स्कुलभन्दा गाई बाख्रा प्यारो !

  
  प्रकाशित मितिः बुधबार, माघ २८, २०७१       | 162 Views   ||

जनक नेपाली

दाङ, माघ २८ । बिहानै कम्मरमा खुर्पेटो, हातमा हँसिया र नाम्लो भिरेका बालबालिकाहरुका अघि–अघि गाउँभरिका गाई बाख्रा थिए । लाग्थ्यो– उनीहरु स्कुल जाँदैछन् या गाउँ छाडेर अन्त कतै । बर्षको चार/पाँच महिनामात्र विद्यालय जाने त्रिपुर– ८ चाँचिलाका बालबालिकाहरुको दैनिकी आजभोलि यसरी नै बित्ने गरेको छ ।

आर्थिक अभावका कारण पढ्ने लेख्ने उमेरका ती बालबालिकाहरु स्कुल होइन, गाई बाख्राकै हेरचाहमा बनपाखातिर घुमिरहेका हुन्छन् ।

स्कुल जाँदा किताब कापी त परको कुरा हो खुट्टामा चप्पल समेत हुँदैनन् । एक छाक गतिलो खान र एकसरो लगाउन चाडपर्व नै पर्खनुपर्ने उनीहरुको बाध्यता छ । रोजगारीका लागि बाबुआमा कामकाजमा हिडेपछि घर र गाइवस्तु हेरचाहको सम्पूर्ण जिम्मा बालबालिकाहरु आफैले लिने गर्छन् ।

आर्थिक रुपले विपन्न बालबालिकाका अभिभावक रोजगारीका लागि इँटाभट्टा बाहेक देशका विभिन्न स्थानमा जाने र विदेशीने क्रम बढेपछि आफ्नो पढाइभन्दा बालबालिकाहरु घरधन्दामै व्यस्त हुने गर्दछन् । घरको चुलोचौकोदेखि गाइवस्तुको गोठालो, भाइबहिनीको हेरचाह गर्दै आएको बाल कल्याण प्रा.वि. खुमकोटमा अध्ययन गर्दै आएकी ९ बर्षीया निर्मला विक बताउँछिन् ।

उनी भन्छिन्, ‘स्कुल गए कसले भात पकाइदिन्छ, बाआमा डोको , भकारी लगेर बेच्न गया छन् त्यसैले खानकै लागि पनि स्कुल जान्न ।’ बिहान उठेदेखि राती अबेरसम्म घरधन्दामै व्यस्त हुने उनी बताउँछिन् । ‘बिहान झिसमिसेमै दाउरा घाँस काट्न जान्छु, घाँस काटिन भने बाआमाले गाली गर्छन्,’ उनी भन्छिन्, ‘घरको कामकाजलाई बाआमाले वास्ता नगर्दा विद्यालय जानै पाइदैन ।’

यस भेगका स्थानीय बासिन्दाको आर्थिक अवस्था कमजोर हुँदा धेरैले खेतीपाती गर्ने भएकाले निर्मला र उनीजस्तै उनका साथीहरु बर्षको दुईचार महिनाबाहेक अरु सबै दिन घरकै कामकाजमा व्यस्त हुने गरेकी छिन् । सबैभन्दा बढी अन्नबाली स्याहार्ने समयमा पढाइ छाड्नुपर्ने बाध्यता रहेको उनको दुखेसो छ ।

आमाबाले बर्षभरि डोको, नाम्लो, भकारी बुन्ने त्यही लगेर गाउँ–गाउँमा छोड्ने र बैसाख जेठमा अन्न उठाउन जाँदा पढाई नै छाड्नुपर्ने बाध्यता रहेको उनले बताइन् । खेतीयोग्य जमिन नहुँदा परिवारको पालन पोषण गर्न समेत समस्या भएको स्थानीय गाउँलेहरु बताउँछन् ।

मकैबाली मात्र उब्जनी हुने बताउँदै स्थानीय गाउँलेहरुले त्यो पनि बाँदर, घोरल, रातेजस्ता वन्यजन्तुको हेरालु छोराछोरीलाई बसाल्ने गरेको कमानसिंह सुनुवारले बताए । गाउँनजिकै स्कुल भए पनि छोराछोरी पढाउन नसक्दा उनीहरुको भविष्य अन्धकार हुन्छ कि भन्ने चिन्ता रहेको उनले बताए ।

पूरै दलित बस्ती रहेको चाँचिलामा अहिलेसम्म कुनै पनि निकायले आफ्नो समस्या नबुझेको स्थानीयबासी बताउँछन् । सडक, बिजुली, पानी दिन्छौं भन्दै चुनावमा भोट माग्न आएका दलका नेताहरु चुनाव जितेपछि एकपल्ट पनि नफर्केको उनीहरुको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *