सल्यान । अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय संयोजक रमेश मल्लले शैक्षिक व्यापारीहरुले नेपालको शिक्षा प्रणाली कब्जा गरिसकेको बताउनुभएको छ । उहाँले संविधानसभाभित्र शैक्षिक व्यापारीहरु प्रवेश गरेर शिक्षा प्रणालीमाथि नै कब्जा गरिसकेको बताउनुभयो ।
क्रान्तिकारीले मंगलबार सल्यान खलंगामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संयोजक मल्लले दलाल र नोकरशाह वर्गले नेपालको राज्यसत्तामा हस्तक्षेप गरी निजी क्षेत्रको ऐन ल्याउन प्रयास गरिरहेको बताउनुभयो ।
‘संविधानसभाबाटै नेपालमा दुई शिक्षा नीति बनाएर सार्वजनिक शिक्षालाई कोल्याप्स गर्न शैक्षिक माफियाहरु लागिपरेका छन्’, उहाँले भन्नुभयो, ‘संविधानसभाभित्र गएका शैक्षिक व्यापारीहरु जनताप्रति इमान्दार भए कि त सभासद त्याग्नुपर्दछ कि त आफ्ना कलेज तथा विद्यालयहरु सार्वजनिक ट्रष्टमा दर्ता गर्नुपर्छ ।’
मुलुक संविधान निर्माणको विषयमा केन्द्रित भएको बेला जनजिविकाको कुरा संकटग्रस्त बनेको बताउँदै उहाँले पेट्रोलियम पदार्थमा मूल्य नघटाएर राज्यले अर्बौं रुपैयाँका चलखेल गरेको दावी गर्नुभयो ।
क्रान्तिकारीको १६ औं जिल्ला सम्मेलन शुरु
यसैबीच एकीकृत नेकपा माओवादीनिकट अनेरास्ववियू क्रान्तिकारी सल्यानको १६औं जिल्ला सम्मेलन मंगलबार श्रीनगरमा शुरु भएको छ । सम्मेलनको उद्घाटन संगठनका संयोजक रमेश मल्लले गर्नुभएको थियो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एव्म सभासद् टेकबहादुर बस्नेत, अनेरास्ववियू क्रान्तिकारीका मगराँत राज्य संयोजक तिलकराज भण्डारी, एमाओवादी राष्ट्रिय परिषद सदस्य कृतिबहादुर पुन, एमाओवादी सल्यानका अध्यक्ष कर्णबहादुर बुढाथोकी, अखिल क्रान्तिकारीका जिल्ला ईञ्चार्ज दुर्गा बुढाथोकी, वाइसिएल सल्यानका अध्यक्ष मानबहादुर मल्ल लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उपाध्यक्ष रिमवहादुर विष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता तिलक विक र सञ्चालन कृष्ण खड्काले गनुभएको थियो । बुधबार सकिने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने क्रान्तिकारी सल्यानले जनाएको छ ।