प्रविधिले ल्यायो शिक्षणमा सुधार

  
  प्रकाशित मितिः बुधबार, माघ २८, २०७१       | 127 Views   ||

help laptopदाङ, माघ २८ । सहिद स्मृति आवासीय माध्यमिक विद्यालय मानपुर दाङले प्रोजेक्टरबाट पढाउन थालेको छ । ल्पापटप अभावका कारण प्रोजेक्टर किनेर पनि लामो समय यसबाट पढाउन नसकेको विद्यालयले एक संस्थामार्फत् ल्यापटप पाएपछि प्रोजेक्टरबाट पढाउन थालेको हो ।

‘विद्यालयमा प्रोजेक्टर थियो, सीडी थिए तर ल्यापटप अभावका कारण प्रोजेक्टरबाट पढाउन सकेका थिएनौं, विद्यालयका प्रिन्सिपल झपेन्द्र पौडेलले भन्नुभयो, ‘ल्यापटप पाएपछि विद्यालयमा शिक्षण गर्न सजिलो भएको छ ।’ आधुनिक प्रविधिबाट शिक्षण क्रियाकलाप गराउँदा शिक्षकलाई पढाउन र विद्यार्थीलाई बुझ्न सजिलो भएको उहाँको भनाई छ ।

सहिद स्मृति मात्रै हैन दाङका ७ वटा विद्यालयले ल्यापटप पाएपछि शिक्षण क्रियाकलाप र प्रशासनिक काम गर्न सजिलो भएको बताएका छन् । ग्रामीण वातावरण शिक्षा तथा संरक्षण केन्द्र नेपाल दाङले रोल्पा, दाङ र सिन्धुपाल्चोकका ग्रामीण भेगका द्वन्द्वपीडित विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा शिक्षण क्रियाकलाप र प्रशासनिक कार्य सुधार्न ल्यापटप वितरण गरेको थियो । ‘अहिले पनि धेरै विद्यालयहरुमा कम्प्युटर अभावका कारण सूचना प्रविधिको ज्ञान छैन, सैद्धान्तिक कक्षा सञ्चालन भए पनि व्यवहारिक रुपमा कम्प्युटर पढ्न पाएका छैनन्,’ संस्थाका अध्यक्ष निर्मल महराले भन्नुभयो, ‘विद्युत नभएका बेला पनि विद्यालयमा कम्प्युटर अध्ययन अध्यापनमा सजिलो होस र प्रशासनिक काममा पनि आधुनिक प्रविधिबाट सञ्चालन होस् भनेर ल्यापटप वितरण गरिएको हो ।’

उता रोल्पाका ग्रामीण भेगका विद्यालयहरुमा आधुनिक शिक्षा प्रदान गर्नका लागि वितरण गरिएको ल्यापटपले शैक्षिक तथा प्रशासनिक काममा सुधार ल्याएको विद्यालयहरुले बताएका छन् । ‘हामीले ल्यापटप पाएपछि कम्प्युटर पढाइ थाल्नुका साथै प्रशासनिक कामहरु कम्प्युटर प्रणालीमा राख्न थालेका छौं, वीर बलभद्र उमावि थवाङका प्राचार्य रामानेश यादवले भन्नुभयो, ‘यसले विद्यालयको प्रशासनिक र शैक्षिक क्रियाकलाप सुधार्न सहयोग गरेको छ ।’

ग्रामीण वातावरण शिक्षा तथा संरक्षण केन्द्र दाङको आयोजना र शान्ति र विकासका लागि चिनियाँ फाउन्डेसनको आर्थिक सहयोगमा रोल्पाका विभिन्न गाविसका १५ वटा विद्यालयमा ल्यापटप वितरण गरिएको हो । संस्थाले दुर्गम तथा द्वन्द्वका कारण बढी प्रभावित रोल्पाका थवाङ, घोडागाउँ, मसिना, खुङ्ग्री, मिझिङ, गुम्चाल, बडाचौर, जैमकसला, खुमेल, राङ्सी, जङ्कोट र धबाङका विद्यालयलाई ल्यापटप भलिबल, ज्यामिति बक्स र नक्साहरु वितरण गरेको संस्थाका कोषाध्यक्ष गणेश ओलीले जानकारी दिनुभयो । विद्यालयमा आवश्यकताको रुपमा रहेको कम्प्युटर शिक्षाले पूर्णत पाएको गुम्चाल गाविसको जनज्योति माविका प्राचार्य मित्रलाल शर्माले बताउनुभयो ।

लामो समय द्वन्द्वबाट प्रभावित राप्तीका दाङ, रोल्पा र राजधानीको नजिकै रहेको सिन्धुपाल्चोकका विद्यालय, युवा तथा विद्यार्थीहरुमा शैक्षिक, प्रशासनिक सुधार तथा खेलको विकासमार्फत् शान्ति र सचेतना जगाउन शैक्षिक सामग्री तथा ल्यापटप वितरण कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *