घोराही खानेपानी संस्थाको १५ औं साधारणसभा

  
  प्रकाशित मितिः बुधबार, माघ २८, २०७१       | 118 Views   ||

दाङ, माघ २८ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १५ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देबीबहादुर डि.सी.को अध्यक्षता एवम् खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख जगन्नाथ पूर्वेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले केही बर्षपछि जिल्लामा खानेपानीको हाहाकार हुने भन्दै पानीको मुहान संरक्षणमा सबै लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।

साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव गोविन्दप्रसाद शर्माले खानेपानीको समस्या कम गर्न घोराही नगरपालिकाको आर्थिक सहयोगमा तथा संस्थाको पहलमा कटुवा खोलामा डिपबोरिङ गर्ने काम सम्पन्न भइसकेको बताउनुभयो । उहाँले नगरबासीलाई आगामी दिनमा खानेपानीको अभाव हुन नदिन घोराही बजारको उत्तरतर्फको जंगल संरक्षणका वृक्षारोपण, कटुवा खोला र सेवार खोलाको मुहान वरपर ढुङ्गा वालुवा उत्खननमा रोक, पहाडको संरक्षण, ड्याम तथा पोखरी निर्माण कार्यलाई अगाडि बढाइने बताउनुभयो ।

उहाँले प्रतिवेदनमा हालसम्म ३२ वटा सामुदायिक र ५ हजार २ दुई ८४ वटा निजी धारा जडान गरिएको उल्लेख गर्दै यस वर्ष थप २ सय ५० वटा निजी धारा जोड्ने लक्ष्य लिएको उल्लेख गर्नुभएको छ । पानी चुहावट नियन्त्रण गर्न थप कार्यक्रम सञ्चालन गर्ने, सरसफाई तथा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, गुलरियामा ३ सय घनमिटरको ओभरहेड ट्यांकी निर्माण गर्ने, कटुवा खोलाको नयाँ बोरिङबाट पुरानो टान्समिसन पाइप लाइनमा कनेक्सन गरिने, पानी ट्यांकर खरिद गरी उपभोक्तालाई अपुग हुने स्थानमा पानी निःशुल्क वितरण गर्नेलगायतका योजना प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।

संस्थाका उपाध्यक्ष बलदेव योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कांग्रेस क्षेत्र नं. ३ का सभापति भुपबहादुर डाँगी, एमालेका भरत अर्याल, एमाओवादी दाङका उपाध्यक्ष निर्मल आचार्य, राजमोका सचिव गणेश अचार्य, घोराही नगरपालिकाका इञ्जिनियर रामधन श्रेष्ठ, भरतपुर खानेपानीका अध्यक्ष शंकर गौतम, तुलसीपुर खानेपानीका अध्यक्ष खेमराज वली, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतम, बेलझुण्डी खानेपानीका अध्यक्ष प्रदीप गौतम, संस्थाका सल्लाहकार माधवप्रसाद शर्मालगायतले बोल्नुभएको थियो ।

सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष स्व. यज्ञबहादुर बुढाथोकीलाई मरणोपरान्त सम्मान गरिएको थियो भने संस्था सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संस्थाका सहायक पलम्बर गिरिराज अधिकारी र धारा निरीक्षक बेदप्रसाद श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको थियो । त्यस्तै, अधिकतम महसुल बुझाउने ग्राहक घोराही–११ निवासी लक्षिराम घर्ती र न्युनतम महसुल बुझाउने घोराही–११ कै गीता थापालाई पनि प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाको आर्थिक प्रगति प्रतिवेदन कोषाध्यक्ष पर्शुनारायण श्रेष्ठ (दिनेश)ले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा पत्रकारहरुलाई मायाको चिनोस्वरुप कलम र डायरी प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव गोविन्दप्रसाद शर्माले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *