सामूहिक तरकारी खेतीमा थारु महिलाहरु

  
  प्रकाशित मितिः बुधबार, माघ २८, २०७१       | 223 Views   ||

tarkariनारायणपुर, माघ २८ । त्रिपुर नगरपालिका वडा नं. १ नारायणपुर गाउँका थारु महिलाहरु यतिबेला सामूहिक तरकारी खेतीमा जुटेका छन् । बेमौसमी तरकारीको सिजन शुरु हुन थालेसँगै उनीहरु समूहमा आबद्ध भएर व्यावसायिक तरकारी खेती शुरु गर्न थालेका हुन् ।

टनेल निर्माण गरी तरकारीका लागि बेर्ना उत्पादनको तयारी थालिरहेका नारायणपुर गाउँका थारु महिलाहरु २०/२० जनाको दुई समूहमा बाँडिएर तरकारीका लागि जग्गा छनोट कार्यको थालनी गरिरहेका छन् । उनीहरुलाई सामूहिक तरकारी खेतीका लागि सहयोग गरिरहेको छ, युएसएआइडी किसान परियोजनाले ।

कृषि पेशामा आश्रित दलित, जनजाति वर्गलाई लक्षित गरेर विगत तीन बर्षदेखि युएसएआइडीले किसानहरुलाई आधुनिक तरिकाबाट कृषि खेती सम्बन्धी तालिम र प्रशिक्षण दिदै आइरहेको छ । अमेरिकी सहयोगमा सञ्चालित उक्त संस्थाले किसानहरुलाई दक्ष कृषि व्यावसायिक बनाउने उद्देश्य राखी तालिम, प्रशिक्षणका साथै बीउ, सिचाई सामग्री र किटनाशक औषधीसमेत उपलब्ध गराउँदै आएको संस्थाका कृषि प्राविधिक रमेशकुमार चौधरीले बताउनुभयो ।

संस्थाको किसान परियोजना कार्यक्रम जिल्लाका २६ वटा गाविसहरुमा सञ्चालन भइरहेको चौधरीले बताउनुभयो । संस्थामा रहेका एक कृषि प्राविधिकले ५ सय २० जना कृषकहरुलाई प्रशिक्षण, तालिम दिदै आइरहेको उहाँको भनाई छ । बेमौसमी तरकारीका लागि नारायणपुर गाउँका थारु महिलालाई दुई समूहमा राखी तालिम दिइरहेका रमेश चौधरीले आफूले तालिम दिएका किसानहरु अहिले व्यावसायिक बनेको बताउनुभयो । सामूहिक रुपबाट गरिने कृषि खेतीबाट सामूहिक भावनाको पनि विकास हुने उहाँको दावी छ ।

गाउँमा सामूहिक रुपले तरकारी खेती शुरु गर्न थालेका महिलाले सामूहिक व्यवसायबाट भएको आम्दानीले आफ्ना समस्याहरु हल गर्ने सोच राखेका छन् । सामूहिक तरकारी खेतीबाट पहिलो बर्षमा भएको आम्दानी त्यही तरकारी खेतीको व्यवस्थित विस्तारमा लगाउने योजना रहेको पहिलो समूहकी अध्यक्ष अनु चौधरी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘हामीलाई किसान परियोजना संस्थाले दिएको तालिम अनुसार २० जना महिलाले सामूहिक रुपबाट काम गरेर तरकारी खेतीको शुरुवात गर्न थालेका छौं र तरकारीबाट हुने सामूहिक आम्दानीलाई पनि कसरी वितरण गर्ने भन्ने कुरा सामूहिकरुपले सल्लाह गरेर अघि बढ्नेछौं ।’

बेमौसमी तरकारी खेतीका लागि करेला, लौका, काँक्रा, बोडी आदिका बेर्ना राख्न थालिरहेका महिलाले आफ्नो साँझ, बिहानको समय सामूहिक खेतीका लागि छुट्याउँदै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *