुपैयाँको लागतमा निर्माण भएको उक्त भौतिक संरचना निर्माण भएपछि बालमैत्री विद्यालयको न्यूनतम मापदण्ड सबै पूरा गर्न सफल भएको सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत प्रमोद न्यौपानेले बताउनुभयो । नयाँ भौतिक संरचना निर्माणबाट विद्यार्थीहरुको लागि खानेपानी, शौचालय, खेलमैदान र बालमैत्री अनुसार विद्यार्थीहरुको बसाइसमेत व्यवस्थापन गरिएको छ भने सरकारी शिक्षक दरबन्दीको पर्खाइमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *